सोबिताको मान्छे समातिएपछि रास्वपामा हंगामा, छुटाउन दवाब

सफल खबर संवाददाता

बुधबार, २० फागुन २०८२, १६ : ३२
सोबिताको मान्छे समातिएपछि रास्वपामा हंगामा, छुटाउन दवाब

भरतपुर । चितवन क्षेत्र नम्बर ३ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमका अत्यन्तै विश्वासपात्र पक्राउ परेपछि रास्वपाभित्र ठूलो हंगामा मच्चिएको छ । चुनावको मुखमा आफ्ना भित्रिया नै गम्भीर साइबर अपराधमा समातिएपछि विक्षिप्त बनेको रास्वपाले उनलाई जसरी पनि छुटाउन प्रहरीलाई नै प्रत्यक्ष दबाब र धम्की दिन थालेको तथ्य बाहिरिएको छ । 

यस घटनाले सुशासनको चर्को नारा लगाउने ‘घण्टी’ भित्रको सक्कली अनुहार र सोबिता गौतमको राजनीतिक हतकण्डा पूर्णरुपमा उदाङ्गो पारेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले फागुन २० गते एक प्रेस विज्ञप्ति नै जारी गर्दै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा भरतपुर महानगरपालिका वडा नं. १६ बस्ने नन्द प्रसाद भट्टलाई पक्राउ गरेको हो । निर्वाचनका बेला सामाजिक सञ्जालमा अफवाह फैलाउने र भारतीय प्रधानमन्त्रीको 'एआई जेनेरेटेड डिप फेक' भिडियो पोष्ट गरी समाजमा घृणा, द्वेष र भ्रम फैलाएको गम्भीर आरोप भट्टमाथि छ । नेपाल प्रहरीको साइबर ब्युरोको प्राविधिक सहयोगमा उनलाई भरतपुर–१० बाट नियन्त्रणमा लिइएको डीएसपी तथा सूचना अधिकारी रबिन्द्र खनालले पुष्टि गरेका छन् ।

पक्राउ परेका यी नै भट्ट उम्मेदवार सोबिता गौतमका एक रणनीतिकार, चुनाव प्रचारक र उनका प्रमुख 'रक्षाकवच' हुन् । चितवन क्षेत्र नम्बर ३ मा   सोबिताले चुनाव जित्नकै लागि यस्तै गलत र आपराधिक मानसिकता भएका पात्रलाई बोकेको भन्दै अहिले चितवनभर उनको चर्को आलोचना भइरहेको छ । 

जनताको मन जित्न नसकेपछि अनेकन भ्रम फैलाउने, नक्कली भिडियो बनाएर प्रोपोगान्डा मच्चाउने र त्यसकै आडमा कृत्रिम चुनावी माहोल बनाउने सोबिता र उनका प्रचारकको घिनलाग्दो हतकण्डा अन्ततः प्रहरी खोरमा पुगेर टुंगिएको छ । यस्ता भ्रम उत्पादकलाई आफ्नो सबैभन्दा नजिकको विश्वासपात्र बनाएर हिँडेकी सोबिताको असलियत चुनावको मुखमा छताछुल्ल भएको छ ।

आफ्ना मुख्य मान्छे र भ्रमको खेती गर्ने मेसिन नै प्रहरीको फन्दामा परेपछि यतिबेला रास्वपाको सिंगो पंक्ति अत्तालिएको छ । स्रोतका अनुसार पक्राउ परेका भट्टलाई बिना कारबाही तुरुन्त छाड्न भन्दै घण्टीका नेताहरूले आईजीपी दानबहादुर कार्कीलाई निरन्तर फोन गरेर चर्को दबाब र धम्की दिइरहेका छन् । एकातिर सुशासन र विधिको शासनको चर्को भाषण गर्ने, अर्कोतिर आफ्ना आपराधिक पृष्ठभूमिका कार्यकर्ता जोगाउन सिंगो प्रहरीलाई नै धम्क्याउने रास्वपाको यो दोहोरो चरित्रले उनीहरुको चरम पाखण्डपन पुष्टी गरेको छ ।