कविता : देश र जनता

आइतबार, ०५ जेठ २०७६, १४ : १९
कविता : देश र जनता

– दिनेश अधिकारी

नचाहेर पनि स्विकार्नु पर्ने 
सन्तानको बाध्यता जस्तो
देश
मेरो बाबु पनि होइन
देश 
मेरी आमा पनि होइन 
सम्झौता हो देशसंगको मेरो सम्बन्ध 
मैले देशको सम्मान गर्नु पर्छ भने
स्विकार्नु पर्छ यसले पनि मेरो महत्ता

होला
झण्डामा पनि देश होला
राष्ट्रियतामा पनि देश होला 
होला 
जल,जमिन र जंगलमा पनि देश होला
भाषा, संस्कृति र भेषभूषामा पनि देश होला
मेरो लागि
देश,मेरो स्वार्थमा जन्मन्छ 
र,मेरो निराशामा मर्छ
देश बाँच्न त
मेरो पौरखले निकाश पाउनुपर्छ
मेरो गौरवले आकाश नाघ्नुपर्छ 
भोको छु भने
मेरो निम्ति भोजन भएर पाक्नु पर्छ यो
नाङ्गो छु भने मेरो शरीरमा लुगा भएर ढाकिनुपर्छ यो

अहिले त
देश भनिने देशभित्रैबाट हराएको छ एउटा देश
र, खोज्दै हिंडिरहेछन् दिनहुँ
हजारौं युवाहरु विदेशमा
र,बगाइरहेछन बालुवामा सरोबरी
पसिना र आफ्ना रक्तकोषहरु
अहिले त
निस्सासिइरहेछन् खुल्ला सडकमा
विद्वान र बुध्दिजिवीहरु
छ्यपिरहेछ कसैले तिनको अनुहारमा कालो
र, दिनप्रतिदिन मैलिँदै गइरहेछन्
तिनका सुकिला मयलपोषहरु

नागरिक हुनुको हैसियत हो मेरो
बुझ्नुपर्छ देशले
मैले हिंड्न छोडेको दिन यसको गति रोकिन्छ 
मैले काँध थाप्न छोडको पल यसको प्रगति सकिन्छ
मैले रमाउन छोडेको समय यसको उर्वरता हराउँछ
मैले चल्मलाउन छोडेको दिन यसको नौनाडी गल्छ
मैले बोल्न छाडेको क्षण यसको पहिचान संकटमा पर्छ
मैले आँसु बगाउन थालेको घडी यसको मृत्युु हुन्छ
फेरि पनि
शिवरात्रिमा आँखा चिम्लेर गाँजा तानिरहेको
फकिरको चेतनाशून्य मस्तिष्क भएर हराइरहेको छ देश
सहनु, कत्ति सहनु यसको अराजकता ?
म सम्पन्नता माग्छु
यो गरिबको प्रमाणपत्र मेरो हातमा थमाएर उत्सव मनाउँछ
म सुरक्षा माग्छु
यो आफैं उब्जाउँछ संकट 
र, मलाई भड्खारोमा पारेपछि
फुर्सदमा सहयोगको आश्वासन पठाउँछ
यस्तो व्यवहार छ यसको
मानौं यो मेरो टाउकोको टुप्पी हो
जत्ति नै झड्कारे पनि मैले आफ्नो शिर
यो टाउकोको टाउकोमै बस्छ
खै१ कसरी सम्झाउनु यसलाईरु
सत्य सधैं एउटै वृत्तमा घुम्दैन
यस्तै हो भने खौरिन सक्छु मैले आफ्नो टाउको
र,मैले टाउको खौरेको त्यो क्षण
आफ्ना यावत् जिद्दीहरुका साथ
एकाएक यो आफ्नै खुट्टामा खस्छ

भो पुग्यो
अब म देश खोजेर हिँडदिन
यसको हरेक उद्दण्डतालाई बिर्सेर
फकाउनु पर्ने बाध्यता छैन मलाई 
देश, मेरो छोरो पनि होइन 
देश, मेरी छोरी पनि होइन 
माया छ भने यसलाई आफ्नो अस्तित्वको
अब मलाई खोज्दै आउनु पर्छ आफैँ यो
नागरिक हुँ म
मेरो स्वार्थलाई बेवास्ता गरेर
देश, कहिल्यै अग्लिन सक्तैन
जनता हुँ म
मेरो स्वार्थलाई बेवास्ता गरेर
देश, कहिल्यै फैलिन सक्तैन l

(नयाँ पत्रिकाको शनिवारीय परिशिष्टाङ्क झन् नयाँको ४ जेठ, २०७६ को अङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस