कर्णाली चिसापानी जलविद्युत : आकाशको फल आँखा तरी मर

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १४ : ०८
कर्णाली चिसापानी जलविद्युत : आकाशको फल आँखा तरी मर

काठमाडौं । कर्णाली नदीमा दर्जनौ जलविद्युत् आयोजना निर्माण हुने अवस्था छ । ठाडो नदी भएका कारणले पनि सो नदीमा धेरै आयोजना बनाउन सकिने सरकारको बुझाइ छ । तर २०२३ सालमा नै जापानी कम्पनीले गरेको अध्ययनले हालसम्म पनि सार्थकता पाउन सकेको छैन । वर्षको नै हिसाब गर्दा पनि हाल ५३ वर्ष भयो सुरुको अध्ययन भएको । 

नेपालको सबैभन्दा ठूलो ठानिएको १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको बारेमा २०२३ सालमा तत्कालीन सरकारको आग्रहमा जापानी परामर्शदाता कम्पनी निप्पोन कोइले कर्णाली चिसापानी जलविद्युत अध्ययन गरेको थियो ।

ऊर्जा मन्त्रालयबाट अवकाश भएका कर्मचारीहरुका अनुसार जापानी परामर्शदाता कम्पनीले सो आयोजनाको क्षमता १ हजार ८०० मेगावाट हुने प्रतिवेदन दिएको थियो । नेपालकै ठूलो आयोजना बन्ने भयो भनेर तत्कालीन सरकारले पनि ठूलै खुसी मनाएको थियो । तर त्यो खुसी लामो समयसमम टिक्न सकेन । किनकी तत्कालीन समयमा ठूलो लगानी जुटाएर आयोजना बनाउने हैसियत नेपालसँग थिएन ।

जापानी कम्पनीले अध्ययन गरेको २ वर्षपछि अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिंग कर्पोरेशन (स्मेक) ले पनि सोही आयोजनाको पुनः अध्ययन गर्यो र भन्यो आयोजनाको क्षमता १ हजार ८०० मेगावाट होइन, ३ हजार ६०० मेगावाट हुन सक्छ । स्मेकले भन्यो, सबै प्राविधिक हिसाले हेर्दा आयोजनाको क्षमतामा आकाश जमिनको अन्तर देखिन सक्छ । आममानिसले सोचे भन्दा धेरै ठूलो आयोजना कर्णाली चिसापानी हुन सक्छ । 

कम्पनीले दिएको प्रतिवेदन पनि सरकारी कार्यालयको कुनै दराजमा थन्कियो । अध्ययनको सिलसिला जारी रह््यो । स्मेकपछि पुन अर्को कम्पनी आयो नर कन्सल्ट । विसं २०३४ मा नर कन्सल्ट एण्ड इलेक्ट्रोले पुनः सोही आयोजनाको अध्ययन गरयो र भन्यो, स्मेककै प्रतिवेदन ठिक छ । आयोजनाको क्षमता ३ हजार ६०० मेगावाट नै ठिक र जायज छ । प्राविधिक हिसाबले उक्त अध्ययन नै वस्तुनिष्ट र तथ्यको नजकि रहेको बतायो । उसले पुनः भन्यो, प्रविधिमा आउने परिवर्तनले आयोजनाको क्षमता भने अझै तलमाथि हुन सक्छ ।

सो अध्ययन भएको करिब १२ वर्षपछि अर्थात् २०४६ सालमा विश्व बैंकले नेपालका केही ठूला आयोजनाको अध्ययन गर्ने कार्यक्रम अगाडि सार्यो । सोही क्रममा कर्णाली चिासपानीको पनि विषय अगाडि आयो । विश्व बैंकको सहयोगमा क्यानडाको हिमालयन पावर कन्सल्ट्यान्सीले पुनः आयोजनाको विस्तृत अध्ययन गर्यो । सो कम्पनीले गरेको अध्ययनमा विगतमा गरिएका अध्ययन भन्दा अझै ठूलो क्षमता सहितको प्रतिवेदन दियो । 

कम्पनीले भन्यो, आयोजनाको क्षमता ३ हजार ६०० होइन १० हजार ८०० मेगावाट हुन्छ । सो प्रतिवेदन सार्वजनिक भएपछि धेरैले ठाने नेपालमा पनि यत्रो ठूलो परियोजना । रसिया नै पढेर आएका हरिमान श्रेष्ठले नेपालको कूल जलविद्युत्को क्षमता ८३ हजार मेगावाट भएको तथ्य सार्वजनिक गरेका थिए । श्रेष्ठले गरेको सोधलाई नै आधार मानेर नेपालले लामो समयसम्म पनि जलविद्युत्को क्षमताको बारेमा मानक बनाएका थिए ।

हिमालयन पावरले त्यत्ति मात्रै भनेन ५ खर्ब लगानी गर्ने हो भने १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिासपानी बनाउन सकिन्छ । त्यसबाट हिउँदमा खानेपानी, सिँचाइ, पर्यापर्यटन तथा नेपालले भारतलाई पानी उपलब्ध गराएपनि ठूलो मात्रामा रकम कमाउन सक्छ भन्ने बताएको थियो । सोही आधारमा धेरै नेताले आफ्नो राजनीतिक रोटी पनि सेके । चुनाव जित्ने मेसो पनि मिलाए । 

कर्णालीमा ठूलो आयोजना बन्ने भयो, सुदूरपश्चिम र मध्यपश्चिमको मुहार फेरिने तर्क पनि गरे । काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले त धेरै पटक सोही आयोजनाको नाम लिएर सुदूरपश्चिममा राजनीतिको सत्ता पनि चलाए । तर आयोजना भने जहाँको तही मात्रै रहन पुग्यो । 

हिमालयन पावरले प्रतिवेदन दिएको पनि हाल ३० वर्ष पूरा भइसकेको छ । हरेक वर्ष सरकारले तयार पार्ने वार्षिक नीति तथा कार्यक्रममा कर्णाली चिसापानीको विषय परेकै हुन्छ । कहिले अध्ययन गर्ने, कहिले प्राविधिक तयारी गर्ने त कहिले निर्माण सुरु नै भयो भने जसरी सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय समावेश गरिएको हुन्छ । चालु आवको बजेटमा समेत सो विषय समावेश छ । 

आगामी आवको बजेटमा समेत ठूला आयोजनाको अध्ययन गरी निर्माण सुरु गर्ने भन्दै सोही आयोजनालाई समेत समावेश गरिएको छ । जानकारहरुका अनुसार ०४६ साल पछिका निती तथा कार्यक्रम र बजेटमा सो आयोजना समेटिएकै छ । चालु आवको बजेटमा पनि आयोजनाको प्रारम्भिक कार्य सुरु गरिने विषय समावेश थियो ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समेत सो आयोजनालाई आगामी ५ वर्षभित्र सो आयोजनाको विस्तृत अध्ययन गरी वित्तीय व्यवस्थापन गर्ने र अगाडि बढाउने लक्ष्य राखिएको थियो । तर सो आयोजना नेपालका लागि हालसम्म पनि आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ 

प्रतिक्रिया दिनुहोस