रोग लिएर फर्कन्छन् विदेशिएका महिला कामदार

विहीबार, १२ पुस २०७५, ११ : ४१
रोग लिएर फर्कन्छन् विदेशिएका महिला कामदार

– सञ्चिता घिमिरे 
काठमाडौँ । विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । 

आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । 

बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उहाँ स्वदेश फर्कनुभयो । उहाँले भन्नुभयो, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ ।” 

उहाँजस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्कनुप¥यो । दैनिक २१/२२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उहाँ केही महीना पहिले स्वदेश फर्कनुभएको थियो । एउटा परिवारका लागि काम गर्न उहाँले दिनमा दुई/तीन घण्टाबाहेक फुर्सद पाउनुभएन । उहाँ आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गर्नुभयो । लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आउँदा उहाँ स्वदेश फर्कनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु ।” 

घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन । कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन् । 

अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भ¥याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो । श्रीमान्को निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उहाँ वैदेशिक रोजगारीमा जानुभयो । कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उहाँले आफू ओमन जान लागेको थाहा पाउनुभयो । दलालले उहाँलाई झुक्याएर कतार भन्दै ओमन पु¥याएको थियो । उहाँ जुन घरमा काम गर्नुहुन्थ्यो त्यो घरमा उहाँले दुई घण्टाभन्दा बढी आराम गर्न पाउनुभएन । “उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे”, उहाँ भन्नुहुन्छ । 

बिहान सबेरैदेखि राति अबेरसम्म पनि उहाँ घरायसी काममा नै व्यस्त हुनुहुन्थ्यो । भाँडा माझ्दा, लुगा धुँदा र मिलाउँदा धेरै थाकेपछि उहाँलाई स्वदेश फर्कन मन लागेको थियो । बेचिएर त्यहाँ पुगेकी महिलाले चाहेर पनि स्वदेश फर्कन नमिल्ने रहेछ । आफू काम गरिरहेको घरमा बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै कुरा पाउनुभएन । “चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन्”, उहाँले भन्नुभयो, “म नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु ।” 

वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताउनुभयो । लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ । कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो । कतिपय महिला यौन हिंसामा समेत परेका छन् । काम गर्ने घरधनी वा आफन्तले बलात्कार गर्दा गर्भवती भएरसमेत कतिपय महिला फर्किएका छन् । पौरखीले घरमा फर्कन नसक्ने महिलालाई केही समय आश्रय दिएर तालीम दिने गरेको छ । 

स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उहाँले बताउनुभयो । नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोक्ने तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “जुनसुकै देशमा गएर काम गर्न खुला गरेर त्यहाँ भएका समस्याको समाधान खोज्नुपर्छ ।”  (रासस)

प्रतिक्रिया दिनुहोस