अर्थमन्त्री ओभरस्मार्ट हुँदा राजश्व असुलीमा असर

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १६ : २८
अर्थमन्त्री ओभरस्मार्ट हुँदा राजश्व असुलीमा असर

काठमाडौँ । दुईतिहाईवाला वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा चाहिनेभन्दा बढी जान्ने (ओभरस्मार्ट) हुँदा राजश्व असुलीमा नै असर पर्न थालेको छ । उनले राजश्वका दर समयमा नै परिवर्तन गर्न नसक्दा राजश्व असुलीमा समस्या देखिएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मध्यावधि समीक्षामा विषयगत मन्त्रालयबाट गैरकर राजश्वका दरहरु समयमा नै परिमार्जन नगर्दा असुलीमा समस्या आएको जनाएको छ । अर्थमन्त्री खतिवडा ओभरस्मार्ट बन्दा राजश्व असुली समेत लक्ष्य अनुसार हुन सकेको छैन । अर्थमन्त्रीले हुने भन्दा नहुने कुरा बढी गरेको, शेयर बजार ध्वस्त पारेको तथा नागरिकलाई अनावश्यक करको बोझ बढाएका कारण सरकार नै असफल हुने अवस्थामा पुगेको छ ।

खतिवडा जहाँ गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गरेर उद्योगी, व्यापारी तथा बैंकरलाई समेत थर्काउने गरेका छन् । कहिले उनी हात्तीले जस्तो सुँढ तेस्र्याउन नपरोस् भन्दै धम्की दिन्छन् त कहिले बैंकहरु किन मर्जरमा गएनन् भन्दै उल्टै सत्तोसराप गर्छन् । विकास खर्च बढेको छैन, पूँजीगत खर्चले नै त्यसको निर्धारण गर्दछ । तर अर्थमन्त्रीकै कारण विकास बजेट खर्च हुन नसकेको विभिन्न आयोजनाका प्रमुखहरुले बताएका छन् ।  

अर्थमन्त्री खतिवडाले आर्थिक समृद्धिको नारा दिएर भाषणमा गुड्डी हाँके पनि व्यवहारमा भने उद्योगी, व्यवसायीमैत्री नभएको कारण पनि राजश्व असुलीमा समस्या देखिएको हो । राजश्वको अधिकार प्रयोगका विषयमा संघ, प्रदेश तथा स्थानीय निकायबीचको दुविधाले पनि काम गरेको बताइन्छ । चालु आवमा गैरकरतर्फ एक खर्ब सात अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा ६ महिनासम्म ४२ अर्ब ८१ करोड ५० लाख रुपैयाँमात्रै संकलन भएको छ ।

अन्य कर भने १६ अर्ब सात करोड ८० लाख संकलन भएको छ । यस्तै शिक्षा सेवा शुल्कतर्फ ८१ करोड ८९ लाख संकलन गर्ने लक्ष्य रहेकोमा ६ महिनामा ६० करोड ६२ लाखमात्रै संकलन भएको छ । शिक्षा क्षेत्रमा लगानी गर्ने अधिकाशं व्यक्ति तत्कालीन नेकपा (एमाले) निकटका छन् । उनीहरुलाई कर तिराउन अर्थमन्त्रीले कुनै पहल गरेका छैनन् । बरु आयोजनाको भुक्तानी नै रोकर राखेका छन् । जसका कारण आयोजनाहरु समेत समस्यामा परेका छन् ।

अर्थमन्त्री खतिवडाले कुनै पनि विषयलाई गम्भीर रुपमा नलिने र हल्का तवरले मात्रै प्रस्तुत हुने गरेका कारण पनि समस्या बढ्दै गएको छ । उनले आफूमात्र जान्ने सुन्ने अरु सबै खत्तम भन्ने मानसिकताका साथ काम गरिरहेका छन् । अर्थ मन्त्रालयमा ज्वाई रामशरण खरेललाई हालीमुहाली गर्न लगाएका छन् । आयोजनाको फाइल रोक्ने र त्यसबाट मोटो रकम झार्ने क्षमतामा अर्थमन्त्रीका ज्वाईं साप परिचालन भएको आयोजना प्रमुखहरुको गुनासो छ ।

‘खै हजुर अर्थमन्त्रीको ज्वाईं सापको घर्रामा फाइल रहेको पनि लामै समय भयो, किन अगाडि नबढेको हो ? थाहा पाउन नै सकिएको छैन’ एक सिँचाई आयोजनाका प्रमुखले सिंहदरबारमै गुनासो गरेको समेत सुनियो । राष्ट्रिय गौरवको आयोजनामा २२ अर्बमात्रै खर्च हुनुको पछाडि पनि सोही कारण रहेको बताइन्छ ।

विशेषगरी पूर्वमाओवादी केन्द्रले नेतृत्व गरेका मन्त्रालयलाई बजेट दिन अर्थमन्त्री खतिवडाले कन्जुस्याईं गरेका छन् । उनले पार्टी एक भएको भन्ने कुरा आफूलाई थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेको एक पूर्वमाओवादी केन्द्रका मन्त्रीले गुनासो गरेका छन् ।
अर्थमन्त्री खतिवडाले अत्यावश्यक रुपमा भुक्तानी गर्नुपर्ने रकम समेत रोकेर अन्याय गरेको गुनासो सर्वत्र फैलिएको छ । शेयर बजार ध्वस्त पारिएको छ । सफल भए मैले सफल पारेको भनुँला, असफल भए पनि आफ्नो लागि विश्व बैंक र एशियाली विकास बैंकको जागिर पक्का रहेको सोचाईमा अर्थमन्त्री रहेको उनका निकटस्थहरु बताउँछन् ।
पार्टी फरक भए पनि पूर्वअर्थमन्त्री डा. रामशरण महत र उनको स्कूलिङ पश्चिमाहरुकै भएकाले पनि वर्तमान सरकार असफल बनाउने प्रमुख दायित्व उनै अर्थमन्त्री खतिवडाले निर्वाह गरिरहेको पूर्वएमालेका नेताहरु बताउँछन् । तर उनै असफल अर्थमन्त्रीलाई बोकेर प्रधानमन्त्रीले समेत जनताको अपेक्षामाथि तातो पानी खन्याएको गुनासो पनि आउने गरेको छ ।
प्रधानमन्त्री ओलीले विषयवस्तुको गम्भीरता र जनताको अपेक्षालाई सम्बोधन गर्ने हो भने तत्काल अर्थमन्त्रीलाई हटाएर राजनीतिक नेतृत्वलाई नै अर्थ मन्त्रालयको जिम्मा दिनुपर्ने जानकारहरुको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस