दीपक भट्ट आबद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग

सफल खबर संवाददाता

विहीबार, १७ बैशाख २०८३, १३ : ४९
दीपक भट्ट आबद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट आबद्ध विभिन्न बीमा कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण पेश गर्न आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै अनुसन्धान प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्न खोजिएको जनाएको छ । भट्ट संलग्न कम्पनीहरूको स्थापना चरणमा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूको पहिचान तथा वित्तीय कारोबारसँग सम्बन्धित जानकारी माग गरिएको हो ।

सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनीको संस्थापनाकालमा लगानी गरेका व्यक्तिहरूसँग विवरण माग गरिएको छ ।

विभागका अनुसार बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने क्रममा संस्थापक लगानीकर्ताले चुक्ता पूँजीबाहेक थप प्रिमियम बापत विभिन्न व्यक्ति वा संस्थाका बैंक खातामा रकम जम्मा गरेको विवरण आवश्यक परेको हो । सोही आधारमा “के कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो” भन्ने पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।

विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित कागजातसहित कार्यालयमा उपस्थित भई विवरण बुझाउन भनेको छ ।

यस प्रकारको विवरण संकलनलाई विभागले वित्तीय कारोबारको पारदर्शिता तथा सम्भावित अनियमितता सम्बन्धी अध्ययनसँग जोडिएको प्रक्रियाका रूपमा अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस