Safal Khabar - कांग्रेससँग कति छ सम्पत्ति ? (देशभरका चल–अचल सम्पत्ति विवरणसहित)
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
कांग्रेससँग कति छ सम्पत्ति ? (देशभरका चल–अचल सम्पत्ति विवरणसहित)
प्रतिपक्षी कांग्रेससँग झण्डै ५ करोड नगद, देशभरका करिब ६५ जिल्लामा आफ्नै पार्टी कार्यालय
शुक्रबार, २४ जेठ २०७६, १० : १०
कांग्रेससँग कति छ सम्पत्ति ? (देशभरका चल–अचल सम्पत्ति विवरणसहित)

काठमाडौं । प्रतिपक्षी कांग्रेस संसदमा कमजोर देखिएपनि सत्तारुढ दल नेकपा भन्दा पार्टीको आन्तरिक स्रोत साधानमा भने कमजोर छैन । तत्कालिन दुई पार्टी मिलेर नेकपा बनेपछि उसले देशभरका सम्पत्ति एकीकृत गर्ने, अभिलेख राख्ने र केन्द्रीय कार्यालयलाई विवरण बुझाउने जिम्मा प्रदेश कमिटिलाई नेकपाले दिएको छ ।

जसकाकारण पनि नेकपासँग अहिले नै उसको सम्पत्ति विवरण कति छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । तर प्रतिपक्षी काग्रेससँग भने नगद देखि भौतिक सम्पत्ति सम्मको तथ्यांकको अनौपचारिक सूचि मात्र केन्द्रीय कार्यालयसँग रहेको देखिन्छ । यकिन तथ्यांक काग्रेसले पनि अझै जम्मा गरिसकेको छैन ।

जति काग्रेससँग भौतिक सम्पत्ति छ, त्यसमा काग्रेस कमजोर भने देखिदैन । काग्रेससँग झण्डै ५ करोड बढी त  बैँक ब्यालेन्सनै रहेको केन्द्रीय कार्यालयका एक सदस्यले बताए ।

क्रियाशील सदस्यताको शुल्क र सांसदबाट उठाएको रकम र केही सहयोगीहरुबाट प्राप्त आर्थिक सहयोगबाट काग्रेसले यो रकम उठाएको हो । कांग्रेसले प्रतिसांसद पाँच हजार लेबी लिन्छ । पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो । नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ । १२ औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा अहिले करिब पाँच लाख क्रियाशील सदस्य रहेको काग्रेस केन्द्रीय कार्यलयले बताएको छ ।

यसरी क्रियाशिल सदस्यबाट उठ्ने रकम पनि काग्रेसको आम्दानीको बलियो स्रोत हो । कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ । ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन काग्रेससँग छ । काठमाडौंंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ । त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन् । काग्रेससँग करिब ६५ जिल्लामा आफ्नै पार्टी कार्यालय रहेको अनुमान लगाउन सकिन्छ ।

कुन जिल्लामा कति सम्पत्ति ?

ताप्लेजुङ : सदरमुकाममा तीन रोपनी जग्गा र एकतले निर्माणाधीन भवन

पाँचथर : जग्गा छ, भवन छैन

इलाम: जग्गा छैन, भाडामा कार्यालय

झापा : तीन सय र एक सय मान्छे अटाउनसक्ने हलसहितको तीनतले भवन र जग्गा

संखुवासभा : दुई वर्षअघि ५० लाखमा किनेको भवन

तेह्रथुम : पक्की भवन

भोजपुर : जग्गा छ, भवन छैन

धनकुटा : डेढ सय कार्यकर्ता अट्न सक्नेसहितको तीनतले भवन

मोरङ : विराटनगरमा तीन कट्ठा जग्गामा अढाइतले भवन, २० वर्षअघि नै बनेको कार्यालय भवनमा दुई सयजनासम्म अट्ने हल

सुनसरी : इनरुवाको पाँच कट्ठा जग्गामा एकतले भवन

सोलुखुम्बु : ०५१ मै निर्माण गरिएको तीनतले भवन

खोटाङ : एकतले भवन

ओखलढुंगा : नौ आना जग्गा, भवन छैन

उदयपुर : सवा कट्ठामा बनेको एकतले घर

सप्तरी : एकतले भवन

सिरहा : दुईतले भवन छ, एकतले भवन ०६३ मा सात लाखमा किनेर कांग्रेसले अर्को तला थपेको हो

दोलखा : जग्गा छ, भवन छैन

रामेछाप : ०५३ मा किनेको साढे दुई रोपनी जग्गा मात्र

सिन्धुली : एकतले पक्की भवन बन्दै छ

धनुषा : एकतले भवन

महोत्तरी : दुईतले भवन

सर्लाही : दुई कट्ठा जग्गामा बनेको आठकोठे भवन, ०६८ मा ५० लाखमा किनेको ।

रसुवा : केही छैन

धादिङ : १३ आना जग्गा छ, भवन छैन

नुवाकोट : विदुरमा चार रोपनी जग्गामा बनेको दुईतले भवन

काठमाडौं : ज्ञानेश्वरमा चारतले भवन

भक्तपुर : अनन्तलिंगेश्वर नगरपालिकामा तीन आना जग्गा, भवन छैन

ललितपुर : नख्खिपोटमा आधा रोपनी जग्गामा अढाइतले भवन रहे पनि विवाद छ

काभ्रे : बनेपामा सात आना तीन पैसा जग्गा

सिन्धुपाल्चोक : चौतारामा सात आना जग्गा, भवन छैन

मकवानपुर : डेढ कट्ठा जग्गामा तीनतले भवन

रौतहट : केही छैन

बारा : भवन छ ।

पर्सा : केही छैन

चितवन : पाँचतले भवन, एक तला भाडामा दिइएको ।

गोरखा : चारतले भवन

मनाङ : केही छैन

लमजुङ : तीन आनामा बनेको भवन

कास्की : चिप्लेढुंगामा तीन रोपनी जग्गा, साढे दुई तलाको भवनसँगै १५ वटा सटरबाट मासिक करिब दुई लाख रुपैयाँ भाडा उठ्छ

तनहुँ : दमौलीमा १० आना जग्गामा निर्मित भवन, तनहुँ कांग्रेसले साढे १३ लाखमा ०५० मा किनिएको जग्गामा तीन करोड लागतमा भवन बनाएको हो, हाल मासिक ५० हजार रुपैयाँ भाडा आउँछ, थप कोठा भाडामा दिएपछि आगामी दिनमा मासिक एक लाख प्रतिमहिना आम्दानी हुने कांग्रेसले जनाएको छ 

स्याङ्जा : पुतलीबजार नगरपालिकामा डेढ रोपनी जग्गामा बनेको साढे तीनतले भवन

गुल्मी : सदरमुकाममा दुई रोपनी जग्गा र दुईतले पक्की भवन

पाल्पा : तानसेनमा पाँच आना जग्गा र दुईतले भवन

अर्घाखाँची : १४ आना जग्गा र दुईतले भवन, भवनमा राखिएको एनसेलको टावरको भाडाबाट मासिक सात हजार रुपैयाँ आम्दानी

नवलपरासी : दुईतले पक्की भवन बन्दै छ

रूपन्देही : तीनतले भवन

कपिलवस्तु : जिल्ला समितिको आफ्नै भवन बन्दै छ, दुई निर्वाचन क्षेत्रमा पनि भवन

मुस्ताङ : केही छैन

म्याग्दी : बेनीमा पाँच आना जग्गामा दुईतले पक्की भवन निर्माण हुँदै छ

बाग्लुङ : प्लटिङ गर्नेले दलहरूलाई दिएको जग्गा छ

पर्वत : १४ आना जग्गा र भवन निर्माणाधीन

रुकुम : मुसिकोटमा पुरानो भवन, पक्की भवन बनाउने तयारी

रोल्पा : जग्गा छ, भवन छैन

प्युठान : केही छैन

सल्यान : शारदा नगरपालिका–२ मा आठ आना जग्गा र दुईतले पक्की भवन

दाङ : एक कट्ठा जग्गामा १० कोठा रहेको दुईतले भवन

डोल्पा : केही छैन

मुगु : गमगढीमा आठ आनाको घडेरी

हुम्ला : दुईतले भवन बन्दै छ

कालिकोट : मान्मामा चार आना जग्गा

जुम्ला : पक्की भवन

जाजरकोट : केही छैन

सुर्खेत : एक कट्ठा जग्गामा तीनतले भवन

दैलेख : दुुईतले भवन

बाँके : दुईतले भवन

बर्दिया : दुई कट्ठा जग्गामा एकतले भवन

बाजुरा : डेढ रोपनी जग्गा

अछाम : जग्गा छ, भवन छैन

बझाङ : केही छैन

डोटी : सदरमुकाममा दुईतले भवन

कैलाली : पक्की भवन

दार्चुला : आठ आना जग्गामा तीनतले भवन

बैतडी : सात वर्षअघि आठ लाखमा किनिएको भवन

डडेल्धुरा : अढाइतले भवन र एक रोपनी जग्गा

कञ्चनपुर : तीन रोपनी जमिन र एकतले भवन

प्रतिक्रिया दिनुहोस