विन्ध्यवासिनी मन्दिरको आधुनिक प्रवेशद्वार शिलान्यास

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १३ : २३
विन्ध्यवासिनी मन्दिरको आधुनिक प्रवेशद्वार शिलान्यास

पोखरा । हिन्दूहरुको आस्थाको केन्द्र विन्ध्यवासिनी मन्दिर पोखरामा आधुनिक प्रवेशद्वार निर्माणको शुभारम्भ भएको छ । शनिबार एक समारोहबीच विन्ध्यवासिनी मन्दिरको प्रवेशद्वार शिलान्यास गरिएको हो ।

चितवन कोई प्रा.लि.का संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा नेवारी सँस्कृति झल्कने गरी मूल प्रवेशद्वार निर्माण गर्न लागिएको हो । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले ७५ लाख रुपैयाँ लागतमा विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेशद्वार निर्माण गर्न लागेको कोषका सचिव राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको चाहना अनुसार विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्वार निर्माण गर्न लागिएको लक्ष्मणबाबु श्रेष्ठ मेमोरियल ट्रष्टले जनाएको छ । ट्रष्टका उपाध्यक्ष एवं चितवन कोई ग्रुपका अध्यक्ष राजुबाबु श्रेष्ठले शनिबार विधिपूर्वक मन्दिरको प्रवेशद्वार शिलान्यास गर्नु भएको हो ।

‘बुबाको चाहना अनुसार हामीले यो गेट बनाउन लागेका हौं। हामीले मौलिक परम्परा झल्किने गेट निर्माणका लागि भक्तपुरका कालिगढलाई जिम्मा दिइसकेका छौं’ मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो । लक्ष्मणबाबुकै सकृयतामा नेपालमा पहिलो केवलकार मनकामना केवलकार स्थापना भएको थियो । मनकामना केवलकारमा वार्षिक १० लाखभन्दा बढी भक्तजन चढेर मनकामना मन्दिर दर्शनका लागि जाने गर्छन् ।

महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिर कसले कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य प्राप्त नभए पनि पूजा सञ्चालन गरिरहेका ब्राह्मणले प्राप्त गरेको सनद तथा लालमोहरबाट कमसेकम तीन सय वर्ष अघि मन्दिर वर्तमान स्वरुपमा निर्माण भइसकेको अनुमान गर्न सकिन्छ । कास्की जिल्लाको मध्यभागमा अवस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ ।

यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार ५५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार ५२५ मिटरको अन्नपूर्ण चौथो, सात हजार ४८५ मिटरको खाङसारकाङ र सात हजार २९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल, छ हजार ९९७ मिटरको माछापुच्छ«े, छ हजार ९८३ मिटरको लमजुङ, छ हजार ४४१ मिटरको घान्द्रुक हिउँचुली र पाँचहजार ७८१ मिटरको मर्दी हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस