जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

सफल खबर संवाददाता

शनिबार, २७ असार २०८३, ११ : २१
जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कुनै पनि ऐन, कानुन, पद, शक्ति वा लोकप्रियता नागरिकको जीवनभन्दा ठूलो हुन नसक्ने बताएका छन्।

मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा ज्यान गुमाएको घटनाप्रति सङ्केत गर्दै नेता शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत कवितात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

शाहीले ऐन र कानुन जनताको जीवन रक्षा गर्न बनाइने भन्दै तिनको उद्देश्य कुनै पनि नागरिकको जीवन समाप्त पार्नु हुन नसक्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘जीवनभन्दा ठूलो ऐन-कानुन हुँदैन । ऐन-कानुन त जीवनको रक्षा गर्न बनाइन्छ, जीवन समाप्त पार्न होइन।’

शाहीले मान्छेको सासभन्दा ठूलो कुनै पद, शक्ति वा लोकप्रियता नहुने बताउँदै भोक, गरिबी र अभावमा बाँचिरहेका नागरिकको पीडा बुझ्न राज्य र नेतृत्वलाई आग्रह गरेका छन्।

एकसरो कपडामै जीवन बिताउनुपर्ने, छोराछोरीको पेट पाल्न दिनरात पसिना बगाउनुपर्ने नागरिकको बाध्यता सत्तामा बस्नेहरूले बुझ्नुपर्ने उनको भनाइ छ ।

उनले प्रश्न गरेका छन्, ‘भोकको पीडा नबुझेका आँखाले गरिबीको कथा कहाँ देख्छन् ? एकसरो कपडामै जीवन बिताउने, छोराछोरीको पेट पाल्न दिनरात पसिना बगाउनेहरूको बाध्यता कहाँ बुझ्छन् ?’

कुनै नागरिक निराशाको आगोमा आफैँलाई जलाउन बाध्य हुनु एउटा व्यक्तिको मृत्युमा मात्र सीमित नहुने भन्दै शाहीले त्यसलाई राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्नका रूपमा प्रस्तुत गरेका छन्।

उनले लेखेका छन्, ‘जब एउटा नागरिक निराशाको आगोमा आफैँ जल्न बाध्य हुन्छ, त्यो केवल एउटा व्यक्तिको मृत्यु होइन, त्यो राज्यको जिम्मेवारीमाथिको सबैभन्दा ठूलो प्रश्न हो।’

जनताको जीवन जोगाउन नसक्ने लोकप्रियताको कुनै अर्थ नहुने उनको भनाइ छ। लोकप्रियताको मुकुटले कसैको आँसु पुछ्न नसक्ने, सत्ताको तालीले भोक नमेटिने र नाराले जीवन नबचाउने भन्दै उनले राज्यको प्राथमिकता नागरिकको सुरक्षा र सम्मानजनक जीवन हुनुपर्ने बताएका छन् ।

नेता शाहीले कसैको मृत्युभन्दा नेताको लोकप्रियतालाई ठूलो ठान्ने प्रवृत्तिको समेत कडा आलोचना गरेका छन्। उनले भनेका छन्, ‘कसैको मृत्युभन्दा तिम्रो नेताको लोकप्रियता महत्त्वपूर्ण लाग्छ भने कि त तिमी दास हौ, कि त मूर्ख हौ।’

शाहीले राज्यको वास्तविक शक्ति नागरिकको सुरक्षाबाट मापन हुने उल्लेख गर्दै नागरिक सुरक्षित हुँदा मात्र राज्य बलियो र कसैले निराशामा आगो रोज्न नपर्दा मात्र सरकार सफल हुने बताएका छन्।

उनले लेखेका छन्, ‘राज्य बलियो त्यतिबेला हुन्छ, जब नागरिक सुरक्षित हुन्छ। सरकार सफल त्यतिबेला हुन्छ, जब कसैले निराशामा आगो रोज्नुपर्दैन।’

अन्त्यमा उनले कुनै शासन, सत्ता, पद वा लोकप्रियता जनताको जीवनभन्दा ठूलो हुन नसक्ने दोहोर्‍याएका छन्। ‘याद राख, कुनै शासन, कुनै सत्ता, कुनै लोकप्रियता वा पद जनताको जीवनभन्दा ठूलो हुन सक्दैन। किनकि अन्ततः इतिहासले सत्तालाई होइन, जनताको जीवनको रक्षा गर्नेहरूलाई सम्झिरहन्छ,’ शाहीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस