बामदेवलाई किन दिए ओलीले एक्लै बालुवाटारमा डिनर भोज ?

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, ०८ : २५
बामदेवलाई किन दिए ओलीले एक्लै बालुवाटारमा डिनर भोज ?

काठमाडौं । नेकपा सचिवालय सदस्य बामदेव गौतमले क्याम्प फेरेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले उनीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजान थालेका छन् । 

गौतम पनि के कम ! प्रधानमन्त्री ओलीलाई खुसी बनाउन उनको वरीपरी नै देखिन र झुम्मिन थालेका छन् । एक महिना अगाडीसम्म ओलीका विपक्षमा देखिएका गौतममा एकाएक ‘यूर्टन’ कसरी आयो ? अहिले ओली र गौतम बाहेकका अन्य शीर्ष नेताहरु नै समेत अचम्मित भईरहेका छन् ।

अध्यक्ष प्रचण्डले संगठन विभागको जिम्मेवारी दिन प्रस्ताव गरिरहदा समेत ओलीले पूर्व माओवादी खेमाभित्र खेल्नका लागि रामबहादुर थापा (बादल) लाई प्रमुख बनाउने प्रस्ताव गरेका थिए । तर वादलले संगठन विभाग पार्टी महासचिवले नै लिनु उपयुक्त हुने भन्दै माओवादी मोडेलको संगठनात्मक प्रस्ताव पार्टी बैठकमा प्रस्तुत गरे । तर त्यसो पनि हुन सकेन । पार्टीभित्र गौतमका पक्षमा सचिवालयमा बहुमत देखिएपछि र केही गरि पनि उनलाई कटौती गर्न नसक्ने देखिएपछि अन्ततः ओलीले गौतमलाई नै आफ्नो क्याम्पमा तान्ने नयाँ फर्मूला अबलम्वन गरे ।

त्यो फर्मूला थियो, – गौतमलाई जसरी पनि आफ्नो क्याम्पमा तान्ने र आफुइतर पक्षमा बन्दै गएको धुव्रिकरणलाई कमजोर बनाउने ।

गौतमको आनीबानी र स्वभावका जानकार ओलीले गौतमलाई संगठन विभागको जिम्मा मात्र दिन सहमत भएनन्, उनले चाहना गरिरहेको प्रतिनिधीसभा सांसद बनेर आउने विकल्पका प्रस्तावमा पनि आफैले छलफल गर्न थाले ।

त्यसपछि गौतम पनि दंग परे । उनले ओलीको पक्षमा आफुलाई उभ्याउन थालेका छन् । गत मंसिर पुसमा सम्पन्न पार्टी स्थायी समिति बैठकमा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा फरक मत नै राखेका गौतमले एक अध्यक्षले पार्टी र एक अध्यक्षले सरकारको नेतृत्व गर्नुपर्ने मत राखेका थिए ।

उक्त बैठकमा ओली पक्षका नेताहरुले गौतम माथी निक्कै प्रहार गरेका थिए । धेरै जसोले टिप्पणी गरेका थिए , – ओलीसँग अब गौतमको सम्बन्ध विच्छेद नै भयो ।

तर परिस्थिती त्यस्तो देखिएन । ओलीलाई पार्टीभित्र आफुइतर बलियो बन्दै गएको पक्षलाई तोड्ने र गौतमलाई पनि आफ्नो चाहना पूरा गर्न ओलीको साथ खोज्ने ।

यही मौका अहिले ओली गौतम दुवैलाई मिलेको छ । ओलीले उनलाई संगठन विभागको जिम्मा अर्का अध्यक्ष प्रचण्डकै प्रस्तावमा दिन तयार देखिएका छन भने कास्की २ मा जित्ने सम्भाब्यता अध्ययन गरी जित्ने अवस्थामा उम्मेदवार समेत बनाउने अफर गरेका छन् ।

त्यसयता ओली –बामदेव सम्बन्ध बाक्लिदो छ । बामदेव ओली सिंगापुुरबाट फर्केको दिन भित्रुवन विमानस्थलमा स्वागतका लागि फुलगुच्छा बोकेर ओलीलाई सरप्राइज दिन पुगे । ओलीले पनि त्यसको भोलिपल्टै गौतमलाई सरप्राइज डिनर दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र विभागिय जिम्मेवारीको सकस परिरहेका बेला मंगलबार राती बालुवाटारमा गौतम एक्लैलाई डिनर दिएका छन् ।

उक्त डिनरमा ओली गौतमले पार्टीभित्रको समिकरणका विषयमा झण्डै ४ घण्टा छलफल गरेको ओली निकट स्रोतको जिकिर छ । 

त्यसो त प्रधानमन्त्री ओलीले गौतमको जन्मदिनका दिन गौतमका वावु छोरालाई  बालुवाटारमा बोलाई सरप्राइज केक समेत कटाएका थिए । 

अर्का अध्यक्ष प्रचण्डसँग पनि उत्तिकै समधुर सम्बन्ध रहेका वामदेवलाई ओलीले प्रचण्डसँगको सम्बन्ध कायम राख्ने तपाइकै जिम्मा भयो, तर आफुसँगको सम्बन्ध विस्तार गरी नेता बन्न आग्रह गरेको ओली निकट स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस