नारायणी नदीलाई एकीकृत रुपमा विकास गरिने

रासस

मंगलबार, २१ फागुन २०७५, १४ : ३५
नारायणी नदीलाई एकीकृत रुपमा विकास गरिने

– कृष्ण आचार्य
भरतपुर l
 जननेता मदन भण्डारीको दुर्घटनास्थल दासढुङ्गा र शव प्राप्तस्थल गाँजीपुुरसँगै नारायणी नदीलाई एकीकृत रुपमा विकास गरिने भएको छ । मदन भण्डारीको दुर्घटनामा परी मृत्यु भएको २५ वर्ष बित्नै लाग्दा दासढुङ्गा नारायणी एकीकृत विकास परियोजना बनाएर काम अगाडि बढाउन पहल थालिएको हो । 

    मदन भण्डारी फाउण्डेशन चितवनको पहलमा प्रदेश नं ३ सरकारले परियोजना अगाडि बढाएको छ । राष्ट्रिय योजना आयोग, प्रदेशको नीेति तथा योजना आयोग र फाउण्डेशनको संयुक्त टोलीले स्थलगत अनुगमन गरी योजना अगाडि बढाएको हो । टोलीले शनिबार स्थलगत अनुगमन गरेको थियो । यसै सन्दर्भमा फाउण्डेशन र नीति तथा योजना आयोगले दासढुङ्गा नारायणी एकीकृत विकास परियोजना छलफल कार्यक्रम आयोजना ग¥यो । छलफलमा सहभागीले लामो समयसम्म मदन भण्डारीलाई जेठ ३ गते मात्रै सम्झना गर्ने गरिएको तर उक्त ठाउँको विकास र संरक्षण हुन नसकेको गुनासो गरेका थिए । 

सहभागीले दासढुङ्गा र गाँजीपुरको मात्रै नभएर नारायणी नदी र आसपासका पर्यटकीय क्षेत्रको वृहत गुरुयोजना निर्माण गरी विकास गर्न सुझाव दिएका छन् । कार्यक्रममा दासढुङ्गादेखि देवघाट, गाँजीपुर, गोलाघाट हुँदै त्रिवेणीसम्मको तटीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइएको थियो । 

प्रदेश नं ३ र गण्डकी प्रदेशको सीमामा पर्ने त्रिशुली र नारायणी नदी तटीय क्षेत्रको विकास गर्दा स्थानीय निकाय र दुवै प्रदेशसँगै सङ्घीय सरकारको समेत सहभागिता हुने गरी काम गर्नुपर्नेमा सहभागीको सुझाव थियो । कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले मदन भण्डारीको विचार जनतालाई खुशी र सुखी बनाउने भएकाले सो परियोजना सम्पन्न भए मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो परियोजना सम्पन्न गर्न सके राजनीतिक, धार्मिक, जल र पर्यावरणीय पर्यटक यहाँ भित्र्याउन सकिन्छ र हजारौँलाई रोजगारी दिन सकिन्छ ।” प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले सो परियोजना अगाडि बढिसकेको जानकारी गराउनुभयो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै सो आयोजनालाई गौरवको आयोजनाका रुपमा समावेश गरिसकेको उहाँले जानकारी दिनुभयो । 

प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल र कृष्ण भूर्तेलले जननेता भण्डारीको विचारलाई संस्थागत गर्न पनि सो परियोजना सफल बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सो परियोजनाको अधिकांश भाग आफ्नो महानगरभित्र पर्ने भएकाले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञवाली, नेता यमबहादुर परियार, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवप्रसाद पौडेल, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडी, उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडी, पर्यटन विकास समितिका अध्यक्ष बद्री अधिकारीलगायतले सुझाव दिनुभएको थियो । 

फाउण्डेशनले दासढुङ्गामा मदन भण्डारी अध्ययन प्रतिष्ठान, पार्क, सङ्ग्राहलय लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । उक्त ठाउँमा दुई बिघा जमीन यस अघि नै खरीद भइसकेको छ । नदी तटीय क्षेत्र देवघाटधाम, नारायणगढ नदी किनार, नगरवन, काभ्रेघाट, ज्ञानेश्वर ब्लक, गाँजीपुर, गोलाघाटलगायतका क्षेत्रको एकीकृत विकास गर्ने योजना बनाइएको फाउण्डेशनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो । उहाँका अनुसार नदीमा जल यातायात, जल क्रिडासँगै किनारमा पार्क र पर्यटकीय स्थलहरु विकास गर्ने लक्ष्य रहेको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस