कति कमजोर रहेछ राष्ट्र

शेरबहादुरले लैनचौरमा के गरे ६ घण्टा ?

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, १२ : ४८
शेरबहादुरले लैनचौरमा के गरे ६ घण्टा ?

काठमाडौं । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति कुनै एउटा देशको राजदूतावासमा जान मिल्छ कि मिल्दैन ? सामान्यतया सार्वजनिक कार्यक्रममा अथितिका रुपमा जानुलाई असामान्य मान्न सकिदैन । तर एउटा कर्मचारीको सम्मानका लागि पूर्व प्रधानमन्त्री ६ घन्टा दूतावासमा बस्नु, देशका भए नभएका कुरा गर्नु र राजनीतिमा पानी धमिलो पार्न खोज्नुलाई भने कुन अर्थमा लिन सकिएला ? राजनीतिक विश्लेषकहरु भन्छन् यो चरम लापरवाही मात्रै होइन । 
भारतीय खुफिया एजेन्सी रअका प्रमुख समान्तकुमार गोयल नेपाल भ्रमणमा आए । रअ प्रमुख गोयललाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारको गेटमा नै पुगेको भन्दै चर्चा चलेको छ । यस्तै नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा त दूतावासमा ६ घण्टा नै बसेका थिए । 
आफूलाई राष्ट्रवादको पगरी गुथाएर सत्तामा पुगेका ओलीले रअका प्रमुखको स्वागतका लागि प्रधानमन्त्री निवासको गेटमा नै पुग्नुले उनको राष्ट्रवादी ढ्वाङ समेत उदांगो भएको छ । भारतका एक कर्मचारी गोयललाई देशका कार्यकारी प्रमुख भइसकेका र हालका समेत प्रमुख कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गरी तीन जनाले भेट दिए । 
कूल पाँच सदस्यीय टोलीसहित नेपाल आएका गोयलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुरुमै भेटेका थिए । आपत्तिजनक त के छ भने प्रधानमन्त्री भइसकेका देउवाले आइतबार राति लैनचौरस्थित भारतीय दूतावासमै गएर गोयलसँग भेटघाट गरेको भन्दै चौतर्फी आलोचना भएको छ । देउवाले दूतावासमा करिब ६ घन्टा बिताएका थिए । तर यो विषय आमरुपमा सार्वजनिक भइसक्दा समेत देउवाले त्यस्तो नभएको भन्दै लुकाएर राखेका छन् । 
अघिल्लो आइतबार देउवा भेटेका गोयलले सोमबार बिहान पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा गएर भेटेको बताइन्छ । गोयलसँगको भेटघाट ‘गुपचुप’ बनाउन अधिकतम प्रयत्न गरिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट सार्वजनिक भएको छ । भारत उड्नुअघि बालुवाटार पुगेका गोयलले ओलीसँग करिब एक घन्टा कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर प्रधानमन्त्री ओलीले हुँदै नभएको भन्दै लोकलाई नै ढाँट्ने काम गरेका छन् । 
विदेशीहरुसँग गर्ने भेटघाटलाई कूटनीतिक आचारसंहिता अनुसार पारदर्शी बनाउने र त्यसलाई अभिलेखमा राख्ने गरेको भए नेताहरूको नियतमा शंका उब्जिने थिएन । आफ्ना राजनीतिक भेटघाटलाई नेताहरूले गोप्य राख्नुभन्दा सार्वजनिक गर्ने गरेको भए मिडियादेखि समाजिक सञ्जालसम्ममा उनीहरुको नियतमा खोट औंल्याउँदै संशय जाहेर गर्नु नपर्ने भएपनि उनीहरुले नै लुकाएर राखेका कारण आशंका जन्मिएको हो ।

प्रतिक्रिया दिनुहोस