विकासका लागि बहस

लगानीमैत्री वातावरणका लागि सार्वजनिक निजी साझेदारी उपयुक्त

शुक्रबार, ०५ माघ २०७४, १६ : ५८
लगानीमैत्री वातावरणका लागि सार्वजनिक निजी साझेदारी उपयुक्त

चितवन । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले विकासका लागि लगानीमैत्री वातावरण बनाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा उपयुक्त हुने बताउनु भएको छ । आयोगले आयोजना गरेको सानिसा सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई शुक्रबार नारायणगढमा सम्बोधन गर्दै डा. श्रेष्ठले यस्तो बताउनु भएको हो ।

एसियाका अन्य मुलुकले सानिसा अन्तर्गत नै विकासको फड्को मारेको जानकारी दिँदै डा. श्रेष्ठले भन्नुभयो, ‘सरकार र निजी क्षेत्रको सोचाईमा परिवर्तन ल्याएर सानिसा अन्तर्गत जनचाहना बमोजिम विकास परियोजना कार्यान्वयन गर्न सकिन्छ । सानिसाबारे सरोकारवालाबीच साझा बुझाई हुनुपर्छ ।’

सानिसा कार्यान्वयनका लागि क्षमता अभिवृद्धि, लगानीमैत्री वातावरण, वित्तीय व्यवस्थापन, इमानदारीपूर्वक कार्यान्वयन र जवाफदेहिता आवश्यक पर्ने उहाँको भनाइ थियो । सानिसा अन्तर्गत कृषि, जलस्रोत, पूर्वाधार, पर्यटन र शहरी विकासलाई प्राथमिकताका पाँच क्षेत्र बनाउनु पर्ने उहाँको सुझाव छ ।

‘भरतपुर महानगरपालिकामा विकासका अथाह सम्भावना छन्’ डा. श्रेष्ठले भन्नुभयो, ‘विकासका परियोजनाका लागि सहयोग गर्न भरतपुर महानगरपालिका राष्ट्रिय योजना आयोगको आँखामा परेको छ ।’ महानगरपालिका जतिसुकै समृद्ध भएपनि खाद्यान्न निर्यातको हैसियत बनाउनै पर्नेमा उहाँले जोड दिनुभयो । ‘शहरी क्षेत्रमा उत्पादनशील हरियालीको विकास गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘घरघरमा फलफूलका विरुवा वितरण गरेर त्यसो गर्न सकिन्छ ।’

आयोगले देशभरका सात सय ५३ वटा स्थानीय तहमा एकीकृत शहरी विकास मापदण्ड पठाउने तयारी गरेको जानकारी दिँदै डा. श्रेष्ठले अब एक शहर एक पहिचानको अवधारणामा स्थानीय तह जानुपर्ने बताउनु भयो । भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्न उपयुक्त हुने उहाँको सुझाव थियो । सबै एकजुट हुने हो भने पाँच वर्षमा भरतपुर नमूना महानगरपालिका बन्न सक्ने उहाँले बताउनु भयो ।

देशको आर्थिक वृद्धिदर छ दशमलव पाँच प्रतिशतमा पुगेको जानकारी दिँदै डा. श्रेष्ठले आगामी दुई वर्षमा यसलाई सात दशमलव दुई प्रतिशत पु¥याउने लक्ष्य लिइएको बताउनु भयो । ‘लक्षित आर्थिक वृद्धिदर हासिल गर्न २४ खर्ब रुपैयाँ आवश्यक पर्छ’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा आर्थिक क्रान्ति ल्याउन सकेमात्र देशले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सक्छ ।’

कार्यशाला गोष्ठीको अध्यक्षता गर्नु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रलाई अलग्याएर विकास गर्न नसकिने बताउनु भयो । उहाँले सानिसाबारे साझा धारणा बनाएर विकास निर्माणका काम गर्नको लागि कार्यशालामा वडाध्यक्ष, कर्मचारी, नगर सभासद, व्यवसायी, उद्योगीलाई सहभागी गराइएको जानकारी दिनुभयो ।

‘नारायणी नदीमा पुल, महानगरमा रिङरोड, सिटी हल, रंगशाला निर्माण, खानेपानी र फोहोर व्यवस्थापनका परियोजनामा निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भारतमा भौतिक पूर्वाधार निर्माणका ठूला परियोजनाहरु सानिसा अवधारणाबाटै सफल भएका छन् । हामी पनि सानिसा अवधारणाबाट विकासका काम गर्न सक्छौँ ।’

विकास निर्माणका लागि निजी क्षेत्रलाई साथमा लिएर लगानी भित्र्याउने काम गरिने दाहालले बताउनु भयो । उहाँले स्थानीय सरकारको तर्फबाट आफूहरुले लगानीको सुरक्षाको ग्यारेण्टी गर्ने बताउनु भयो । देशका ६ वटा महानगरमध्ये भरतपुर देशको केन्द्र भागमा रहेको सम्भावनायुक्त ठाउँ महसुस गरेर योजना आयोगले सानिसा बारेको कार्यशाला नारायणगढमा आयोजना गरेको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीले राष्ट्रको समृद्धिका लागि निजी क्षेत्रलाई पनि सँगै लैजानुपर्ने बताउनु भयो । ‘निजी क्षेत्रलाई बाहिर राखेर देश समृद्ध हुन सक्दैन’ उहाँले भन्नुभयो, ‘कृषिप्रधान देशका हामी कृषि क्षेत्रमै आत्मनिर्भर बन्न सकेका छैनौँ । यो अवस्थाको अन्त्य हुनुपर्छ ।’ वार्षिक कार्ययोजना बनाएर विकासमा अघि बढ्न सकिने उहाँको भनाइ थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मुलुक अब आर्थिक समृद्धिका लागि जुर्मुराइरहेको बताउनु भयो । ‘राजनीतिक अस्थिरता छ, निर्वाचन गर्न बाँकी छ भन्नेजस्ता सबै बहाना सकिएका छन्’ उहाँले भन्नुभयो, ‘अब विकास गर्नैपर्छ, कुनै बहाना चल्नेवाला छैन ।’ सानिसा प्रभावकारी अवधारणा रहेको बताउँदै प्रजिअ भट्टले सरकारकोमात्रै सामथ्र्यले मुलुक समृद्ध हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले विकासका धेरै सम्भावना बोकेको भरतपुर महानगरपालिकालाई सानिसामा आधारित भएर समृद्ध बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले सानिसामा संघ प्रमुख सरोकारवाला रहेको बताउँदै सहकार्यका लागि आफूहरु तयार रहेको जानकारी गराउनु भयो । उहाँले महानगर क्षेत्रको फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न सकिने बताउनु भयो ।

गोष्ठीको प्राविधिक सत्रमा आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले सानिसाको अवधारणा, सम्भावना, चुनौती र भावी दिशाबारे प्रस्तुति दिनु भएको थियो । यसैगरी आयोगको सानिसा शाखाका योजना अधिकृत राममणि काफ्ले, सानिसाविज्ञ पुष्कल श्रेष्ठ लगायतले सानिसा नीति, स्वरुप र कार्यान्वयनबारे प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस