दोसाँधमा उभिएका प्रधानमन्त्री

अवसरको सदुपयोग गर्ने कि आफ्नै कारणले त्यसलाई गुमाउने ?

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १५ : ४३
अवसरको सदुपयोग गर्ने कि आफ्नै कारणले त्यसलाई गुमाउने ?

काठमाडौं । झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । संसदमा उनको झण्डै दुईतिहाई जनमत छ । पार्टीमा उनी अध्यक्ष छन् । ६ ओटा प्रदेशमा उनकै नेतृत्वको पार्टीको सरकार छ ।

पार्टीभित्र पनि उनी प्रचण्डसँगै समकक्षी अध्यक्ष भएपनि एक्ला मसिहा जस्तै छन् । २०७४ फागुन ३ मा सिंहदरबारमा दोश्रो इनिङ गरेका ओलीले त्यसयता सरकारको स्वामित्व पार्टीमा हस्तान्तरण गर्न चाहेका छैनन् ।

जे–जति गरेका छन्, आफैले एक्लै मसिहाका जस्तै रुपमा गरेका छन् । आफ्नै क्याविनेटका मन्त्रीलाई उनले आफ्ना ठानेका छैनन्, बरु कर्मचारीबाट अन्य मन्त्रालयका गतिविधि वाच गरिरहेका छन् । सरकार गठनको १६ महिनामा एकपटक पनि प्रधानमन्त्री ओलीले पार्टीका कुनै पनि तहमा सरकारको समीक्षा गराउन चाहेका छैनन् ।
 
नियुक्ति, सरुवा, बढुवा सबैमा प्रधानमन्त्री ओलीको मनमौजी चलेको छ । शुरुका केही समय ओलीले जे गरेपनि उनको खासै आलोचना पार्टीभित्र– बाहिर कतै सुनिएको थिएन । तर पछिल्ला दिनमा ओलीले आफ्नो ग्राफ आफैले घटाइरहेका छन् । उनी आलोचित बन्दै जान थालेका छन् । वरिष्ठ पत्रकार सुधिर शर्माका भनाईमा, प्रधानमन्त्री ओली  बिस्तारै घेरिन र एक्लिन थालिसकेका छन्, आफैंभित्र र बाहिरबाट, मूलतः आफ्नै कारणले ।

हालैका केही दृष्टान्तलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीका लागि यो खतराको घण्टी पनि हो । उनी नेतृत्वको सरकारले सरोकारवालासँग कुनै छलफल गर्दैन, पार्टीभित्र कुनै नेतासँग परामर्शसम्म गर्दैन, तर धमाधम विधेयकहरु संसदमा ल्याउँछ, त्यसपछि विवादको घेरामा पर्छ । गुठी विधेयक त्यसैको एउटा परिणाम हो । जसले काठमाडौंका गुठीयार नेवारहरुलाई आन्दोलित बनाइदियो । सरकारले विधेयक फिर्ता लिँदा समेत सडकमा त्यसको असर अझै मत्थर हुन सकेन । असार ४ गते माइतीघर मण्डलामा भएको प्रदर्शन प्रधानमन्त्री ओलीको त्यही मनमौजी प्रवृत्तिको विरुद्धमा थियो ।

‘हिजो माइतीघर मण्डलाको प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु प्रधानमन्त्रीका निम्ति खतराको घण्टी हो’ वरिष्ठ पत्रकार शर्मा बताउँछन् ।

सदनमा पनि ओलीका लागि पछिल्ला दिन टाउको दुखाई बन्न आईपुगेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि निक्कै कमजोर अवस्थामा पुगेको काँग्रेसको कमजोर प्रतिपक्षीय भूमिकाबीच ओलीलाई एकछत्र रजाई गर्ने छुट मिलेको थियो । प्रतिपक्षी कांग्रेस कमजोर नेतृत्वका कारण अझै लगभग  हराएकै अवस्थामा छ । तर संसद बैठक रोक्ने हैसियत भने क्रमशः काँग्रेसले देखाउन थालेको छ । गुठी विधेयक प्रकरणले सत्ता पहिलोपटक रक्षात्मक अवस्थामा धकेलिएको छ । त्यसैको उपज हो, यस मामिलामा सुरुमा अनेक अहम् देखाउँदा–देखाउँदै पनि अन्ततः विधेयक फिर्ता लिनुपर्ने अवस्थामा सरकार पुग्नु भनेको ।

यसले प्रधानमन्त्री ओलीलाई रक्षात्मक अवस्थामा पु¥याइदिएको छ । पार्टीले नै उनी नेतृत्वको सरकारले गरेका निर्णयको स्वामित्व ग्रहण गर्ने अवस्था देखिएको छैन ।

नेकपाभित्र पार्टी एकतापछि देखिएको त्रिशंकु समीकरणमा ओलीलाई केही सहज थियो । तर ओली आफ्नै कार्यशैलीगत समस्या र ब्रम्हज्ञानी प्रवृत्तिका कारण पार्टीभित्र पनि उनी आलोचित बन्न थालेका छन् ।
पार्टीभित्र प्रधानमन्त्रीप्रति प्रचण्ड र माधव नेपाल खेमाको असन्तुष्टि भूसको आगो झैं फैलँदैछ, त्रिशंकु समीकरण द्विध्रुवीयमा परिणत हुने सम्भावना पनि बढेर जान थालेको छ । यसको राप बाहिरसम्मै महसुस हुने गरी जान थालेको राजनीतिक वृत्तमा चर्चा चल्न शुरु भएको छ ।

‘झट्ट हेर्दा शक्तिको चमक निकै देखिएपनि प्रायः शक्तिशालीले आफू एक्लिसकेको अनुभूति अन्त्यमा मात्र गर्न पाउने आम राजनीतिक नियति नै हो’ वरिष्ठ पत्रकार शर्मा भन्छन्, –‘आफूले पाएको अभूतपूर्व अवसरको सदुपयोग गर्ने कि आफ्नै कारणले त्यसलाई गुमाउने ? लाग्छ, प्रधानमन्त्री ओली यो दोसाँधछेउ पुग्दैछन् । निर्णय उनकै हातमा छ ।’
 

प्रतिक्रिया दिनुहोस