काठमाडौ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिप्रति विरोध गरेको छ । प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको छोटो अवधिमै इन्धनको मूल्यमा भारी वृद्धि भएको भन्दै पार्टीले सरकारको आलोचना गरेको हो ।
पार्टीद्वारा जारी विज्ञप्तिमा गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ भने १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको पार्टीको ठहर छ ।
पार्टीले नेपाल र भारतबीचको मूल्य अन्तरबारे पनि चिन्ता व्यक्त गरेको छ । भारतीय सीमावर्ती सहर रक्सौलको तुलनामा नेपालमा पेट्रोल ४८ रुपैयाँ र डिजेल ८८ रुपैयाँ महँगो भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'यस्तो अस्वाभाविक मूल्य अन्तरले सीमा क्षेत्रमा चोरीपैठारी र अवैध कारोबारलाई प्रोत्साहन गर्ने जोखिम बढेको छ ।'
दक्षिण एसियाका अन्य मुलुकले कर समायोजन र अनुदानमार्फत जनतालाई राहत दिए पनि नेपाल सरकारले भने केवल मूल्य बढाउने निर्णयलाई मात्र अनुमोदन गरिरहेको आरोप उज्यालो नेपाल पार्टीले लगाएको छ ।
पार्टीले सरकारसमक्ष राखेका ६ बुँदे मागहरू:
१. पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाइयोस् ।
२. मूल्य स्थिरीकरण कोषको रकम तत्काल परिचालन गरी जनतालाई राहत दिइयोस् ।
३. नेपाल र भारतबीचको मूल्य अन्तर कम गर्न विशेष संयन्त्र बनाइयोस् ।
४. बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन गरियोस् ।
५. विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता घटाइयोस् ।
६. नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गरियोस् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टीद्वारा सरकारलाई कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण
उज्यालो नेपाल पार्टीले गठन गर्यो १४ सदस्यीय सचिवालय
उज्यालो नेपाल पार्टीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
महावीर पुनलाई समर्थन गर्ने उज्यालो नेपाल पार्टीको निर्णय
चितवनमा उज्यालो नेपाल पार्टीको जिल्ला भेला आज हुँदै
कुलमानकै उपस्थितिमा आज घोषणा सभा गर्दै उज्यालो नेपाल पार्टी