सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन

सफल खबर संवाददाता

बुधबार, ३० बैशाख २०८३, ०८ : ४४
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी बाँधको उचाई बढाईरहँदा नेपाल सरकार मौन देखिएको छ ।

कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने एकतर्फी घोषणा गर्दा समेत सरकारको बलियो अडान प्रस्तुत नभईरहेका बेला फेरि भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी बाँधको उचाई बढाउने काम गरिरहेको छ ।

दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ गल्फैभोरा बगडासँग सिमाना जोडिएको भारतको उत्तराखण्ड राज्यको पिथौरागढ तहसील धार्चुला स्थित भारतीय सेना N 48 BN को फाइरिङ रेन्ज नजिक विगतमा पनि एकतर्फी बनाइएको बाँधहरु अहिले धमाधम उचाई बढाउँदै लगेको छ ।

उत्तराखण्ड अन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला क्षेत्रमा भारतीय पक्षले महाकाली नदी किनारमा तटबन्ध तथा सुरक्षा वाल निर्माण गरिरहेको विषय विगत केही वर्षदेखि विवाद र चासोको विषय बन्दै आएको थियो । उसले त्यस क्षेत्रमा ५ सय मिटर तटबन्ध निर्माणको  का मगदै आएको थियो । अहिले फेरि त्यसैको ४८० मिटर लम्बाईमा ९ मिटर उचाई थप गदै सुरक्षा वाल बलियो बनाएको छ । बाँकी २० मिटरमा पनि ६ मिटरको वाल उठाउने कार्य अहिले पनि जारी छ ।

यसले नेपालतिरको भूभाग डूबानमा पर्ने र भारत तिरको भूमि सुरक्षित बनाउने गरी भारतीय पक्षले बाँध निर्माणको कार्य तीव्र गतिमा चुपचाप गरिरहेको छ ।

सीमा क्षेत्रमा बाँध निर्माण गर्ने वा अन्य जुनकुनै कार्य गर्न परेपनि दुई देशवीचको आपसी समझदारी र सहमतिका आधारमा गर्नुपर्ने अन्तराष्ट्रिय सन्धि सम्झौताका नियम भएपनि त्यसलाई भारतीय पक्षले वेवास्ता गदै लगातार बाँधको उचाई बढाउने कार्य गरिरहेको छ ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, भारतीय निर्माण कम्पनी अरुण कन्ट्क्सन प्रा लिले अहिले धमाधम ती बाँधहरुमा उचाई बढाउने काम गरिरहेको छ । अब बाँकी २० मिटर जतिमा मात्र उचाई बढाउन बाँकी छ । भारतीय पक्षले सीमा क्षेत्रामा सहमति बिना निर्माण गरेको सुरक्षा पर्खालका विषयमा यस अगाडी नै सुरक्षा स्रोतमार्फत नेपाल सरकारलाई जानकारी गराएपनि सरकारले बलियो संवाद भारतीय पक्षसँग गर्न सकेको छैन । 

बालेन्द्र सरकार आएपछि पनि स्थानीय प्रशासनले कालापानी लिपुलेक क्षेत्रमा भारतीय पक्षले चिनियाँ पक्षसँग मिलेर खोलेको नाका देखि बाँध अग्लाईरहेको विषयमा जानकारी गराएपनि सरकारले सार्थक संवाद गर्ने वा विरोध जनाउने काम नभएको सुरक्षा स्रोतले बताएको छ । सरकारको चुपचाप बस्ने यही कमजोर रणनीतिको फाइदा उठाउँदै भारतीय पक्षले भने बाँध अग्लाउने कामलाई तीव्र बनाईरहेको छ । बर्षाका बेला त्यसले नेपाली भूमिलाई डुबानमा पार्ने र समस्या निम्ताउने बारेमा सरकार गम्भिर नबनेको स्थानीय प्रशासनले बताएको छ ।

भारतीय पक्षले महाकाली नदी किनारमा सुरक्षा तथा बाढी नियन्त्रणका नाममा ठूलो संरचना निर्माण गर्दै आएको थियो । उसले सीमा क्षेत्रमा  करिब ९८५ मिटर लामो सुरक्षा वाल निर्माण गर्ने परियोजनामध्ये ५०० मिटरभन्दा बढी भागमा बाँध निर्माण गरिसकेको थियो । त्यसलाई पनि थप अग्लाउन थालेपछि अहिले् नेपालतिरका स्थानीय भने त्रसित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस