सफलताको कथा

कोरियाबाट फर्केपछि बंगुर पालेर स्वरोजगार बने चितवनका युवा

बुधबार, १० माघ २०७४, १२ : १२
कोरियाबाट फर्केपछि बंगुर पालेर स्वरोजगार बने चितवनका युवा

चितवन । भरतपुर महानगरपालिकाको विभिन्न वडामा बस्ने आठ जना जोशिला र आँटिला युवाले कोरियामा पाँच वर्षभन्दा बढी समय कारखानामा श्रम खर्चेर फर्केपछि अहिले स्वदेशमै केही गर्ने आँट गरेका छन् । उनीहरुले नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर सात गैरीमा बंगुर फार्म सञ्चालन गरेका हुन् ।

विदेशको कमाईलाई स्वदेशी भूमिमा लगानी गर्दै आफ्नो पसिना आफ्नै देशका लागि खर्चने उद्देश्य बोकेका यी युवाले सामूहिक प्रयासले सफलता पाउने आशा लिएका छन् । गैँडाकोटको गैरीमा नारायणी लाइभस्टक फार्म खोलेर बंगुर पालेका आठ जना युवाले कोरियामै रहेका र कोरियाबाट नेपाल फर्केका अन्य ३२ जनालाई समेटेर फार्म सञ्चालन गरेका हुन् । ४० जनाले सुरुमा २० लाख रुपैयाँ जुटाएर ४० वटा बंगुर पाल्न सुरु गरेको फार्ममा अहिले तीन सय वटा बंगुर छन् । तीन सयमध्ये बच्चा र मझौला बंगुर दुई सय र ठूला र माउ बंगुर एक सय वटा छन् ।

दुई दिनको बच्चादेखि तीन वर्षसम्मका बंगुर छन् फार्ममा । सबैभन्दा ठूलो बंगुर एउटै एक सय ५० किलोको छ । सामूहिक लगानी एक करोड रुपैयाँ पुगेको छ । भरतपुर महानगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने डम्बरबहादुर राना, दुर्गाप्रसाद सापकोटा, गगनकेशरी अधिकारी, राजीव गुरुङ, युवराज श्रेष्ठ, जगत गुरुङ, इन्द्रप्रसाद न्यौपाने र लालबहादुर श्रेष्ठ हरेक दिन फार्ममा खटिन्छन् । रातको समयमा रेखदेख गर्नका लागि चार जना आवासीय कर्मचारी रहेका छन् । एक जना प्रबन्धकले दानाको जोहो र औषधि, उपचारको व्यवस्था मिलाउँछन् ।

पाठापाठी हुर्काउन ब्लकले घेरेका साना २० वटा कोठा बनाइएको छ । सुत्केरी बंगुर राख्ने १० वटा कोठा छन् । चार वटा भाले रहेको फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ । वार्षिक २४ हजार रुपैयाँ भाडा तिर्ने गरी दस वर्षको लागि भाडामा लिइएको ६ कठ्ठा जमिनलाई तारबार र टिनले घेरेर फार्म बनाइएको छ । बंगुर पाल्नको लागि निर्माण गरिएको फार्ममा परम्परागत खोर नभई जीआई पाइप प्रयोग गरेर ७० वटा आधुनिक केज बनाइएको छ । केजमा पानीको पाइप जडान गरिएको छ, जसबाट निरन्तर पानी स्वचालितरुपमा उपलब्ध हुन्छ । बंगुरले पानीको पाइपमा जोडिएको प्वाइन्टमा मुख लगेपछि पानी आफैँ आउँछ । दानाको लागि भने केजको अगाडिको भागमा डुँड बनाइएको छ ।

आधुनिक फार्ममात्र नभई बधशाला, मासु बिक्री केन्द्र र बंगुरको मात्र परिकार पाइने रेष्टुराँ सञ्चालनसम्मको योजना बुनेका छन् उनीहरुले । लगानी बढाएर तीन करोडसम्म पु¥याइने उनीहरु बताउँछन् । कोरियाबाट नेपाल फर्केका र कोरियामा अहिले पनि काम गरिरहेका गरी ४० जनाको चितवन कोरिया पुनर्मिलन समाज गठन गरेर बंगुरको गोठदेखि मासुका परिकार ग्राहकको ओँठसम्म पु¥याउन चितौने युवाहरु कम्मर कसेर लागेका छन् ।

‘एक्लै काम गर्नुभन्दा सामूहिकरुपमा काम गर्दा प्रभावकारी हुने र आर्थिक भार पनि कम पर्ने भएकोले फार्म खोलेर बंगुर पाल्न सुरु गरेका हौँ’ समाजका अध्यक्ष डम्बरबहादुर रानाले भने, ‘अब बधशाला, मासु बिक्री केन्द्र र बंगुरको मासुका परिकारमात्र पाइने रेष्टुरेण्ट सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।’ माघ महिनाभित्र बधशाला र मासु बिक्री केन्द्र सञ्चालनमा ल्याइने उनले बताए । यसवर्षको चैतसम्ममा रेष्टुराँ पनि सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनको भनाइ छ ।

जमघटमा जुक्ति
कोरियाबाट फर्केका चितवनका युवा अठार महिनाअघि पटिहानीको सीतामाईमा वनभोज खान पुगे । त्यही जमघटमा बंगुरपालन फार्मदेखि रेष्टुरेण्ट सञ्चालनसम्मको नवीन काम गर्ने जुक्ति जुरेको बताउँछन् समितिका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा । ‘कोरियामा बस्दा एकअर्काबीच चिनजान भयो । कोरियामा साथीहरुबीच हुने जमघटमा स्वदेश फर्केपछि केही नौलो काम गर्ने सल्लाह गरेका थियौँ’ विगतका दिन सम्झँदै सापकोटाले भने, ‘पिकनिकमा जम्मा भएका साथीहरुबीच सामुहिकरुपमा केही गरौँ भन्ने सल्लाह भएपछि बंगुर फार्म खोल्ने, क्रमशः बधशाला, मासु बिक्री केन्द्र र रेष्टुरेण्ट सञ्चालन गर्ने निष्कर्षमा पुग्यौँ ।’ सापकोटाले गोठदेखि ग्राहकको ओँठसम्म स्वस्थ्यकर मासुका परिकार पु¥याउने लक्ष्यमा पुगेरै छाड्ने अडान व्यक्त गरे ।

समाजका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरियाबाट फर्केका आठ जनाले पचास प्रतिशत र कोरियामा रहेका तथा कोरियाबाट नेपालमा फर्केका अन्य ३२ जनासहित ४० जनाको समूहले पचास प्रतिशत लगानी गरिरहेको र प्रतिफल पनि लगानीको अनुपातमा बाँडिने जानकारी दिए । उनका अनुसार, फार्मभित्र केजसहितको ब्लक निर्माणमा २५ लाख रुपैयाँ लगानी भएको छ । दानामा मासिक चार लाख रुपैयाँ खर्च हुने गरेको छ । फार्ममा दैनिक ठूला बंगुरले दुई किलो, सुत्केरी बंगुरले तीन किलो र हुर्कंदै गरेका बंगुरले एकदेखि दुई किलो दाना खान्छन् ।
समाजका सचिव गगनकेशरी अधिकारीले फार्ममा नै दाना तयार गरी बंगुरलाई खुवाउने गरेको जानकारी दिए । ‘मकैको पिठो, ढुटो, चोकर, नुन, भिटामिन र मिनरल मिसाएर दाना तयार पार्छौं’ उनले भने, ‘फार्ममा रहेका बंगुरलाई बिहान र बेलुका गरी दुईपटक दाना खुवाइन्छ ।’

यसरी हुर्काइन्छ पाठापाठी
फार्ममा मासुको लागि पालिने ड्युरो, योर्कसायर, हेम्सायर र ल्याण्ड्रेस जातका बंगुर पालिएको छ । फार्ममा जन्मेका पाठापाठी ३५ देखि ४० दिनसम्म माउसँगै राखिन्छ । त्यसपछि माउबाट छुटाएर पाठापाठी राख्ने कोठामा दाना खुवाएर हुर्काइन्छ । बच्चा जन्मेको तीन दिनभित्र दाँत काट्ने तथा भिटामिन र आइरनको सुई दिने काम हुन्छ । दसदेखि १५ दिनभित्र नपुंसक बनाउने र तीन महिनाको पुगेपछि लुतो र जुकाविरुद्ध सुई दिइन्छ । ६ महिना कटेपछि स्वाइन फिबर (ज्वरो) र खोरेतको सुई पहिलो डोज लगाएपछि प्रत्येक वर्ष निरन्तर दिनुपर्छ । अरुबेला रोग अनुसारको औषधि र उपचार गरिन्छ । प्रत्येक महिना पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेको समितिका सदस्य लालबहादुर श्रेष्ठ बताउँछन् ।

समाजका सहसचिव राजीव गुरुङका अनुसार, फार्ममा लगानी गरेका ४० जनामध्ये चार जनाले कोरियामा रहँदा बंगुर फार्ममा नै काम गरेका थिए । अन्यले भने विभिन्न कारखानामा दुःखपूर्ण काम गरेका थिए । कोरियामा रहँदा आफूहरु सबै चितवन सम्पर्क समितिमा आवद्ध रहेको बताउँछन् । यो समितिले भूकम्पका बेला चितवनका भूकम्पपीडित २२ घर परिवारलाई जस्तापाता बाँडेको थियो । समितिले चितवनका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस