भारतीय फलफूल र तरकारीमा विषादी प्रकरण

दूतावासको पत्र घर्रामा राखेर विदेश गएका थिए कृषि सचिव जिसी

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १६ : ४४
दूतावासको पत्र घर्रामा राखेर विदेश गएका थिए कृषि सचिव जिसी

काठमाडौं । जनयुद्धकालका जनमुक्ति सेनाका डेपुटी कमाण्डर चक्रपाणी खनाल उर्फ बलदेवले सम्हालेका छन् कृषि मन्त्रालय । तर मन्त्रालयको काम कारबाहीबारे मन्त्री खनाललाई भन्दा धेरै जानकारी सचिव युवकध्वज जिसीलाई हुन्छ । विचौलियाको नाइकेका रुपमा परिचित छन् सचिव जिसी । 
मन्त्रालयमा कमै आउँछन् । तारे होटल र रेष्टुरेन्टमा मात्रै विशेष उपस्थिति हुन्छ जिसीको । विचौलियासँगै उठबस । खाइपिई, अनि कारोबार सबै उतै हुन्छ । पछिल्लो समय भारतीय फलफूल र तरकारीको विषादी प्रकरणमा सरकारलाई प्राप्त कागजात उनले नै लुकाएर राखेको पाइएको छ । सचिव जिसीले नेपालस्थित भारतीय दूतावासले पठाएको पत्र लुकाएर राखेको र असाध्यै चर्चा भएपछि मात्रै मन्त्री खनाललाई देखाएको पाइएको छ । दूतावासबाट प्राप्त भएको पत्र घर्रामा लुकाएर उनी विदेश गएका थिए । 
रासायनिक मलमा समेत उनै सचिवले सरकार र मन्त्रीलाई समेत फसाएको जानकारहरुको भनाइ छ । मन्त्रीलाई कुनै जानकारी नै नदिई उनले विचौलियासँग मिलेर मन्त्रीलाई असफल बनाउन लागि परेको जानकार स्रोतको भनाइ छ ।
पछिल्लो साता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको भाउ वृद्धि भइरहेकै छ । असार महिनाको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । त्यसमा सचिव र विचौलियाको विशेष मिलेमतो रहेको छ । कालीमाटी तरकारी बजारमा तरकारी भित्राउने व्यवसायीले मिलेमतो गरेर मूल्यवृद्धि गराएको पाइएको छ । 
अत्याधिक मूल्यवृद्धि गराउन उनै सचिव जिसीले स्वीकृति दिएको स्रोतको भनाइ छ । विचौलियालाई मूल्य वृद्धि हुँदा प्राप्त हुने रकमको पचास प्रतिशत रकम उपलब्ध गराउन सचिवले आग्रह गरेको र सोही आग्रह अनुसार नै मूल्यवृद्धि गरिएको सम्वद्ध स्रोतको भनाइ छ । विचौलियाले ससचिव जिसीका अलावा कृषि राज्यमन्त्री रामुकमारी चौधरीलाई समेत प्रभावमा पारेको बताइन्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कुरा पत्याउने हो भने वर्षातका कारण तरकारीको मूल्य आकासिएको हो । तर तरकारी बजारमा चल्ने हल्ला र व्यावसायीको कुरा पत्याउने हो भने सचिव जिसी, राज्यमन्त्री चौधरी र कृषिका केही वरिष्ठ अधिकारीको निर्देशनमा मोटो रकम कमाउने लक्ष्यका साथ मूल्य बढाइएको हो । कतिपय व्यवसायीचाहिँ सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी कम आयात हुन थालेको र भाऊ बढेको तर्क गरेर दिउँसै रात पार्ने तर्क गरेर बसेका छन् ।  
आमसर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । आकासिँदो मूल्यवृद्धिलाई रोक्न र जनजीवनलाई सहज बनाउन जिम्मेवार निकाय जुनरुपमा गम्भीर हुनुपर्ने हो, त्यो नहुँदा कालाबजारियाहरु सल्बलाएका छन् । तर त्यसलाई नियन्त्रण गर्ने शासनिक जिम्मेवारी पाएका सचिव जिसी भने त्यो कुरा थाहा नपाएको जस्तै गरेर बसेका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य बढ्नुको कारण बर्षात भएको दावी गरेर बसेको छ । बर्षातका कारण तरकारी पर्याप्त मात्रामा नआउँदा मूल्य अस्वाभाविकरुपमा बढ्दै गएको उसको जिकिर छ ।  केही दिनअघि बजार आवागमन धेरै घटेको र  अहिले क्रमिकरुपमा सुधार हुँदै आएको कालीमाटी तरकारी बजारको भनाइ छ । 
आवागमन सुधार हुँदै गएपछि तरकारीको मूल्य पनि स्वतः घट्दै जाने दावी गरिएपनि त्यस्तो हुन सकेको छैन  केही व्यापारी भने सचिव जिसीको निर्देशनमा –अहिले भारतबाट आउने तरकारीभन्दा पनि नेपालमै धेरै उत्पादन हुने तरकारीहरुको मूल्य बढेको बताएर उपभोक्ता ठगी गरिरहेका छन् । विशेष गरी भारतबाट आउने आलु, ब्याज लगायतका तरकारीहरु निर्वाधरुपमा आइरहेका छन् । तर, नेपालमै उत्पादन हुने तरकारीहरु बजारमा कम आउँदा भाउ बढेको दावी गरिएको छ ।  
काभ्रे, धादिङ, नुवाकोटका साथै पूर्वी तराईबाट समेत पर्याप्त तरकारी काठमाडौं नआएको काइते तर्क गरेका छन् ।  वर्षात बढ्दै जाँदा उत्पादन पनि कम हुने र बजारमा तरकारी पु¥याउन समस्या हुने हुँदा किसानले नै बढी मूल्य खोज्ने गरेको दावी गरिन्छ । वर्षातका कारण बढेको मूल्यलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै व्यापारीलाई उपभोक्ता ठग्ने जिम्मेवारी दिए जस्तै गरिएको छ ।
तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको व्यवसायीहरु स्वीकार्छन् । तर, त्यसभित्र भइरहेको खेल भने उनीहरुको इशाराबाट मात्रै बुझ्नुपर्ने देखिन्छ । उनीहरु भारतबाट आउने तरकारीको विषादी परीक्षणले पनि मूल्यमा प्रभाव पारेको भन्दै प्रचार गराउन उद्यत छन् ।  यस्तै तराई क्षेत्रमा डुबान भएका कारण उत्पादित तरकारी बजारमा आउन समस्या परेका कारण पनि मूल्य बढेको पाइएको छ ।  
भारतबाट आउने तरकारी पनि कम भएको र  नेपालको उत्पादन पनि न्यून भएको भन्दै व्यापारीले ७० देखि ९० प्रतिशतसम्म मूल्य बढाएका हुन् । हाल भारतबाट आउने विभिन्न नाकाहरुका ८ स्थानबाट परीक्षण हुने भएकाले व्यवसायीहरुले तरकारी कम माग गरेको देखिएको छ । वर्षात रोकिएपछि उत्पादन पनि बढ्ने र बिग्रिएका बाटोहरु बनेपछि तरकारी सहजरुपमा तरकारी काठमाडौं आउने तर्क पनि गरिएको छ ।
सरकारले राजपत्रमा असार २ गते सूचना प्रकाशित गर्दै भारतबाट आउने तरकारी विषादी परीक्षण गरेपछि मात्रै नेपाल भित्र्याउने जनाएको थियो । राजपत्रमा सूचना प्रकाशित गरेको भोलिपल्टदेखि यो व्यवस्था कार्यान्वयनमा आएको थियो । विषादी परीक्षण गर्न थालिएपछि भारतबाट नेपाल भित्रिन लागेका तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेरनरको भन्सार जाँच पास केही दिन रोकिएको थियो । 
भारतको पत्रपछिसरकारले १९ असारमा राजपत्रमा प्रकाशित आदेशमा संशोधन गरेको थियो । तर, सरकारको पछिल्लो निर्णयको चर्को आलोचना भयो । लगत्तै सर्वोच्च अदालतले समेत भारतबाट आउने विषादी परीक्षण नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । 
असार २५ मा सर्वोच्चले भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न अन्तरिम आदेश दिएको थियोे । तर सचिव जिसी भने विचौलियासँग मिलेर अनेकन धन्दा चलाएका छन् । उनलाई कोही कसैले पनि सेचत समेत गराउन सकेका छैनन् । कारण, उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली र उनका  प्रमुख सल्लाहकार विष्णु रिमालसँग विशेष सम्बन्ध भएको भन्दै आफ्ना निकटस्थहरुसँग बताउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस