नारायणगढ मुग्लिन सडकखण्ड

कहिले राति बन्द, कहिले दिउँसो बन्द, यात्रुलाई सधैं सास्ती

शुक्रबार, १२ माघ २०७४, १६ : १५
कहिले राति बन्द, कहिले दिउँसो बन्द, यात्रुलाई सधैं सास्ती


चितवन । हिजो बिहीबार राति १० बजेदेखि आज बिहान ४ बजेसम्म यातायात बन्द गराइएको नारायणगढ मुग्लिन सडकखण्डमा भोलि माघ १३ गते शनिबारदेखि बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गराइने भएको छ ।
सडक निर्माणको कामलाई तिब्रता दिन रातिको साटो दिउँसो दैनिक ६ घण्टा सवारी आवागमन बन्द गराइने भएको हो । कहिले राति त कहिले दिउँसो सवारी आवागमन बन्द गराउँदा उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु र सवारी चालकले सास्ती व्यहोर्दै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भोलि शनिबारदेखि बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म नारायणगढ मुग्लिन सडकखण्डमा यातायात आवागमन बन्द गरिने जनाएको छ ।
दैनिक आठ हजार गाडी ओहोरदोहोर गर्ने यो बाटोमा मालवाहक ट्रक र यात्रुवाहक ठूला बस बढी चल्छन् । साना सवारीले वैकल्पिक बाटोबाट यात्रा गर्न थालेका छन् । सडक यातायात जाखिमपूर्ण भएपछि यात्रुको चाप हवाई यातायातमा परेको छ ।

सकिनै लाग्यो ठेक्का अवधि
मुग्लिन सडक मर्मतको काम २०७२ साल वैशाखदेखि सुरु भएपनि भूकम्पले तीन महिना रोकिएर भदौमा केही मात्रामा काम पुनः सुरु भएको थियो । त्यसपछि मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले सडक बिस्तारको कामै बन्द भयो ।
आँपटारीदेखि दासढुंगासम्मको १० दशमलव ४५ किलोमिटर लामो एक नम्बर खण्डमा बीएलए र श्रेष्ठ कन्स्ट्रक्सन्स, दासढुंगादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर लामो दुई नम्बर खण्डमा उडहिल र लामा कन्स्ट्रक्सन्स एवम् सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलव ८८ किलोमिटर लामो तीन नम्बर खण्डमा सुप्रिम र रौताहा कन्स्ट्रक्सन्सले ज्वाइन्टभेञ्चरमा काम गरिरहेका छन् । पहिलो खण्डको ६१ करोड रुपैयाँ, दोस्रो खण्डको ९८ करोड रुपैयाँ र तेस्रो खण्डको एक अर्ब ३१ करोड रुपैयाँमा ठेक्का दिइएको छ ।


सन् २०१५ को अप्रिलमा दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी तीन वटा निर्माण कम्पनीलाई सडक ठेक्कामा दिइएको थियो । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएकाले सरकारले यस सडकलाई उच्च प्रथामिकतामा राखेपनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाई गरिरहेका छन् ।


तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि आगामी फेब्रुअरी २०१८ सम्म पुगेको छ । पहिलो खण्डको मिति १४ फेब्रुअरी र तेस्रो खण्डको २० फेब्रुअरीसम्म मिति थप गरिएको छ ।


एसियन हाइवे अन्तर्गतको एएचफोरटू खण्ड अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा नारायणगढ मुग्लिन सडक आयोजनाले आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई तीन खण्डमा छुट्याएर मर्मत र चौडा पार्ने काम गरिरहेको छ ।


चीनहुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुरहुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आयोजना सम्पन्न भएपछि आँपटारीदेखि मुग्लिनतर्फको १६ किलोमिटरसम्म सडक चौडाई कालोपत्रे नौ मिटरसहित ११ मिटर र त्यसपछि मुग्लिनसम्मको सडक कालोपत्रे सात मिटरसहित नौ मिटरको हुनेछ ।

लाजमर्दो लाइफलाइन
राजधानी काठमाडौँको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्ड पहिरोले अस्तव्यस्त बनेपछि यात्रा कष्टकरमात्र बनेको छैन, सडक सञ्जालको लाममर्दो अवस्था उजागर भएको छ । राजधानी छिर्ने मुख्य नाकामा पहिरोले यात्रु, चालक र सुरक्षाकर्मीकै ज्यान लिएको छ । गत आर्थिक वर्षमा त्रिशूली नदीको चितवन खण्डमा भएका दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो ।
नारायणगढ मुग्लिन सडकखण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्मको २० किलोमिटर सडक त्रिशूली नदीको किनारमा पर्दछ । उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यस सडकखण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका थिए भने ९१ जना घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएको कारण वर्षासँगै पहिरो खस्दा दुर्घटना बढेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा चालु आर्थिक वर्षमा यी दुई सडकखण्डमा बाटोको अवस्था र चालकको लापर्बाहीका कारण धेरै दुर्घटना भएको बताउँछन् ।

पहिरोको जोखिम
नारायणगढ मुग्लिन सडकखण्डको २६ किलोमिटर क्षेत्रका २९ स्थान पहिरोको उच्च जोखिम रहेको आयोजनाले जनाएको छ । दासढुंगादेखि मुग्लिनसम्मका जोखिमपूर्ण ठाउँमध्ये जलवीरेदेखि मुग्लिनसम्मको सात किलोमिटर क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ । यी ठाउँमा जुनसुकै समयमा पहिरो खस्न सक्ने विज्ञहरुले बताएका छन् । जलवीरेदेखिको उत्तरतर्फ सडक बिस्तारको काममा ढिलाई भएको छ ।

प्रतिक्रिया दिनुहोस