वर्षाले इँटा उद्योग प्रभावित : ६ करोडभन्दा बढीको क्षति

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०८२, १० : ३४
वर्षाले इँटा उद्योग प्रभावित : ६ करोडभन्दा बढीको क्षति

जलेश्वर (महोत्तरी) । वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरूमा ६ करोडभन्दा बढीको क्षति भएको छ । इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार, गत शुक्रबार, शनिबार र आइतबार परेको वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्यबराबराको इँटा पूर्ण रूपमा क्षति भएको छ ।

इँटा उत्पादनका लागि माघ, फागुन र चैत महिना सबैभन्दा अनुकूल मानिन्छ । यस समयमा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरूले १५ देखि २०/२२ लाखको हाराहारीमा लागत लगाएर  परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडौँको क्षति पुर्‍याएको उनले बताए ।

औरही नगरपालिका–२ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक संकट परेको गुनासो गरे ।

करोडौँ लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेकामा आकस्मिक रूपमा आएको भीषण वर्षाले बगाएपछि उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही–७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताए ।

वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम आठ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्मको क्षति पुगेको जनाइएको छ । अध्यक्ष चौधरीले भने, “हामी क्षतिको लगत संकलन गरेर सम्बन्धित निकायमा क्षतिपूर्ति तथा अनुदानको व्यवस्था मिलाइदिन गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस