काठमाडौं । सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ।
नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचांै वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।
नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएको स्रोतले बतायो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।
तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए। पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको हो। कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष बनाउने सहमति जुटेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए। पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो।
स्कुल विभागमा पोखरेल
पार्टी स्कुल विभागको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेलले पाएका छन्। तत्कालीन एमाले महासचिवसमेत रहेका पोखरेलले एकतापछि पार्टीले लिएको ‘जनताको जनवाद’ को कार्यदिशामाथि आलोचना गर्दै आएका थिए।
तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवाद (जबज) लाई सिद्धान्त बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि पूर्वमाओवादी नेताहरूले पोखरेललाई ‘पार्टी एकताविरोधी’ को संज्ञा दिएका थिए।
पोखरेलको सट्टा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने पूर्वमाओवादी नेताहरूको अडान थियो। पोखरेल कि श्रेष्ठमध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा पार्टीपंक्ति नै दुई खेमामा विभाजित थियो।
स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले पनि दाबी गरेका थिए। तर अध्यक्षद्वयको सहमतिमा पोखरेलले जिम्मेवारी पाएका हुन्। प्रचार विभागको जिम्मेवारी पाएका श्रेष्ठले पार्टी एकताका लागि आफूले स्कुल विभागको दाबी छोडेको प्रतिक्रिया दिएका छन्। उनले स्कुल विभागमा दाबी गरेर पार्टी एकताको काम लम्ब्याउन नचाहेको बताए। पार्टीको कार्यदिशा र नीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्कुल विभागमा धेरै नेताहरूले दाबी गरेका थिए।
सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ। नेपाललाई रुचिअनुसार उक्त विभागको जिम्मेवारी दिइएको नेताहरू बताउँछन्। अर्का वरिष्ठ नेता झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन्। मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिइएको छ। आज को आन्नपूर्ण पोस्ट मा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३२ साउन २०७६, ०६ : २९
लेखकबाट थप