उपसभामुखको लोभ : रास्वपाको पिँजडामा कुन दल पर्लान् ?

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, ०९ : ०४
उपसभामुखको लोभ : रास्वपाको पिँजडामा कुन दल पर्लान् ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलि हुँदैछ । त्यसका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसदको झण्डै दुई तिहाई मत रहेको राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पाईसकेकोले अब उसले उपसभामुख संवैधानिक रुपमा पनि पाउने छैन । 

रास्वपावाट सभामुखमा पुरुष छानिएकोले अब उपसभामुख संसदमा रहेका अन्य दलबाट महिला सांसद छानिनुपर्ने छ । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम सस्कृति पार्टी र राप्रपाले चाहना राखेको छ । यी दलहरुले उपसभामुखमा आफ्नो पार्टीको दावी रहेको बताएका छन् । 

तर एमाले केही बोलेको छैन । उसले पनि उपसभामुखमा उम्मेदवारी उठाउने वा अन्य दलका उम्मेदवारलाई सघाउने भन्ने बारेमा केही बोलिसकेको छैन । तर जुन जुन दलले उपसभामुखमा दावी गरेपनि रास्वपाले कसलाई साथ दिन्छ, उसैको पोल्टामा उपसभामुखको चिठठा पर्नेछ । 
उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले यो पदलाई रास्वपाले तौलिन थालेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीस, प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुख हुने ब्यवस्था छ । अहिले प्रधानमन्त्रीसँग सभामुख आफनो दलबाट भएपनि राष्ट्रिय सभा अध्यक्ष नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रधानन्यायाधीस (हुनेवाला) पनि आफ्नो पक्षमा हुने अवस्था छैन । यस अर्थमा फेरि त्यसमा श्रम सस्कृति वा राप्रपालाई लिएर ती दललाई पनि भागवन्डामा साथ लिने वा नेकपालाई लिएर भागवन्डामा सहजता खोज्ने भन्नेमा रास्वपा अहिले जोखाना हेरिरहेको छ । तर रास्वपाभित्र कम्युनिष्ट दललाई दिने भन्दा पनि गैह कम्युनिष्ट दलबाटै उपसभामुख चयनमा निर्णय लिन पार्टीभित्र दवाव छ । उसले कसलाई साथ दिने भन्ने विषयमा केही ग्रिन सिंग्नल दिईसकेको छैन । तर रास्वपाभित्रै यसविषयमा खासमा तीन धार देखिएको समाचारहरु सार्वजनिक भईरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) श्रम सस्कृति पार्टीलाई उपसभामुख दिनुपर्ने पक्षमा उभिएका छन् । रवि लामिछानेको झुकाव राप्रपातिर देखिएको र अहिलेका सभामुख डोलप्रसाद अर्याल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई दिनुपर्ने पक्षमा उभिएको बताइन्छ ।त्यसकारण यी तिनै दल रास्वपा फकाउने खेलमा लागिपरेका छन् । तर रास्वपाले सजिल्यै आफनो पिँजडामा कसलाई राख्न सकिन्छ भनेर तौलेर हेर्न थालेको छ । 

उपसभामुखका लागि दलहरुले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

रास्वपाले उम्मेदवारी दर्ता अगावै कुनै दलका उम्मेदवारलाई समर्थन गरेर जाने वा दलहरुका उपसभामुखका उम्मेदवार हेरेर निर्वाचनको समयावधिसम्ममा निर्णय लिने भन्ने विषयमा पर्ख र हेरको नितिमा देखिएको छ । 

प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् । उपसभामुख निर्वाचनमा निर्वाचित हुन संसदमा उपस्थित संख्याको बहुमत ल्याउनुपर्ने हुनछ ।