शिक्षकसामु प्रचण्डको खुलासा

‘दुई पार्टीबीचको एकता भाँड्ने प्रयास भइरहेको छ’(भिडियो)

शनिबार, १३ माघ २०७४, १७ : ०६

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष, चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता प्रक्रियालाई भाँड्ने प्रयास भइरहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौं जिल्ला सम्मेलन उद्घाटन समारोहलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो । ‘वाम गठबन्धनलाई तोड्न वा पार्टी एकतालाई भाँड्न ठूलै ठाउँबाट ठूलै कसरत भइरहेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राष्ट्रको आवश्यकता भनेको कम्युनिष्टहरुको एकता नै हो । यो एकतालाई अवरुद्ध गर्न खोज्ने प्रवृत्ति मैले भोगेँ ।’

एमाले र माओवादी केन्द्रबीच एकता हुने कुराले संसार तरंगित भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले वाम एकताको कुराले एकथरी औधि खुशी भएको र अर्कोथरीलाई निन्द्रा लाग्न छाडेको बताउनु भयो । उहाँले कम्युनिष्ट एकतालाई सफल पार्न शिक्षा क्षेत्रबाट सहयोगको अपेक्षा समेत गर्नुभयो । वाम एकताका लागि आफू प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

‘हामीले अगाडि बढाएको र निर्वाचनमार्फत् जनताले अनुमोदन गरेको कम्युनिष्ट एकताको काम सफल पार्न तपाइँ शिक्षकहरुले पनि सघाउनु होस्’ यसअघि चितवनमा आफूले गरेका सम्बोधनमा पार्टी एकताबारे उत्साहित देखिनुहुने प्रचण्डले यसपटक मलिन अनुहार बनाउँदै भन्नुभयो, ‘यो एकता प्रकृया नेताहरुबाटमात्रै सम्भव होलाजस्तो छैन । तपाइँहरुले पनि आआफ्नो ठाउँबाट दबाव दिनुहोला ।’

कम्युनिष्ट पार्टी एकताविरुद्ध थुपै्र प्रतिक्रिया आएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रचण्डलाई पाँच वर्षको लागि प्रधानमन्त्रीको अफर एउटा प्रतिक्रिया थियो । मैले त्यसलाई अस्वीकार गरेँ, त्यो अर्को प्रतिक्रिया थियो । राजनीतिलाई सम्भावनाको खेल बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले यो फोहोरी खेल भने नभएको प्रष्ट पार्नुभयो ।

‘परिस्थिति अनुसार तत्काल कदम चालिहाल्ने भएकालेले मलाई गतिशील वा अस्थिर भन्ने गरिन्छ’ पार्टी एकतालाई टुंगोमा पु¥याउने प्रयासमा आफू कत्ति पनि विचलित नभएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘आफूलाई स्वाद पर्नेले गतिशील भन्छन्, स्वाद नपर्नेले अस्थिर भन्छन् ।’

उहाँले पार्टी एकताको उद्देश्यबाट नै वाम गठबन्धन निर्माण गरिएको बताउनु भयो । ‘शान्ति सम्झौता भएपछि पहिला संविधान सभा निर्वाचन अगावै पनि वाम एकताबारे छलफल भएका थिए’ विगत स्मरण गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘त्यतिबेला हामी सफल भएनौँ, यसपटक सफल भएरै छाड्छौँ ।’ देशमा राजनीतिक स्थायित्व र बलियो केन्द्रको महसुस गरी सहमतिपत्रमा केपी शर्मा ओली र आफूले हस्ताक्षर गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

करिब ३५ मिनेट लामो सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले २० मिनेटजति पार्टी एकताको विषयमा र बाँकी समय शैक्षिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा बोल्नुभयो । ‘शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा अब गर्नुपर्ने काम भनेको निजीकरण घटाउँदै लैजाने, सार्वजनिकीकरण बढाउँदै लैजाने र समाजवादी शिक्षा प्रणाली लागु गर्ने नै हो ।’ शिक्षालाई माफियाकरण हुनबाट रोक्नु पर्ने उहाँको भनाइ थियो ।

अबको शिक्षा समाजवाद उन्मुख हुनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षकहरुमा बन्ने दृष्टिकोणबाट नै देशलाई अब लैजान थालिएको विकास र समृद्धिको युग, समाजवादको यात्रा अगाडि बढ्ने कुरा निर्भर रहने विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा व्याप्त विकृतिको अन्त्य गर्दै अगाडि बढेमा प्रगति सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

‘समाजवादतर्फको यात्राको पहिलो प्राथमिकता भनेको समाजवादी शिक्षा नै हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा व्यापारीकरणलाई सिमित गर्दै लैजाने र सार्वजनिक क्षेत्रलाई बढाउँदै लैजाने काम नै समाजवादी शिक्षा प्रणाली हो ।’ समाजवादी शिक्षा प्रणाली सुरु गर्न वामपन्थीहरुले नै नेतृत्व लिनुपर्ने उहाँको भनाइ थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलन उद्घाटन समारोहमा नारायणी नमुना माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष टेकबहादुर थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस