प्रश्नको घेरामा पत्रकार

मिडिया र पत्रकारको संख्या बढ्दै जानु तर, साख र विश्वास खस्किनु आजको चुनौति

सोमबार, ०४ चैत्र २०७५, ११ : ०१
प्रश्नको घेरामा पत्रकार

- राजेश मिश्र
कार्यक्रम थियो– ‘नागरिकको नजरमा मिडिया ।’ अध्यक्षता गरिरहेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षलाई सिधा लक्षित गर्दै फ्लोरबाट प्रश्न आयो–‘तपाईको पत्रिकामा नगरप्रमुखलाई आलोचना गरेर कहिल्यै लेख्नसक्नुहुन्छ ?’ प्रश्नमा जोडिएका नगरप्रमुख पनि मञ्चमै आसीन थिए । प्रश्न सोध्नुको कारण थियो– महासंघका अध्यक्ष नगरप्रमुखका प्रेस सल्लाहकार हुनु । र, उनको दैनिक पत्रिकामा नगरपालिका लक्षित नकारात्मक समाचारले स्थान नपाउनु ।
त्यस्तै, सार्वजनिक कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका एकजना सांसदको प्रश्न आयो– पत्रकारहरुको जय नेपाल, अभिवादन कमरेड र लाल सलामको समूहमा जय मधेश पनि थपिएछ । कसले लेखेको समाचार पत्याउने ?  
अर्को प्रसंग, निजी क्षेत्रमा कार्यरत एक उच्च अधिकारीको प्रश्न थियो– ‘पत्रकारलाई कारवाही हुन्न ? जे लेखे पनि छुट ?’ मागेजति विज्ञापन दिन नसक्दा पत्रकारबाट पीडित भएको उनले अनुभव बा“ड्दै थिए ।  
सधैं अर्कालाई प्रश्न सोध्ने पेसा पत्रकारिता । सरकार, सरकारी निकाय, संघ÷संस्था, राजनीतिक दल, नेतादेखि कर्मचारीसम्मलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउने यस पेशाको काम हो । एकजना पत्रकारको दैनिकी नै हो– प्रश्न सोध्ने, स्वस्थ आलोचना/टीकाटिप्पणी गर्ने ।
अरुलाई जिम्मेवार बनाउने भूमिकामा रहने पत्रकार आफै आफ्नो पेशाको अनुशासन, मर्यादा र आचारसंहिताप्रति कति जिम्मेवार ? समाजले प्रश्न उठाउन थालेको छ । पत्रकारले गर्ने काम, उसले छाप्ने वा प्रसारण गर्ने समाचार सामग्री÷कार्यक्रम, व्यक्तिगत आनीबानी, राजनीतिक सक्रियता जस्ता विषयहरुमाथि सार्वजनिक रुपमा प्रश्नहरु बर्सिन थालेका छन् । पत्रकारमाथि कायम समाजको विश्वसनीयता नै यतिबेला संकटमा पर्न थालेको छ । पत्रकार र समाजबीचको कसिलो सम्बन्धमा अविश्वासको खाडल बढ्नु पत्रकारिता पेशा र पत्रकारका लागि सुखद क्षण होइन । पाठक, स्रोता र आममानिसको विश्वास गुमाएको दिन पत्रकारिता ‘मर्छ’ ।  
२०४६ सालको प्रजातन्त्रपछि नेपालमा प्रेस स्वतन्त्रताको वातावरण बनेको र त्यसपछि मात्रै व्यवसायिक ढंगले सञ्चारमाध्यमहरुको विकास भएको हो । जिल्ला जिल्लामा प्रिन्ट, एफएमहरु ठूलो संख्यामा सञ्चालनमा आए । काठमाडौंमा मात्रै केन्द्रीत टेलिभिजनहरु अहिले प्रदेशस्तर र ठूला शहरहरुसम्म पुगेका छन् । अनलाइनको त बाढी नै छ । हजारौंको संख्यामा खुलेका मिडियाले ठूलो संख्यामा पत्रकारको उत्पादन गरेको छ । अधिकांश स्वरोजगारमुखी तथा साना लगानीका मिडियाहरुका प्रकाशक नै पत्रकार पनि छन् । नेताहरुको रुचीमा पनि सञ्चार माध्यमको स्थापना भएका छन् । जिल्ला जिल्लामा दलगत मात्रै होइन, नेता केन्द्रित एमएम र पत्रपत्रिका छन् । ठूला मिडियाहरुमा ‘कर्पोरेट इन्टरेस्ट’ हावी हुने, लगानीको स्रोत पारदर्शी नहुनुले पत्रकारिताले बाटो बिराउ“दै गएको छ ।
गतवर्ष तीन तहको निर्वाचन सम्पन्न भएपछि तीन तहका सरकारहरु गठन भएका छन् । प्रत्येक तहको सरकारको काम कारवाहीमाथि प्रश्न उठाउने जनताप्रति जिम्मेवार बनाउने र त्यसका लागि पत्रकारको भूमिका बढाउने बेला हो । अझ, स्थानीय सरकार त प्रतिपक्षीविहीन छ । प्रदेश र केन्द्रमा प्रतिपक्षीको संवैधानिक व्यवस्था छ । तर गाउ“ र नगरसभामा प्रतिपक्षीको व्यवस्था छैन । स्थानीय सरकारमाथि निगरानी राख्ने सम्पूर्ण जिम्मेवारी पत्रकारकै हो । तर, पत्रकारले आफ्नो व्यवसायिक भूमिकाका लागि भन्दा पनि स्रोतसाधनको पहु“चका रुपमा त्यस अवसरलाई उपयोग गर्न थालेपछि स्थायी प्रतिपक्षीको भूमिका गुमाउ“दै गएको छ । आफ्नै व्यवहारले पत्रकारहरु ‘सेल्फ सेन्सरसीप’ को मारमा पर्दैछन् । द्वन्द्व वा आन्दोलनका बेला कसैको डर धम्कीका कारण पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ थियो । यतिबेला त्यसको कारण ‘स्वार्थ र मोह’ भएको छ । काठमाडौंको चलन तलसम्म सरेको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्षसम्मले प्रेस सल्लाहकार राख्न थालेका छन् । पत्रकारबाट प्रेस सल्लाहकार बनेकाको काम नै समाचार लुकाउने बनेको छ । लोकप्रिय हुने प्रचारमुखी विषयमात्रै बाहिर ल्याउने उनको दिनचर्या हो । अर्कोतिर दलीय निकटता, विज्ञापन वा आफ्ना संस्थालाई कार्यक्रम÷बजेट प्राप्त गर्ने नाममा पनि पत्रकारहरु स्थानीय सरकारसँग निकट सम्बन्धमा जोडिएका छन् ।
केन्द्र र प्रदेशस्तरमा मन्त्री र सांसदपिच्छे पत्रकारको निकटता बढेको छ । आफू सम्बद्ध दल निकटका नेता विरुद्धका समाचार लेखिए दलबाट आउने स्पष्टीकरणको सामना गर्नुपर्ने अवस्था पत्रकार स्वयंले बनाएका छौं । दलबाट भविष्यमा पाउन सक्ने अवसर गुम्नसक्ने संशयले पनि पत्रकारिता कमजोर बनेको छ । ‘सेल्फ सेन्सरसीप’ को व्यवहार हावी हुँदै गएको छ ।
‘स्वस्थ आलोचना’ पत्रकारिताको धर्म र कर्म दुबै हो । तर, व्यक्तिगत वा राजनीतिक निकटता तथा स्वार्थ भावले पत्रकारितामा रहेको आलोचनाको शक्ति गुम्दै गएको देखिन्छ । जुन सिंगो पत्रकारिता पेशाकै लागि घातक हो । सामाजिक सञ्जालमा आफूनिकट नेता र दलको पृष्ठपोषकका रुपमा देखिने व्यवहारले पनि पत्रकारको विश्वसनीयता दिनदिनै ओरालो लाग्दै गएको छ । आफूलाई सहयोग गर्ने वा समर्थकलाई ‘हाइलाइट’ गर्ने र अरुलाई खेद्ने व्यवहारले सिंगो पत्रकारिता जगत समस्यामा पर्दैछ ।   
व्यक्ति मात्रै  होइन, संस्थागत रुपमै पनि चुनौती थपिएको छ । पत्रकारिता क्षेत्रका नाममा प्रदेश तथा स्थानीय सरकारहरुले छुट्याउने रकम ठूलो भएको छ । दुई वर्ष अगाडिसम्म पत्रकारिता क्षेत्रका लागि ५० हजारदेखि बढीमा ५ लाखसम्मको स्रोत रहेको जिल्लामा त्यो स्रोत पचासौं लाखसम्म पुगेको छ । महासंघ र पत्रकारितासँग सम्बन्धित अन्य संघ÷संस्थाहरु मार्फत ती बजेट परिचालन हुँदैछ । ती स्रोतको सही व्यवस्थापन हुन नसकेको प्रश्नहरु उठ्न थाल्दा पत्रकारका संस्थाहरु पनि आर्थिक विचलनको चपेटामा पर्ने चिन्ता बढाएको छ ।
समाजमा गलत गर्नेले पत्रकारसँग डराउनुपर्छ । तर, पत्रकारले नै गलत बाटो लिएपछि राम्रा र असल काम गर्नेहरु पनि डराउन थालेका छन् । पत्रकारसँग व्यवहार नमिलाउँदा जथाभावी लेखिने त्रास बढेको छ ।
मिडिया र पत्रकारको संख्या बढ्दै जानु तर, शाख र विश्वास खस्किनु आजको महत्वपूर्ण चुनौती हो । पत्रकारिता नागरिकका लागि हो । तर, नागरिक नै पत्रकारबाट टाढिन थाले, पत्रकारिताको के अर्थ रहन्छ ? दल, नेता, सरकार, व्यवसायी, ठेकेदार, प्रहरी, प्रशासनसँग बढी अन्तरघुलित हुने तर, जनतासँग टाढिदै जाने अवस्थामा सही अर्थमा पत्रकारिता हुन सक्दैन ।

समाजसँगको बढ्दै गएको ‘ग्याप’ लाई कम गर्दै लग्नु पत्रकारिता पेसामा लागेका सबैको तथा पत्रकारितासँग जोडिएका विभिनन संघसंस्थाका साथै आम पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको पहिलो र महत्वपूर्ण दायित्व हो ।
महासंघले पत्रकारहरुलाई समाजमा सबल ढंगले स्थापित गराउन, कमीकमजोरी केलाउन र कमजोरी सुधार्न सहयोगी होस भन्ने उद्देश्यले पत्रकारमाथि ‘सार्वजनिक सुनुवाई’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जहाँ नागरिक समाज, राजनीतिक दल, सरकारी निकायका अधिकारीले पत्रकारका कमीकमजोरी पत्रकारहरुकै माझ केलाउने गरेका छन् । महासंघको उक्त अभियान समाज र पत्रकारबीचको बढ्दो ‘ग्याप’लाई कम गर्न मद्दत पु¥याइरहेको विश्वास गरिएको छ । मिडियाप्रति नागरिक समाजको सचेतना बढाउन पनि त्यसले भूमिका खेलेको छ । सहभागीले पत्रकारका कमीकमजोरी केलाउने, पत्रकार र पत्रकारिताकाबारे खुलस्त बहस हुने पत्रकारमाथि सार्वजनिक सुुनवाई कार्यक्रमको व्यापकता आजको अपरिहार्यता छ ।  
दुई दर्जन बढी जिल्लामा गरिएका त्यस्ता कार्यक्रमहरुको निष्कर्ष देखिन्छ– ‘पत्रकार र पत्रकारितालाई सुधारौं । चाकरी होइन, आलोचनात्मक पत्रकारिता गरौं ।’ पत्रकारिताबाट

प्रतिक्रिया दिनुहोस