बन्दी फरार भएपछि प्रहरी जवान निलम्बनमा

रासस

सोमबार, ३० असार २०७६, २१ : ०९
बन्दी फरार भएपछि प्रहरी जवान निलम्बनमा

फाईल फोटो

काठमाडौं । खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए । 
    
शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए । 
    
दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो । भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका पाँचमध्ये एकजना बिरामी भएपछि अस्पताल पु¥याइएको थियो भने गम्भीर अपराधका अर्का एकजना हिरासतमै सुतिरहेका थिए । इप्रका धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खनप्रसाद यादव शनिबारदेखि बिदामा हुनुहुन्थ्यो । निमित्त इञ्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले घटनाबारे केही बताउन चाहनुभएन । 
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाको पुष्टि गर्दै हिरासतको सुरक्षामा खटिएका जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाइएको बताउनुभयो । उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।“उनीहरुलाई छिट्टै पक्राउ गरिनेछ”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो, “सम्बद्ध सबैतिर प्रहरी परिचालन गरिसकिएको छ ।”

प्रतिक्रिया दिनुहोस