‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, ०६ : ३१
‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान । इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको रुखमुनि केही बालबालिका प्लास्टिकका म्याट र बोरामा बसिरहेका छन् । रुखमा एउटा बोर्ड झुण्ड्याइएको छ, जसमा लेखिएको छ- ‘श्री पिपलबोटे खुला विद्यालय ।’

यो कुनै सरकारी विद्यालय होइन, न त कुनै महँगो कोचिङ सेन्टर नै । तर, यहाँ हरेक बिहान ७ बजे नर्सरीदेखि कक्षा ७ सम्मका करिब ३५ बालबालिका किताब–कापी च्यापेर आइपुग्छन् । उनीहरूलाई अक्षर चिनाउन र विद्यालयको गृहकार्य सिकाउन तल्लीन भेटिनुहुन्छ– ६१ वर्षीय चन्द्र भण्डारी, अर्थात् ‘चन्द्र सर’ ।

विगत ३१ वर्षदेखि निरन्तर सञ्चालित यो अभियान भण्डारीको व्यक्तिगत इच्छाशक्ति र समाजप्रतिको समर्पणको उपज हो । विपन्न, मजदुर र सीमान्तकृत समुदायका बालबालिकालाई नि:शुल्क शिक्षा दिने यो कार्यले अहिले एउटा सामाजिक आन्दोलनकै रूप लिएको छ ।

सङ्घर्षबाट जन्मिएको सेवाभाव
धनकुटाको सामान्य परिवारमा जन्मिएका भण्डारी २०४४ सालमा मात्र ५० रुपैयाँ खल्तीमा हालेर कामका लागि इटहरी झरेका थिए । ग्यारेजमा मेसिन मर्मतदेखि कपडा र बाँसको व्यापारसम्म गरेका उनले सडक किनारमा खेल्दै गरेका मजदुरका छोराछोरी देखेपछि आफ्नो बाल्यकाल सम्झिए ।

“गरिबीकै कारण मैले आफ्नो पढाइ पूरा गर्न पाइनँ, ती बालबालिकाको अवस्था देखेपछि उनीहरूलाई अक्षर चिनाउनुपर्छ भन्ने लाग्यो,” भण्डारी सम्झन्छन्, “बाँसको व्यापारले जीवन धान्ने बाटो देखायो भने यी बालबालिकाको भविष्यले मलाई बाँच्ने उद्देश्य दियो ।”

२०५१ सालदेखि १० जना बालबालिकाबाट सुरु भएको यो ‘ट्युसन कक्षा’मा अहिले पनि उस्तै उत्साह छ । २०६० सालसम्म सानो टहरोमा पढाइ हुने गरे पनि बाढीले टहरो भत्काएपछि विगत दुई दशकदेखि उनीहरू खुला आकाशमुनि नै बसेर पढिरहेका छन् ।

मजदुरका छोराछोरीको सारथी
यहाँ पढ्न आउने अधिकांश बालबालिकाका अभिभावक रिक्सा चालक, जुत्ता पालिस गर्ने, मकै पोलेर बेच्ने वा दैनिक ज्यालादारी गर्ने श्रमिक छन् । भण्डारीले उनीहरूलाई पढाउने मात्र होइन, आफ्नो जन्मदिन र विभिन्न अवसरमा शैक्षिक सामग्री र लत्ताकपडा समेत वितरण गर्दै आएका छन् ।

चन्द्रको यो नि:स्वार्थ सेवाको कदर गर्दै हालसम्म हजारौँ संघसंस्थाले उनलाई सम्मान गरिसकेका छन् । सन् २०१७ मा उनलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड’ प्रदान गरिएको थियो ।

परिवारको साथ र शैक्षिक सपना
आफू एसएलसीसम्म मात्र पढेका भण्डारीले आफ्नी श्रीमती सावित्रीलाई भने स्नातकोत्तरसम्म पढाए । सावित्री अहिले एक निजी विद्यालयमा शिक्षिका छिन्, जसको कमाइले घरको गुजारा चल्छ । उनका दुई छोराहरू पनि हाल स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस