प्राथमिकताअनुसार नेपाललाई सहयोग : मोदी

मंगलबार, २४ भदौ २०७६, १४ : ३१
प्राथमिकताअनुसार नेपाललाई सहयोग : मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त परियोजना उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटमार्फत् उद्घाटन गर्दै भिडियो कन्फरेन्समार्फत् उनले यस्तो अनुभव सुनाएका हुन् । 

उक्त परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत् जोडिएर संयुक्त उद्घाटन गरेका थिए । मोदीले नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा परियोजना चाँडो उद्घाटन गर्ने सहमति गरेको स्मरण गर्दै भने, “मलाई खुसी लागेको छ कि हाम्रो संयुक्त प्रयासले दुईपक्षीय परियोजनाले प्रगति गरिरहेका छन् र आज हामी मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटन कार्यक्रममा भाग लिइरहेका छौं ।’

उनले बितेका केही वर्षमा दुई देशबीच नियमित सम्पर्क भइरहेको जनाएका छन् । ‘बितेका डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र म चार पटक भेटिसकेका छौं,’ ’उनले भने, ‘विकासको लागि हाम्रो साझेदारी सक्रिय बनाउनको लागि नयाँ क्षेत्रमा सहयोग बढाउन हामीले नयाँ अवसरको लाभ उठाएका छौं । हामी संयुक्त प्रयासको उद्देश्य हाम्रा जनतालाई लाभ मिलोस् भन्ने चाहन्छौं ।’

उनले बितेका ५ वर्षमा दुई देशले महत्वपूर्ण दुईपक्षीय परियोजनालाई पूरा गरेको र कैयौं अन्य प्रयासको परिणाम चाँडै प्राप्त हुनेसमेत जनाएका छन् । संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आइसीपी वीरगन्जको उद्घाटन गरेको समेत मोदीले स्मरण गरेका छन् ।

‘नेपालका प्राथमिकताअनुसार उसको विकासमा सहयोगको लागि भारतको प्रतिबद्धता म फेरि दोहोर्याउन चाहन्छु । यहाँहरुलाई धेरै धेरै धन्यवाद’मोदीले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस