राजनीतिमा मुखौटा बदल्ने विचौलिया दीपक भट्ट : कहाँ कहाँ कसरी बनाए राजनीतिक कनेक्सन ?

'उनको नेटवर्कले नै नेपालमा बिचौलियातन्त्रलाई संस्थागत बनाएको छ'

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०८२, १३ : १८
राजनीतिमा मुखौटा बदल्ने विचौलिया दीपक भट्ट : कहाँ कहाँ कसरी बनाए राजनीतिक कनेक्सन ?

काठमाडौ । नेपालमा ‘राजनीतिक परिवर्तन’ को घोषणासँगै हरेकचोटि नयाँ युग सुरु भएको भनिन्छ । तर, हरेक युगमा एउटा कुरा भने कहिल्यै बदलिँदैन- विचौलिया साम्राज्य । सत्ता जसको हातमा भए पनि, मन्त्री कसैको भए पनि, ठेक्का–पैसाको धारा भने उही पुरानो बाटो हुँदै बग्छ । र त्यस बाटोको बीचमा सदैव एउटा नाम उभिन्छ- दीपक भट्ट ।

कुनै पनि सरकार आए/गए फरक नपर्ने, पर्दाभित्रबाट सत्ता, ठेक्का र निर्णयको डोरी चलाउने नाम हो -दीपक भट्ट । राजनीतिक रंग बदल्ने तर शक्ति जोगाइराख्ने उनको नेटवर्कले नै नेपालमा विचौलियातन्त्रलाई संस्थागत बनाएको छ ।

भदौ २३ र २४ को ‘जेनजी पुस्ताको आन्दोलन’ पछि जब सम्पूर्ण सत्ता संरचना हल्लिएको थियो, व्यापारीका घरहरू, नेताका निवासहरू र सरकारी भवनहरू जलिरहेका थिए, त्यसबेला पनि भट्टको सानेपास्थित किरण भवन र मार्को पोलो होटल सुरक्षित थिए । सत्ताको रङ फेरिँदा पनि उनको साम्राज्यमा धूलो नलाग्नुले एउटा गहिरो प्रश्न उठाउँछ- नेपालको वास्तविक सत्ता कहाँ छ ? राजनीतिक विश्लेषकहरू भन्छन् - नेपालमा लोकतन्त्र होइन, ‘विचौलियातन्त्र’ स्थापित छ । यस तन्त्रको मुख्य धुरीमा उनै दीपक भट्ट छन् । जसले हरेक सरकार परिवर्तनपछि पनि आफूलाई सत्ताको केन्द्रमा टिकाइराख्ने अद्भुत क्षमता देखाएका छन् ।

कुनै समय कांग्रेस सभापति शेरबहादुर देउवाका नजिक थिए, अर्को समय केपी शर्मा ओली र बामदेव गौतमका ‘पारिवारिक’ सम्बोधनमा पुगे । पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि समान दूरीमा राजनीतिक व्यापार चलाए । अहिले भने नयाँ शक्ति केन्द्रमा रहेका सुदन गुरुङ र उनको ‘हामी नेपाली’ नेटवर्कसम्म उनको पहुँच पुगेको छ ।

एक पूर्व सचिवको भनाईमा, ‘सत्ता/सरकार बदलिन्छ, तर सप्लायर र एजेन्टहरू कहिल्यै बदलिँदैनन् । दीपक भट्ट त्यस्तै एक सप्लाएर हुन् । जसले जो सरकारमा आएपनि राजनीतिक कनेक्सन जोडिहाल्छन् । अनि उनीजस्ता मानिसहरूकै कारण भ्रष्टाचारले जरा गाडिरहन्छ ।’

 

भट्टको साम्राज्य केवल व्यापारमा होइन, सरकार र राजनीतिक दलका नीति र निर्णयमा छ । सेना, प्रहरी र सशस्त्र बलको राशन ठेक्का, हतियार खरिद, हेलिकोप्टर आपूर्ति, जलविद्युत आयोजना, बीमा र नोट छपाइ-सबैतिर उनको ‘एजेन्ट’ भूमिका देखिन्छ । उनको कम्पनी इन्फिनिटी होल्डिङ्स प्रालिमार्फत उनी साना–ठूला परियोजनामा प्रवेश गर्छन्, तर प्रत्यक्ष लगानीकर्ता होइनन् । ‘भट्टको वास्तविक व्यवसाय भनेको सम्बन्ध हो,’ आफु सचिव हुँदा राजनीतिक दलका नेतामार्फत कतिपय निर्णय गराउन दवाव बढाउन आएको र कतिपय काम बाध्यात्मक अवस्थामा गरिदिनु परेको बताउने ती पूर्वसचिव भन्छन्, ‘उनी नेताहरूको नजिक पुगेर व्यापारिक समूहलाई लाभ दिलाउँछन् र त्यसको कमिसन वा सेयर पाउँछन्।’

 

भट्टसँग नजिकका व्यापारी समूहहरूमध्ये अहिले शङ्कर ग्रुप (सुलभ अग्रवाल) सबैभन्दा शक्तिशाली मानिन्छ । कोभिड कालमा निलो नम्बर प्लेट दुरुपयोग, बीमा खेल र विद्युत महसुल विवादजस्ता काण्डमा उनीहरू सँगसँगै मुछिएका थिए । भदौ २३ र २४ मा युवा पुस्ताको आन्दोलनले सहर हल्लायो । व्यापारी मीनबहादुर गुरुङदेखि सञ्चार माध्यमसम्म आक्रमणको निशानामा परे । तर विवादास्पद ब्यापारी भट्टका व्यापारिक सम्पत्ति सानेपाको किरण भवन, मार्को पोलो होटल, बिजुलीबजारको किङ्स कलेज छुन कसैले आँट गरेनन् । 

 

काठमाडौँका एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “जेनजी आन्दोलनका नाममा जसले कांग्रेस, एमाले, माओवादीका कार्यलय, नेताका घरमाथी आक्रमण गर्न उचाले, निर्देशन दिए, उनैले दीपक भट्टको साम्राज्यमा भने नछुन निर्देशन दिएको जस्तो देखियो ।” हामी नेपाली नामक सुदन गुरुङको सस्थालाई उनी र उनको ब्यापारिक साक्षेदार सुलभ अग्रवाल (शंकर गुप्र) लगायतको साथ र आर्थिक लगानी रहेको विवरण अहिले सार्वजनिक हुँदैछ ।

 

भट्टको पारिवारिक पृष्ठभूमि पनि विवादरहित छैन । उनका बुबा चतुर्भुज भट्ट, कृषि सामग्री कम्पनीका पूर्व प्रबन्ध सञ्चालक थिए । अख्तियारद्वारा घूसकाण्डमा उनी मुछिए । २०६१ सालमा मल ठेक्कासम्बन्धी ५० लाख घूसकाण्डमा विशेष अदालतले उनीविरुद्द मुद्दा चलाएको थियो । त्यो समयमा १७ वर्षका दीपक भट्ट १९ दिन जेल बसे । पछि उनी आफ्ना निकटहरूलाई भन्थे, “त्यो जेलले मलाई नेताहरूलाई कसरी ‘हात लिन सकिन्छ’ भन्ने पाठ सिकायो।” त्यसपछि उनको यात्राले राजनीतिक गल्लीको ढोका कहिल्यै बन्द हुन दिएन ।

 

त्यसपछि उनी राजनीतिक दल, तिनका नेताहरुको सप्ठ्यारा÷अप्ठ्याराका सहयात्री बनेर देखा पर्न थाले । दलहरु वीचका विवादका मध्यस्थकर्तासम्म पनि उनी बन्न थाले । एमाले र माओवादीवीच भएको एकीकरणका कतिपय घटना र वार्ताका त उनी भरपर्दाे साक्षी नै समेत बस्न पुगे । 

२०७५ जेठ ३ गते, जब त्यसबेला ओली र प्रचण्डबीच नेकपा एकीकरणको सहमति भयो, त्यो सहमतिको दुई संस्करण तयार भएको तथ्य पछि सार्वजनिक भयो- एक देखाउने, अर्को लुकाउने । देखाउने सहमतिमा दुई अध्यक्ष आदी इत्यादी थियो । नदेखाई लुकाउनेमा आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका ३ बुँदे अर्काे सहमति थियो । त्यो गोप्य सहमतिको मस्यौदा बनाउँदा र सहमति गर्दाका पर्दा पछाडीका मुख्य साक्षी पनि उनै दीपक भट्ट थिए । 

 

स्रोतहरूका अनुसार, त्यही दिन बिहानै उनले दुई अध्यक्ष (ओली र प्रचण्ड) तथा त्यसवेलाका नेकपाका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा (प्रभाकर)सँग भेटघाट गरी सहमति जुटाउन भूमिका खेलेका थिए । त्यो बेला उनले आफूलाई नेकपा एकीकरणको “अर्किटेक्ट” भनेर निकटस्थहरुसँग गर्वका साथ सुनाउने पनि गर्थे । 

विष्णु पौडेल र जनार्दन शर्मा उर्जामन्त्री रहेका बेला दुवैसँग उनले बलियो सम्वन्ध बनाएका थिए । त्यसवेला जलविद्युत आयोजनामा उनले सिधा नियन्त्रण जमाएका थिए । कतिपय आयोजना अलपत्र पारेर राजनीतिक लाभ उठाएका थिए । त्यसै पहुँचका आधारमा उनी तत्कालिन नेकपाका कतिपय घटनाका जीवन्त साक्षी बनेको नेकपाका तत्कालिन नेताहरु दावी गर्छन् ।

 

भट्टको राजनीतिक ‘सञ्जाल’ एउटै पार्टीमा मात्रै सीमित छैन । पूर्व राष्ट्रपति विद्या भण्डारीसँग उनको निकट सम्बन्ध रहेको स्रोतहरूले पुष्टि गर्छन् । ‘भट्ट भण्डारीकै नातेदारमार्फत नजिकिएका थिए,’ एक पूर्व मन्त्री भन्छन्, ‘त्यो सम्बन्धले उनलाई सुरक्षा निकाय र मन्त्रालयका ठेक्कामा सहजता दिलायो ।’ त्यस्तै, पूर्व गृहमन्त्री बामदेव गौतमसँग उनको सम्बन्ध विशेष घनिष्ट थियो। भट्टले गौतमलाई ‘बा’ भन्थे र उनलाई आफ्नो ‘गड फादर’को रूपमा चित्रित गर्थे । गौतमका छोरा हरिश पनि भट्टसँगकै केही व्यापारिक साझेदारीमा संलग्न रहेको बताइन्छ ।

 

कांग्रेस सभापति शेरबहादुर देउवा र उनका निकटहरू पनि भट्टका पुराना मित्र हुन् । देउवा, ओली र गौतमलाई सम्वोधन गर्दा नै उनले ‘बा’ भनेर गर्थे । नेपाली सेनाको हेलिकोप्टर खरिददेखि गोलीबारुद आयातसम्म भट्टको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको कागजात विभिन्न चरणमा बाहिर आएका छन् । ‘उनी सुरक्षा सामग्री आपूर्ति गर्नेसँग पनि ठेक्का बाँडफाँडमा ‘कमीशन’ तय गर्छन्,’ एक पूर्व सैन्य अधिकृत भन्छन्, ‘उनको नाम बाहिर नआउने गरी ठेक्का पास हुने चलन पुरानै हो।’ उनकै सञ्जालमार्फत भारतीय, इजरायली र यूरोपेली कम्पनीहरू नेपाली सेनासँग जोडिने गरेका छन्। सशस्त्र र प्रहरीको राशन र लजिस्टिक ठेक्का पनि लामो समयदेखि उनको नेटवर्कले नियन्त्रणमा राखेको छ । 

 

'जेनजी आन्दोलन’ पछि जब सुशीला कार्की प्रधानमन्त्री र सुदन गुरुङ नयाँ राजनीतिक केन्द्रमा उदाए, भट्टको नाम फेरि सुन्न थालियो । शङ्कर ग्रुप र ‘हामी नेपाली’ संस्थाबीच आर्थिक लेनदेनको सम्बन्ध रहेको तथ्य बाहिर आएपछि भट्टको प्रभाव नयाँ पुस्तामा पनि फैलिएको देखियो । 

‘भट्टले सरकारको नेतृत्व जोसुकै गरे पनि हरेक ढोकामा आफ्नो ‘कुंजी’ राखेका छन्,’ उनलाई नजिकबाट चिन्ने अर्का एक ब्यापारी भन्छन्, ‘कांग्रेस एमालेको सरकार सवैभन्दा बढी विचौलियाले चलाएको र त्यो विचौलिया मध्येका एक दीपक भट्ट भएको बाहिरी बजारमा प्रमाणित हुँदासम्म उनले जेनजी आन्दोलनबाट कुनै क्षति ब्यहोर्नु नपरेका कारण उनको सम्वन्ध अहिलेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री र यसका हर्ताकर्ता हामी नेपालीका सुदन गुरुङसम्म रहेको देखिएको छ ।’

 

 

स्रोत भन्छ, “उनी अहिले पुराना नेतासँगको सम्बन्धलाई ब्याकअप राखेर नयाँ पुस्ताको राजनीतिमा लगानी गर्न थालेका छन्।” यसको अर्थ, नेपालमा भट्ट केवल व्यापारिक पात्र होइनन्, ‘सिस्टमभित्रको सिस्टम’ बन्न खोजिरहेका छन् । उनीहरूले राज्य संयन्त्रलाई निजी कारोबारको उपकरण बनाएका छन् । राजनीति, प्रशासन र व्यापारबीचको सीमाना मेटाउने यस्तो पात्रले दशकौँदेखि ‘नेता बदल, तर नेटवर्क नबदल’ भन्ने सूत्रलाई साँचो बनाइदिएको छ ।

जबसम्म यस्तो ‘विचौलियातन्त्र’ को माखेसाङ्लो भाँचिँदैन, तबसम्म ‘भ्रष्टाचार अन्त्य गरौं’ भन्ने जेनजी पुस्ताको नारा पनि केवल आकर्षक भाषणमात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस