दोलखा । गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा।.नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो। दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा (वैज्ञानिक नाम अन्सिया अन्सिया)को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो।
गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा. कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका (तत्कालीन लामाबगर गाविस)मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो।
सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख उपप्राध्यापक डा। कोजुले बताउनुभयो। यो तस्वीर रेकर्डले लप्ची उपत्यकामा हिउँ चितुवा रहेको कुरा आधिकारिकरूपमा पुष्टि गरेको डा. कोजु दाबी गर्नुहुन्छ।
लप्ची उपत्यका चीनको तिब्बत र नेपालको पूर्वपश्चिम जाने राम्रो ट्रान्जिट प्वाइन्ट भएकाले पनि यो क्षेत्रमा हिउँ चितुवाको उपस्थिति राम्रो रहने अनुमान गर्न सकिने डा। कोजुले बताउनुभयो।
अनुसन्धानका क्रममा डा. कोजुको टिमले लप्ची उपत्यकाको उच्च भेगमा समेत गरी १३ वटा क्यामेरा जडान गरेको थियो। २०७५ असोजदेखि २०७६ वैशाखसम्म क्यामेराले रेकर्ड गरेको तस्वीर तथा श्रव्य–दृश्यमार्फत हिउँ चितुवालगायत अन्य दुर्लभ जीवजन्तुका बारेमा समेत जानकारी प्राप्त भएको संरक्षण क्षेत्रले जनाएको छ।
यसअघि हिउँ चितुवा हिँडेको डोब आदिले लप्ची उपत्यकामा यसको अस्तित्व रहेको अनुमान गरिँदै आएको थियो। शुरूशुरूमा क्यामेरा ट्रापिङले थार, हिउँ चितुवाका आहारा अन्य जनावरको तस्वीर रेकर्ड गरेको थियो।
‘यसले हिउँ चितुवाका बारेमा गरिएको अनुसन्धानमा उत्साह जगाएको थियो’, डा। कोजुले भन्नुभयो– ‘२०७५ मंसिरमा तस्वीर नै रेकर्ड भएपछि भने हिउँ चितुवा रहेको आधिकारिक पुष्टि भएको छ।’
मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने हिउँ चितुवा दुर्लभ प्रजातिको जनावरमा पर्दछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूचि १ मा हिउँ चितुवालाई अन्तराष्ट्रिय संरक्षण संघ आईयूसीयनले समेत दुर्लभ प्रजातिमा सूचिकृत गरेको छ।
हिउँ चितुवा नेपाल, पाकिस्तान, चीन, रुस, काजकास्तान, भारतलगायत १२ मुलुकमा मात्र रहेको अनुमान गरिएको छ। विश्वरभर चारदेखि सात हजारको संख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ। नेपालमा हिउँ चितुवाको संख्या तीनदेखि ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ।
दोलखाको लप्ची उपत्यकामा यसको संख्या तीनदेखि पाँचवटा सम्म हुनसक्ने अनुमान गरिएको अनुसन्धानमा संलग्न गौरीशङ्कर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले बताउनुभयो।
गौरीशङ्कर संरक्षण क्षेत्रले बुधवार पत्रकार सम्मेलन नै गरेर लप्ची उपत्यकामा हिउँ चितुवा रहेको आधिकारिक जानकारी दिएको छ। पत्रकार सम्मेलनमा संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले संरक्षण क्षेत्र स्थापना भएको नौ वर्षको अवधिमा हिउँ चितुवाको अस्तित्व आधिकारिक रूपमा पुष्टि हुनु सबैभन्दा ठूलो उपलब्धि रहेको बताउनुभयो। शाहले अब आयोजनाले दोलखाको रोल्वालिङ उपत्यकामा समेत क्यामेरा ट्रापिङ अभियान सञ्चालन गर्ने बताउनुभयो।
कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले लप्ची तथा रोल्वालिङ उपत्यकामा जैविक विविधताका विभिन्न जीवजन्तु तथा जडिबुटी रहेकाले यसको संरक्षणका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २३ जेठ २०७६, ०८ : १८
लेखकबाट थप