बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्तत: रोमानिया फर्किएका छन् ।
लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि केवल पुरातात्त्विक वस्तु मात्र नभई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा हेरिएको छ ।
डेसिया सभ्यतासँग सम्बन्धित अलङ्कृत कोटोफेनेस्टी हेलमेट र तीन सुनौलो ब्रेसलेटहरू जनवरी २०२५ मा नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयमा भएको योजनाबद्ध छापामार चोरीमा हराएका थिए । उक्त घटनाले अन्तर्राष्ट्रिय कला क्षेत्रमा ठूलो तरंग ल्याएको थियो भने रोमानियाली अधिकारीहरू गम्भीर चिन्तामा परेका थिए ।
करिब १४ महिनाको अनुसन्धानपछि, तीन जना संदिग्धसँग सम्बन्धित मुद्दा अघि बढिरहँदा अधिकांश हराएका वस्तुहरू मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका छन् । त्यहाँबाट कडा सुरक्षा व्यवस्थासहित ती वस्तुहरू राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पुर्याइएको थियो । अहिले ती वस्तुहरू मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको निगरानीमा काँचको विशेष क्याबिनेटमा राखेर सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ बैशाख २०८३, १२ : ४५
लेखकबाट थप