काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दै छ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । एनपीएलको पहिलो संस्करण गत मंसिर-पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द आगामी बोर्ड बैठकबाट एनपीएलको हिसाबकिताब सार्वजनिक गर्नेबारे पनि छलफल गर्ने बताउँदै आएका छन् । एनपीएलको पहिलो सिजनको आर्थिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
एनपीएलको पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै बोर्ड सदस्यहरूले अध्यक्षलाई पत्र लेख्दै ध्यानाकर्षण समेत गराएका थिए । त्यसलाई सुझावको रूपमा लिएको समेत बताउँदै चन्दले प्रक्रियागत त्रुटिहरू भएको हुनसक्ने भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दै छ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।
टी-२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई खेल पनि खेल्दै छ ।
त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ । वार्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार हालसम्मको अवस्थाबारे समीक्षा गरिनेछ भने आगामी क्यालेन्डरमा समेट्न सकिने विषयहरूमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि