उद्योगमन्त्री यादवले भन्सार प्रमुखलाई भने, प्रहरीसँग मिलेर कति सामान वारपार गराउनु हुन्छ ?

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, १६ : ३०
उद्योगमन्त्री यादवले भन्सार प्रमुखलाई भने, प्रहरीसँग मिलेर कति सामान वारपार गराउनु हुन्छ ?

राजविराज । उद्योगमन्त्री मातृकाप्रसाद यादवले सप्तरीका सिडिओ सुरेन्द्र पौडेलको निवासमा शनिबार आयोजित छलफल कार्यक्रममा कर्मचारीको झाँको झारेका छन् ।

उनले राजनीतिक दलका नेताको जस्तो भाषण नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । कर्मचारीहरूले स्थानीय समस्या र नीतिगत सुधारका विषयमा कुरा उठाएपछि मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले सप्तरीको उद्योग र उत्पादन संकटमा परेको भन्दै सुझाव प्रस्तुत गरे । त्यसपछि मन्त्री यादवले उनीसँग सप्तरीमा कति उद्योग छन् भनी डाटा मागे। साहले आफूसँग आधिकारिक तथ्यांक नभएको बताए ।

मन्त्री यादवले कर्मचारी सरकारको प्रतिनिधि भएकाले तथ्यमा आधारित भएर बोल्न कर्मचारीलाई सुझाए । अधिकांश सरकारी कार्यालयमा तथ्यांक अभाव हुने गरेकाले अब तथ्यांक संकलन गर्न उनले निर्देशन पनि दिए । ‘समस्या के होरु, त्यसको आधिकारिक डाटा तयार पार्नोस्। अर्को पटक आउँदा म त्यो डाटा हेर्छु,’ उनले भने ।

लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले केही दिनअघि सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत गरिएको विषयलाई घरेलुका प्रमुख साहले यहाँ राखेको र त्यस विषयमा आफूले थप प्रष्ट्याउने भन्दै मन्त्रीको चित्त बुझाए । जिल्ला भन्सार कार्यालय सप्तरीका प्रमुख अभिशेक कण्ठले भन्सार कार्यालयमा सामान परीक्षण गर्ने प्रविधिको अभाव भएको र काम गर्न समस्या भएको गुनासो गरे। 

खुला सिमानाका कारण राजस्व असुली पनि प्रभावित भएको उनले स्मरण गराए। मन्त्री यादवले उनलाई बीचमै रोकेर ‘खुल्ला सिमाना आजको समस्या होइन र तपाईंको जिल्लामा मात्रै पनि होइन’ भन्दै ‘तपाई र प्रहरी मिलेर कति समान वारपार गराउनु हुन्छरु’ भन्दै प्रश्न गरे। यस विषयमा पनि सिडिओ पौडेलले मन्त्रीलाई रोकेर आफूले थप कुरा प्रस्ट पार्ने बताए । 

कर्मचारीहरूप्रति मन्त्री कडा रुपमा प्रस्तुत भएपछि सिडिओ पौडेलले कार्यक्रमलाई रोकेर पत्रकारलाई बाहिर निस्कन निर्देशन गरे । यो कर्मचारीहरूसँगको आन्तरिक छलफल भएकाले कार्यक्रम सकिएपछि पत्रकारसँग छुट्टै कुरा गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस