काठमाडौँ । १२ वैशाख ०७२ को भूकम्पपछि बन्द नेपाल–चीन मुख्य नाका तातोपानी बुधबारदेखि खुल्दै छ । भूकम्प र २१ असार ०७३ को भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुल, लार्चास्थित सुक्खा बन्दरगाह र कोदारी सडक चीनले पुनर्निर्माण गरिदिएपछि नाका खुल्ने भएको हो । नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, चिनियाँ राजदूत होउ यान्छी र तिब्बत सरकारका प्रतिनिधिको उपस्थितिमा बुधबार नाकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
भूकम्पलगत्तै नाका बन्द गरिए पनि खासामा अड्किएका नेपाली व्यापारीका तीन सयभन्दा बढी कन्टेनर नेपाल पठाउन १५ साउन ०७२ मा एक साताका लागि नाका खुला गरिएको थियो । नाका सञ्चालनका लागि अध्यागमन, भन्सार र क्वारेन्टाइनका कर्मचारी पूर्ववत् काममा खटिसकेका छन् । तत्काल परीक्षणका रूपमा नाका सञ्चालन गरिनेछ । नाका खुलेपछि सीमाक्षेत्रका बासिन्दा उत्साही भएका छन् ।
मंगलबार तातोपानी नाका निरीक्षणका लागि आएकी नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीले स्वतन्त्र तिब्बतको मुद्दामा गम्भीर बन्न नेपाललाई आग्रह गरेकी छिन् । काठमाडौंबाट अरनिको राजमार्ग हुँदै तातोपानी आएकी याङ्छीले भोटेकोसी गाउँपालिकाले आयोजना गरेको छलफलमा दुई घन्टा सहभागी हुँदै नाकाको सुरक्षाबारे चासो राखेकी हुन् ।
‘स्वतन्त्र तिब्बत मुद्दामा मिलेर काम गर्न जनप्रतिनिधि र नेपाल सरकारलाई विनम्रपूर्वक आग्रह गर्छु,’ उनले भनिन्, ‘सीमा सुरक्षामा चीनको गम्भीर चासो छ । चीन र नेपालबीचको सम्बन्ध अझ उचाइमा पुर्याउन मिलेर काम गर्नुको विकल्प छैन ।’ बुधबारबाट औपचारिक रूपमा नाका खुले पनि सुरुमा सामान ओसार्ने मालवाहक गाडी र कन्टेनरसँग सम्बन्धित कर्मचारीलाई मात्रै खासा प्रवेशमा अनुमति दिने उनले बताइन् । राजदूत याङ्छीले लार्चास्थित अत्याधुनिक सुक्खा बन्दरगाह, नेपाल–चीन मितेरीपुल र कोदारी राजमार्गको स्थलगत निरीक्षण गरिन् ।
चरणबद्ध बैठक, अनुगमन र निरीक्षण
तातोपानी नाका बन्द रहेको चारवर्षे अवधिमा नेपाल–चीन सरकारी अधिकारीबीच सीमा सुरक्षा र नाका सम्बन्धमा चरणबद्ध बैठक र स्थलगत अनुगमन भएका छन् । भूकम्प गएको आठ महिनापछि ६ पुस ०७२ मा चिनियाँ अधिकारी सिन्धुपाल्चोक सदरमुकाम चौतारा आएका थिए । तिब्बतका सिडिओ पेङ लु वी, तिब्बत सुरक्षा प्रमुख गाओ वान्हा र जनमुक्ति सेनाका कोलोनेल वाङसँग तत्कालीन प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी र नेपाली सेनाका कर्नेल उमेश कार्कीको संयुक्त बैठक बसेको थियो । उनीहरूबीच तातोपानी नाकाबारे विस्तृत छलफल भएको थियो ।
त्यस्तै, दुई देशका अधिकारीबीच त्यसको एक वर्षपछि खासामा पुनः छलफल भएको थियो । सो सीमा सुरक्षा बैठकमा तत्कालीन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको टोलीसँग चिनियाँ राजनीतिक कमिसार कर्नेल वाङ ज्याङ जुले संयुक्त सुरक्षा संयन्त्र ९ज्वाइन्ट कमान्ड मेकानिजम० एजेन्डा प्रस्तुत गरेका थिए । हरेक बैठकमा चिनियाँ अधिकारीले ‘क्रसबोर्डर क्राइम’ नियन्त्रण गर्ने नयाँ उपाय अपनाउन मिलेर काम गर्नुपर्ने बताउँदै आएका थिए ।
हालसम्म सदरमुकाम चौतारा, भोटेकोसी गाउँपालिकाको द लास्ट रिसोर्ट, तातोपानीको स्मल हेभन, खासा र न्यालममा गरी एक दर्जन बैठक सम्पन्न भइसकेका छन् । नेपाल–चीनका सरकारी अधिकारीले पटक–पटक संयुक्त रूपमा नाकाको स्थलगत अनुगमन गरिसकेका छन् । नेपालतर्फ सरकारी अधिकारी र राजनीतिक नेताले पटकपटक कोदारी सडकको स्थलगत अनुगमन गरेका छन् ।
१७ भदौ ०७५ मा ल्हासास्थित महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको पहलमा चीनबाट भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुवाङ्लिउ नेतृत्वमा २० भन्दा बढी चिनियाँ अधिकारी निरीक्षण भ्रमणमा आएका थिए । नेपालबाट अर्थ मन्त्रालय, सडक डिभिजन, गृह मन्त्रालय, भन्सा विभागलगायतका अधिकारी सहभागी थिए । ०७५ को अन्त्यतिर भन्सार विभागकी उपमहानिर्देशक मनमाया पंगेनी र चिनियाँ भन्सार विभागकी उपमहानिर्देशक भाइसी नेतृत्वको टोलीले नाकाको संयुक्त रूपमा अनुगमन गरेको थियो ।
यही जेठ पहिलो साता गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनर्निर्माण सम्पन्न तातोपानी नाकाको भौतिक अवस्थाको निरीक्षण गरेका थिए । गृहमन्त्री थापाले एक चीन नीतिमा प्रतिबद्ध भएर सीमाको सुरक्षा गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
नाका निरीक्षणपछि चिनियाँ राजदूत होउ यान्छीको आग्रह– स्वतन्त्र तिब्बतको मुद्दामा नेपाल गम्भीर बनोस्
स्वतन्त्र तिब्बत मुद्दामा मिलेर काम गर्न जनप्रतिनिधि र नेपाल सरकारलाई विनम्रपूर्वक आग्रह गर्छु । सीमा सुरक्षामा चीनको गम्भीर चासो छ । चीन र नेपालबीचको सम्बन्ध अझ उचाइमा पुर्याउन मिलेर काम गर्नुको विकल्प छैन । औपचारिक रूपमा नाका खुलेको छ । सुरुमा सामान ओसार्ने मालबाहक गाडी र कन्टेनरसँग सम्बन्धित कर्मचारीलाई मात्रै खासा प्रवेशमा अनुमति दिइनेछ । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ जेठ २०७६, ०७ : ५६
लेखकबाट थप