कविता : भूकम्प २०७२

शनिबार, १४ बैशाख २०७६, १५ : १४
कविता : भूकम्प २०७२

- ऋषिराम पान्डेय

अनायासै धक्का महसुस भयो संशयबिना
सबै तर्से भागे पछिपछि थिएँ चप्पलबिना
कराए चिच्याए सब जति थिए आकुल बनी
सबै हल्लेका थे घर रूखहरू ब्याकुल बनी ।।


ढले सारा बस्ती नयनअघि हाम्रै कतिकति
बन्यो आकाश् जम्मै धुलकण गई बादल सरि
बित्यो होला झण्डै मिनट यसरी एक लयमा
डराएका भन्थे प्रलय अब रोकिन्न जगमा ।।


धरा हल्यो सारा दिनभर पराकम्प कति हो
कसैले जान्थेनन् कतिकति त्यहाँ कम्पन भयो
सबै देख्दा हामी पनि अलि बढी भावुक भयौं
सबैलाई हेर्दै सहज हुन आह्वान् पनि ग(यौं ।।


सुन्यौं हाम्ले बस्दै खबर क्षतिको तन्मय भइ
कतै भत्केका थे भवन त कतै मन्दिर कति
कठै १ त्यत्रो ठूलो खति धरहरा टुक्रिइ ढल्यो
मरे मान्छे थुप्रै जति पनि थिए भित्रतिर जो ।।


भयो बेला सन्ध्या अनि सबजना छटपट गरे
कसैले खानाको तरखर गरे प्लाष्टिक ढुडे
निकाले भत्केका घर छिरि ठिटा सामल सबै
पकाएथे खाना सबतिर मिली आपत कठै ।।


सुत्यौं सँगै हामी जति पनि थियौं आपस मिली
कहाँ निन्द्रा लागोस् जमिनसित काप्थ्यो मन पनि
झनै पानी बर्स्यो तब दुख अहो दोब्बर भयो
यसै सारा रात्री नयन दुई खुल्ला गरि बित्यो ।।


कट्यो रात्री सारा जनतन गरी उम्कन गयो
गयो अर्को धक्का बिचलित भयौं होस गुम भो
ससाना धक्का त छिनछिन गएथे कतिकति
यसै बस्दा मान्छेहरु भ्रमित भै तर्सिरहने ।।


बसाई भो मेरो सबजनसँगै तीन दिनको
गएँ कोठा खोली त्यसपछि भने साहस बढ्यो
म एक्लै कोठामा अरू त सब नै बाहिर थिए
कतै ठूलै धक्का सहनु छ कि भन्ने डर दिए ।।


बसे कोही मैनौंभर पनि यसै संकट खपी
गरेम् हाम्ले सक्ने जति सब मिली मद्दत पनि
गयो तेस्रो धक्का बिचलित भयौं आखिरतक
भयो यो के यस्तो प्रकृति यसरी दुःखित किन ?

प्रतिक्रिया दिनुहोस