शमीपुर विद्यालयलाई एक लाख सहयोग

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, ०९ : १६
शमीपुर विद्यालयलाई एक लाख सहयोग

चितवन । पुर्वि चितवनको कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयको परिसरमा निर्माणाधिन अवस्थामा रहेको भवनको प्लाष्टर र रङरोगनका लागि फेस नेपालका संयोजक श्रीराम देवकोटाले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।  

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले शिक्षाको विकास नभएसम्म समाज रुपान्तरण हुन नसक्ने बताए ।

समाज रुपान्तरणका लागि भएपनि शिक्षामा लगानी आवश्यक भएको तर्क उनको छ । शिक्षामा गरिएको लगानी खेर नजाने भन्दै नगर प्रमुख श्रेष्ठले ढिलोचाडो भए पनि नतिजा अवश्य आउने बताए । 

कालिका नगरक्षेत्र भित्रका स्कुलहरुमा फेस नेपालको लगानीले आफुहरुपनि उत्साहित भएको बताउँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले पनि शमीपुर स्कुललाई ९८ लाख रुपैयाँ बराबरको दुई वटा भवनका लागि लगानी गरेको जानकारी दिए । प्रमुख श्रेष्ठले नगरक्षेत्रको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुका ग्रेड निर्धारण गर्ने योजनाका साथ अगाडी बढ्न लागेको जानकारी दिए । “ए देखि ग्रेड सुरु हुन्छ ” उनले भने “डि ग्रेड ल्याउने शिक्षकहरुलाई घर पठाउने योजना रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।  

कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटाले समाजले अपनत्व महशुस गर्ने गरी मात्रै आफुहरुले काम गर्ने गरेको जानकारी दिए । कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटा र पत्रकार सन्तकुमार चौधरीलाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस