संसद् स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : भीष्मराज आङ्देम्बे

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, ०६ : ४५
संसद् स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने प्रयासलाई अलोकतान्त्रिक कदम भएको बताएका छन्। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्र केवल प्रक्रिया मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गर्दै संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउनु लोकतान्त्रिक मान्यता विपरीत भएको टिप्पणी गरे ।

आङ्देम्बेले सरकारले दुई वटा अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष पठाएको विषयलाई गम्भीर र दुःखद भन्दै तत्काल आवश्यकताबिना अध्यादेश ल्याउनु उचित नभएको बताए। ‘संसद् नचलेको अवस्थामा मात्रै अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ, तर अहिले त्यस्तो आपतकालीन अवस्था छैन,’ उनले भने।

उनले प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दलसँग कुनै परामर्श नगरी हतारमा अध्यादेश ल्याउने प्रयासलाई ‘बलमिच्याइँको राजनीति’ र सार्वभौम संसद्को अपमानको रूपमा व्याख्या गरे। साथै, आफ्नै पार्टीको बहुमत हुँदाहुँदै संसद्को बाटो नअपनाउनु सरकारप्रति अविश्वास झल्काउने कदम भएको उनको आरोप छ।

नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी विधेयक र सहकारी ऐन संशोधनजस्ता महत्त्वपूर्ण विषयहरू संसद्को बहस र सहमतिबाट टुङ्ग्याउनुपर्ने बताए। उनले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा त्यसलाई स्थगित गरेर अध्यादेश जारी गर्नु सर्वथा अनुचित भएको उल्लेख गरे।

उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म जोगाउन प्रतिपक्ष दृढ रहेको बताउँदै सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस सधैँ तयार रहने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस