एक लाख पैँतीस हजार जनाले गरे केवलकारमा यात्रा, यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १६ : १६
एक लाख पैँतीस हजार जनाले गरे केवलकारमा यात्रा, यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय

चितवन । मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन् ।  केवलकारमा यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय छन् ।
कम्पनीले सडकमार्गबाट आउने भारतीयका लागि वेसस्टेशनमा खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएको छ। केवलकार संचालनमा आएपछि एक महिनामा यति धेरै जनाले यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ।

‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार यात्रा गर्ने अहिलेसम्मकै सबैभन्दा बढी हो’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षमा १२ लाखले केवलकारको यात्रा गर्ने सम्भावना छ । जेठसम्ममा ११ लाख यात्रुले केवलकारको यात्रा गरिसकेका छन् ।’ 
मनकामना मन्दिर पुर्ननिर्माणपछि केवलकारमा यात्रा गर्ने समेत थपिएका छन् । पछिल्लो समयमा यात्रुको चाप बढ्न थालेपछि कम्पनीले केही महिना अघि तीन वटा गोन्डोला९डिब्बा० थपेको थियो। गोन्डोला थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ ।
मनकामना दर्शनका लागि नेपालीबाहेक भारतीय पर्यटक समेत उल्लेख्य आउँछन् । ‘हामीले भारतीय पर्यटकलाई लक्षित गरेर खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएका छौं । उनीहरुले त्यही खाना पकाउने र मनकामना दर्शन गर्न जाने गर्छन्’ श्रेष्ठले भने, ’त्यो व्यवस्थाले समेत भारतीय पर्यटकको आकर्षण बढेको हो ।’

प्रतिक्रिया दिनुहोस