‘ड्रिप्रेसन भनेको पागलपन होइन, लुकाएर नबसौँ’

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, ११ : २९
‘ड्रिप्रेसन भनेको पागलपन होइन, लुकाएर नबसौँ’

- डा रिजु निरौला 
मानिसको जीवन एउटा विचित्रको यात्राजस्तो छ । कहिले उकाली कहिले ओराली, कहिले खुसी, कहिले निराश । भनिन्छ, नि जीवन घामछायाँ । जीवनमा सोचेजस्तो र चाहेजस्तो सधैँ सबैलाई कहाँ पुग्छ र ! 

पुगेन भनेर चिन्ता लिइरहने, जीवनदेखि नै बेकार निरस लाग्ने, निद्रा नपर्ने, आत्मविश्वासको कमी हुने, मनमा धेरै कुरा खेल्ने, बोझिल बन्ने, अरूको सफलतामा प्रोत्साहन, हौसला र बधाई दिन नसकेर रिस, इष्र्या, प्रतिशोध र तिरस्कारको दृष्टिले हेर्न मन लाग्ने अवस्था आयो भने आफैँले आफैँलाई सोच्नु म डिप्रेसन अर्थात् मानसिक समस्यामा पर्दै गएको छु । 

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ ।

तनावबाट नै डिप्रेसन 
हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरीकाले चलाइरहेको हुन्छ । तर कहिले काँही केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामीले डिप्रेशन भन्छौँ ।
यदी मन दुःखी भयो उदास भयो भने केही समय फेरि त्यो मन फर्किएर सामान्य अवस्थामा जानुपर्ने तर सामान्य अवस्थामा जाँदैन । दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो मान्नुहोस्, डिप्रेसनको शिकार हुनुभयो । यस्ता अवस्थामा अनिवार्य मानसिक रोग विशेषज्ञमा तपाइँ पुग्नुपर्छ । 

डिप्रेशन हुनुको कारण 
डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ ।

- डा रिजु निरौला डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन । तर यसका विभिन्न कारणहरु हुन्छ ।
पहिलो कारण वंशाणुगत हो । यदी परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिकोपुस्तालाई कुनै बेला डिप्रेशन भएको थियो भने डिप्रेशन हुनसक्छ । तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेशन हुन्छ । केही रसायनीक परिवर्तनहरुको असन्तुलनको कारणले डिप्रेशन हुन्छ । कुनै पनि घटेका घट्ना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेशन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रुपले झेल्न सकिएन भने डिप्रेशन उत्पन्न हुन्छ ।

डिप्रेशनका लक्षणहरू      
उदासीनता, इच्छाशक्तीको अभाव र शारीरिक कमजोरी डिप्रसनका मुख्य लक्षण हुन् । अन्य लक्ष्यणहरुमा ध्यानको कमी, आत्मबलको कमजोरी हीनताबोध पश्चाताप हुने, बिना कारणले सानो–सानो कुरामा पनि पश्चताप हुने हुन्छ । निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने हुन्छ । 

उपचार
समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ । हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो । केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ । औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श (साइको थेरापी) पद्धति ।

डिप्रेशन हुन्छ भन्ने धेरैलाई थाहा छैन । धेरैलाई लाग्न सक्छ यस्तो पनि रोग हुन्छ । यस्तो खालको चेतना र जागरुपता छैन । सबैभन्दा पहिला त डिप्रेशनलाई चिन्न सक्नुपर्छ । आफैँलाई भएको छ अथवा अरुलाई यस्तो भएको देखेको खण्डमा पनि उपचारको लागि जानुपर्छ भनेर सल्लाह दिनुपर्छ । बिरामीको सुरक्षा पहिलो उपचार हो । यस्तो बेलामा बिरामीमा एकदमै नकारात्मक सोचाइ आउँछ । समयमा उपचार गर्ने हो भने यो रोग ठीक हुन्छ ।

कतिलाई छ डिप्रेशन ?
डिप्रेसन युवाको रोग हो भनिए पनि डिप्रेशनको लागि कुनै उमेर समुह भन्ने हँुदैन । टिनएजदेखि ७० वर्षसम्मलाई डिप्रेसन देखिएको छ । अझ युवा महिलाको रोग हो । 
यो रोगबाट सबैभन्दा बढी युवा र महिला पीडित छन् । विदेसिएका श्रीमानका श्रीमतीहरु यसबाट पीडित बनेका छन् । त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन् । वास्तवमा डिप्रेसन कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई हुन सक्छ । 

नेपालको अवस्था
डिप्रेसन र मादकपदार्थ दुव्र्यसनीबाट बढी मानसिक समस्या भएको छ । यस्ता मानसिक समस्या भएका ९० प्रतिशत रोगीहरु उपचारसम्म पुगेका छैनन् । नेपालमा मानसिक समस्या भएका ९५ प्रतिशतले आत्महत्या गरेका छन् । 
नेपालमा ५० देखि ६० लाख भन्दा बढी मानिसमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्यबाट पीडित छन् । यस अनुसार ४ जनामा करिब एक जना व्यक्ति यसको दलदलमा रहेको तथ्य प्रकाशनमा आइसकेको छ । मानसिक रोगीहरु ८० प्रतिशत डिप्रेशनको कारणले भइरहेका छन् ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मानसिक रोगी हुने गर्छन् । त्यसमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । मानसिक रोगको कारणले हरेक ४० सकेन्डमा एक जनाले आत्महत्या गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० पछि हरेक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने आंकलन गरेको छ । 
डिप्रेसन एउटा गम्भीर मानसिक स्वास्थ समस्या भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । 

सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ । समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ । सकेसम्म कुरा नखेलाउने, एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने, आहार विहार प्राकृतिक तथा सात्विक बनाउने, विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ ।
प्रस्तुति : सफल खबर डेस्क टिम
 

प्रतिक्रिया दिनुहोस