सरकार संचालनमा ओली असफल, प्रचण्डलाई ठाउँ छाडिदिन सुझाव

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १३ : ५७
सरकार संचालनमा ओली असफल, प्रचण्डलाई ठाउँ छाडिदिन सुझाव

काठमाडौं । नेपालीमा एउटा उखान लोकप्रिय छ, ‘भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।’ विगतदेखि नै भ्रष्टाचारीको रुपमा गन्हाएका ईश्वर पोखरेलजस्ता व्यक्तिलाई काखी च्यापेर हिँड्ने अनि नेकपा र सरकारलाई भड्खालोमा हाल्ने काम भएमा प्रधानमन्त्री ओलीलाई पनि कोही कसैले जोगाउन सक्दैन । 
सरकार सञ्चालनमा करिबकरिब असफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार भएर पार्टी र सरकारको नेतृृत्वबाट हटी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्नु पर्ने आवाज उठ्न थालेको छ । नेपालको कम्युनिस्ट इतिहासमा नै सबैभन्दा ठूलो भएको पार्टीलाई रसातलमा पु¥याउने काम प्रधानमन्त्री ओलीबाट हुने खतरा देखिएपछि पार्टीभित्रैबाट यस्तो आवाज उठ्न थालेको हो ।
ऐतिहासिक आवश्यकताका आधारमा गठन भएको नेकपालाई क्रमशः असफल बनाएर नेपाली जनताको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनमा समेत अन्तरघात गर्नेसम्मको काम हुन लागेको आशंका गरिएको छ । पार्टी एकताको क्रममा तयार पारिएको जनताको जनवाद शीर्षकको राजनीतिक कार्यक्रम र कार्यदिशालाई लत्याएर विगतमा नै असफल भएको र पार्टीभित्रै समेत दक्ष प्रजापतिको टाउको भनेर टिप्पणी गरिएको बहुदलीय जनवादलाई अगाडि सारेर प्रधानमन्त्री ओलीले पार्टी एकताको महत्वलाई समेत ध्वस्त पार्ने षड्यन्त्र गरेका छन् ।
पछिल्लो पटक बसेको सचिवालय बैठकमा ओलीले सोही उद्देश्यका साथ जनताको बहुदलीय जनवादलाई अगाडि सारेका थिए । उनले जानी बुझीकन नै उक्त प्रस्ताव अगाडि सारेर पार्टी एकताको बाँकी रहेको कामलाई समेत पूरा हुन नदिने षड्यन्त्र गरेका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा भएको पार्टी एकताको सारभूत लक्ष्यविरुद्ध जाने उनको पछिल्लो कदमले नेपाली जनताको आशा र चासोलाई समेत समाप्त पारिदिने देखिएको छ । 
प्रधानमन्त्री ओली आफू सबैभन्दा बलियो भएको र आफूलाई कोही कसैले पनि केही गर्न नसक्ने भ्रममा छन् । तर उनी क्रमशः नेपाली जनताबाट एक्लिँदै गएका छन् । सरकारको काम गर्ने तरिका शतप्रतिशत असफल भएको छ । मन्त्रीहरुको कार्यक्षमतामा प्रश्न उठेको छ । गृहमन्त्री र गृहप्रशासनलाई जानकारी नै नदिई दोहोरो भिडन्तको नाममा निहत्था नागरिकको हत्या सुरु भएको छ । 

महाराजाको शैलीमा प्रस्तुत
प्रधानमन्त्री ओलीको यही ज्यादतीका कारण पार्टीभित्रै उनको विकल्प खोज्नु पर्ने आवश्यकता बढेर गएको छ । प्रम ओलीले आफूलाई लुई चौधौंको नयाँ संस्करणको रुपमा उभ्याउन थालेका छन् । उनले गर्ने व्यवहार, उनको चिन्तन, उनको कार्यशैली, उनका सहयोगीहरुको व्यवहार र दृष्टिकोण सामन्तवादको भन्दा फरक छैन । उनी आफूलाई राजाभन्दा पनि बढी महाराजाको शैलीमा प्रस्तुत गर्छन् ।
राजनीतिक विश्लेषकहरु भन्छन् ओलीले पार्टी भित्रका सबै नेता तथा कार्यकर्तालाई पनि बिच्क्याएका छन् भने विश्वासमा लिएर जानु पर्ने प्रमुख प्रतिपक्षलाई समेत उनले पल्लो किनारामा धकेलिदिएका छन् । शान्ति प्रक्रियाका केही काम पूरा गर्न अझै पनि प्रमुख प्रतिपक्षको सहयोग जरुरी छ । प्रजातन्त्र सामूहिक निर्णय प्रणालीको व्यवस्था हो । त्यसले सबैको समान हक र अधिकारको प्रत्याभूति गर्छ । तर ओली आफूलाई तानाशाहको रुपमा प्रस्तुत गर्ने जमर्कोमा लागेका छन् । 
पार्टीभित्रका विरोधी सिध्याउने, बाहिर पनि विरोध गर्न नदिने, लोकतन्त्रको सार्वभौम मूल्य र मान्यता विपरीत जाने उनको दुरासयले नेपाललाई नै अन्ततः भड्खालोमा हाल्ने खतरा देखिएको छ । सहमति र सम्वादका आधारमा अगाडि बढ्नुको सट्टा पार्टीभित्रका विरोधी सिध्याउने नाममा दुईतिहाई प्राप्त नेकपालाई नै समाप्त गर्ने गरी मध्यावधि निर्वाचन गर्ने, संसद भंग गर्नेसम्मको षडयन्त्र सुरु गरेको राजनीतिक वृत्तमा चर्चा छ । 
उनले पार्टीभित्र आफ्नाबाहेक अरु सबैलाई राजनीतिक रुपमा कल्लेआम गर्ने योजना बनाएको स्रोतको दाबी छ । इश्वर पोखरेलमार्फत थालिएको कूप्रचार त्यसैको एउटा ज्वलन्त उदाहरण हो । पोखरेलको काँधमा बन्दुक राखेर पार्टीभित्र फरक विचार राख्नेलाई सिध्याउने उनको रणनीतिले अरुलाई होइन उनी आफैलाई सिध्याउने कुरामा दुईमत छैन । 
उनले जुन खालको तानाशाही व्यवहार देखाएका छन्, त्यसले नेकपाका अरु नेतालाई होइन उनी आफैलाई सिध्याउने छ । ओलीलाई राधाकृष्ण मैनालीले कुनै समय गोमन साँपको संज्ञा दिएका थिए । आज उनले देखाएको व्यवहार त्यस्तै देखिएको छ । सचिवालयमा अल्पमतमा रहेका ओली, स्थायी समितिमा समेत क्रमशः अल्पमतमा परेका छन् । उनी बाहेकका सबै नेता अर्कोतर्फ लागेका छन् । सचिवालयमा उनलाई तेल मन्त्रीको रुपमा परिचित इश्वर पोखरेलले मात्रै साथ दिएका छन् । 
अन्तिम घडी आएको खण्डमा महासचिव विष्णु पौडेल समेत उनको पक्षमा नरहने अवस्था देखिएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डको समेत विश्वासमा महासचिव बनेका पौडेलले ओलीलाई सधै साथ देलान् भन्नेमा आशंका रहेको छ । किनकी बालुवाटार जग्गा प्रकरणमा ओलीले नै पौडेललाई साइजमा ल्याएको भन्दै पौडेल समूह ओलीप्रति संशकित छ । उक्त समूहको बुझाईमा ओली र पोखरेलको योजनामा नै पौडेललाई ड्यामेज गर्न बालुवाटार प्रकरण प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक गरिएको हो । 
पौडेलका जानकारहरु भन्छन्, उनी महासचिव बनाइएको र बनेकोमा ओलीका केही मान्छेलाई मन परेको थिएन । उनीहरुले उपयुक्त मौकाको खोजी गरिरहेका थिए । सोही मौकालाई अगाडि सारेर पौडेलको बालुवाटार जग्गा प्रकरण सार्वजनिक गरिएको हो ।

मर्कामा नेपाल, गौतम र खनाल
जानकारहरुका अनुसार माधव कुमार नेपाल ओलीका सधैका विरोधी हुन् । कहिलेकाहीँ सत्ता स्वार्थमा एक ठाउँमा उभिने भएपनि नेपाल पछिल्ला दिनमा ओलीको ज्यादतीको भुक्तमानमा परेका छन् । वामदेव गौतमलाई पनि ओलीले पटकपटक धोका दिएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा ओलीले नै गौतमलाई निर्वाचनमा पराजित गरिदिएको गौतमलाई राम्रैसँग थाहा छ । पार्टीका पूर्वअध्यक्ष झलनाथ खनाललाई समेत ओलीले धोका दिएका छन् । 
पछिल्लो पटक स्वार्थ सिद्ध गर्नका लागि गृहमन्त्री समेत रहेका पूर्वमाओवादी नेता रामबहादुर थापालाई आफ्नो कित्तामा आएको प्रचार गराए पनि थापा वा प्रचण्डको विरुद्ध जान सक्ने अवस्था छैन । जननयुद्धलाई हेर्ने दृष्टिकोणबाहेक अरु विषयमा ओलीसँग निकट भएको प्रचार भए पनि अन्तिम समयमा थापाले प्रचण्डलाई नछाड्ने विश्वास गर्न सकिन्छ । प्रचण्ड र थापाको मित्रता लामो समयदेखिकै भएकाले पनि त्यसमा धोका हुने अवस्था छैन । 
बाँकी रह््यो पूर्वमाओवादीका नेता एवम् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ । उनी ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका र दुःख पाएका नेताका रुपमा परिचित छन् । जसका कारण पार्टीभित्र ओली क्रमशः एक्लिँदै गएका छन् भन्ने स्पष्ट हुन जान्छ । ओली पार्टी भित्र र बाहिर समेत एक्लै पर्न थालेपनि उनी तानाशाहीको हुने दिशामा केन्द्रीत भएका हुन् । ओलीले यस्तै ज्यादती गर्दै गए उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन सकिने सम्मको अवस्था पार्टीभित्र आउने सक्ने वातावरण बन्दै गएको छ । 
पार्टी अध्यक्ष प्रचण्डले ओलीलाई समेत मिलाएर लैजाने संकल्प गरेका कारण प्रम ओलीले कार्यशैली सच्याएर केही समय उनलाई अझै मौका दिन सकिने अवस्था भने आउन सक्छ । किनकी उनलाई सम्मान गरे, उनको योगदानको चर्चा गर्दै, विगतमा जे जस्तो गरेको भएपनि इतिहासको आवश्यकताका आधारमा उनलाई अझै अगाडि बढाउन सकिने अवस्था भने सकिइसकेको छैन । तर कार्यशैली सुधार नगर्ने, फरक विचार राख्ने बित्तिकै विरोधीको बिल्ला भिराएर राजनीतिक रुपमा नै सिध्याउने जुन प्रकारको खेल उनले खेल्दै छन्, त्यसलाई भने उनले आत्मआलोचना गर्नुपर्ने, पार्टीलाई सामुहिक प्रणालीमा लैजानका लागि तत्काल प्रचण्डलाई एकल नेतृत्व दिनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
विचारको नाममा विगतमा पार्टी एकताको क्रममा भएको सहमतिलाई उनले आत्मसात् गर्नुपर्ने, सरकार सञ्चालनका क्रममा देखीएको कमी कमजोरी हटाएर जनतालाई राहत दिनुपर्ने, राष्ट्रिय आवश्यकताको सम्बोधन गर्नुपर्ने तथा देश भित्र र बाहिर देखिएको कम्युनिस्ट पार्टी प्रतिको विश्वासलाई अझै फराकिलो बनाएर जानुपर्ने आवश्यकता बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस