काठमाडौं । मैले आजसम्म धेरै कलाकारसँग काम गरिसकेँ। उनीहरूलाई नजिकबाट चिन्ने मौका पाएको छु। कुनै पनि मानिसलाई चिन्न, उसको आनीबानी के–कस्तो छ, त्यो बुझ्नुपर्छ। कामको हिसाबले पहिला राजेश हमाल र करिश्मा मानन्धर मन पर्थै। अहिले नयाँ पुस्ताका कलाकारसँग काम गरिन्छ। उनीहरूमध्ये साम्राज्ञी राज्यलक्ष्मी शाह मन पर्छिन्।
उनको काम गराइ ठीक लाग्छ। हुन त उनीसँग एउटा फिल्ममा मात्र काम गरिएको छ, ‘रातो टीका निधारमा’। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै एक पटक काम गर्दा नै उनीबारे धेरै कुरा बुझिसकेँ। साम्राज्ञी दत्तचित्त भएर काम गर्छिन्। उनको यही बानी मलाई साह्रै मन प¥यो।
उनी अनुशासित छिन्, व्यावसायिक छिन्, कामप्रति लगाव राख्छिन्। सुटिङ बिहान ४ बजे छ भने पनि उनी समयमै आइपुग्छिन्। खानेकुरा जेजस्तो छ, चुपचाप खान्छिन्। यसो भएन, उसो भएन भन्दिनन्। उनको अभिनय पनि मलाई मन पर्छ। फिल्मको कथाअनुसार उनी आफूलाई सजिलै ढाल्न सक्छिन्।
फिल्म ‘रातो टीका निधारमा’ मा उनी मुख्य भूमिकामा थिइन्। फिल्ममा उनको अभिनय प्रशंसायोग्य थियो।
हामीबीच निर्देशक र कलाकारको मात्र सम्बन्ध छैन। हामी साथीजस्ता छौँ। उनी मन लागेको कुरा स्पष्ट भन्छिन्। मनमा लुकाउँदिनन्। यो कुरा ठीक छ, यो बेठीक हो, प्रस्ट भन्छिन्। उनको यो बानी पनि मलाई मन पर्छ। राम्रो लागेको कुराको तारिफ गर्छिन्, मन परेन भने कुरा घुमाउने, लुकाउने गर्दिनन्। स्पष्ट भन्छिन्।
साम्राज्ञीको बोलीवचन पनि मीठो छ। कोसँग, कसरी बोल्नुपर्छ, कसलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने उनले जानेकी छिन्। एउटा कलाकारमा हुनुपर्ने सबै गुण उनमा छन्।
राम्रासँगै साम्राज्ञीका केही नराम्रा बानी पनि छन्। जसलाई उनले सुधार्नुपर्छ जस्तो लाग्छ। उनी एकदमै मुडी छिन्। कहिलेकाहीँ स–सानो कुरामा चाँडै रिसाउँछिन्। उनको यो बानी ठीक लाग्दैन। तर, उनको सकारात्मक पक्ष के हो भने उनी एकैछिनका लागि मात्र रिसाउँछिन्। तत्काल शान्त भइहाल्छिन्। बुझाउँदा कुरा बुझ्छिन्। मलाई उनी सरल स्वभावकी लाग्छिन्। सम्पूर्ण बाट
-अशोक शर्मा, निर्देशक
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ भदौ २०७६, २१ : ०९
लेखकबाट थप