मलेसियाबाट फर्केर ठेलाको व्यापार, कमाई मासिक ३० हजार

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ०५ पुस २०७५, १४ : १९
मलेसियाबाट फर्केर ठेलाको व्यापार, कमाई मासिक ३० हजार

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । ठेलामा फलफूल राखेर सडकमा बेच्दै हिँड्ने राजेन्द्रप्रसाद अधिकारी आठ वर्षअघि रोजगारीको लागि मलेसिया पुगेका थिए । त्यहाँ नेपालीले गरेको दुःख देखेर त्यही दुःख स्वदेशमै गर्ने हो भने राम्रै कमाई गर्न सकिन्छ भन्ने सोचेर उनी आठ महिनामै मलेसियाबाट नेपाल फर्किए । आठ वर्षदेखि ठेलामा फलफूल बेच्दै आइरहेका अधिकारी अहिले मासिक ३० हजार रुपैयाँ बचत गर्छन् ।

गोरखा अजिरकोट गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका हाल भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा भाडामा बस्ने ४८ वर्षीय अधिकारीको पाँच जनाको परिवारको खर्च  र घरभाडा यही ठेलाको व्यापारले धानेको छ । बिहान सबेरै उठेर फलफूल किन्न मण्डी जानु र ठेलामा फलफूल राखेर सडकमा बेच्न हिँड्नु उनको दैनिकी हो । जिन्दगीको पछिल्लो आठ वर्ष ठेला धकेलेरै बिताएका उनले त्यसभन्दा अगाडि जीवनमा धरै संघर्षको अनुभव सँगालेका छन् ।

१० कक्षासम्म गोरखामा पढेका उनले चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षा पढ्दापढ्दै पढाईलाई बीचैमा छाडे । त्यसपछि १० वर्ष हाउस वायरिङको काम गरेर बिताए । त्यसपछि कहिले भवन निर्माणमा त कहिले सडक निर्माणमा मजदुरी गरेर उनले जसोतसो आफ्नो जीवन अगाडि बढाइरहेका थिए । डेरामा बसेर परिवार पाल्न, आवश्यक खर्च जुटाउन उनलाई गाह्रो भएपछि उनले विदेश जाने निर्णय गरे । वैदेशिक रोजगारीको लागि उनी मलेसिया पुगे ।

दलालमार्फत मलेसिया पुगेका उनी ८ महिनामै स्वदेश फर्किए । ८ महिना मलेसियामा बसेर त्यहाँ नेपालीले गर्नु पर्ने दुःख उनले प्रत्यक्ष अनुभव गरे । त्यहाँ नेपालीले गर्नु पर्ने दुःख उनको आँखामा अझै पनि झल्झली आउँछ । नेपाल आएपछि आफै केही गरौँ भन्ने लागेर ठेला व्यापार सुरु गरेको उनी बताउँछन् ।

उनले ठेलामा सिजन अनुसारका अनार, स्याउ, अङ्गुर, सुन्तला, बयर, अम्बा, भुईंकटहर, केरा लगायतका फलफूल लिएर घरदैलो चाहार्छन् । औसतमा दैनिक १० हजारको व्यापार गर्ने उनले मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको सुनाए । महिनामा ३ लाखको व्यापार गर्दा खर्च कटाएर नाफा ३० हजारको हाराहारीमा हुने गरेको उनले बताए । दशैँ, तिहार लगायतका चाडपर्वमा भने दैनिक ५० हजारसम्मको फलफूल बेच्ने गरेको उनी सुनाउँछन् । उनले आफ्नो आम्दानीबाट तीन जना छोरीलाई निजी विद्यालयमा पढाएका छन् ।
सुरुमा १५ हजारको ठेला र त्यो ठेलामा १५ हजारको फलफूल राखेर व्यवसाय सुरु गरेका अधिकारीले सुरुवाती दिन सम्झँदै भने, ‘सुरुसुरुमा त घाटा भयो । मण्डीमा पनि नयाँ भनेपछि महंगो दर लगायो । काम गर्ने अनुभव नभएपछि घाटा खाएँ ।’ घाटा खाए पनि उनले हार भने खाएनन् । आफ्नो कामलाई निरन्तरता दिँदै गए । ४ महिनामै उनले नाफा कमाउन सुरु गरे । मण्डीमा पनि उनले सस्तोमा फलफूल खरिद गर्न पाए । थोरै नाफा लिएर बिक्री गर्दा ग्राहकहरुको पनि मन जित्दै गए ।

‘बजार गएर किन्ने समय बचत गरिदिनु भएको छ । राम्रो समान ल्याउनु हामी तपाईंसँग नै आवश्यक फलफुल खरिद गर्छौँ’ भन्ने ग्राहकहरु थुप्रै भएको उनी सुनाउँछन् । उनले सेवामुखी व्यापार गरेर पैसा कमाउने कामसँगै आफ्नो शरीर समेत स्वस्थ राखेका छन् । उनी भन्छन् ‘म प्रेसरको बिरामी हुँ । यसको औषधि पनि लिन्छु । जति बेलादेखि मैले ठेला गुडाउन थालेँ, त्यतिबेलादेखि मेरो रोग बढ्न पाएको छैन ।’  

केही मान्छेहरुले ठेला व्यापारी त हो भनेर हेप्ने अर्थात् सानो नजरमा हेर्ने र इज्जत नदिने गरेको उनी दुखेसो पोख्छन् । जसले जसरी हेरे पनि उनले आफ्नो कामलाई कहिलै सानो मानेनन् । त्यही ठेला व्यापारबाट आफ्नो आर्थिक अवस्था सुधारिएको उनी हँसिलो अनुहार पार्दै सुनाउँछन् । ‘मैले कुनै पनि कामलाई सानो ठुलो भनेर हेर्ने गरेको छैन’ उनी भन्छन् । काम गरेर खाने मान्छेलाई नहेप्न उनी सबैलाई आग्रह गर्छन् । कसैले हेप्यो भनेर आफ्नो कामबाट पछि नहट्न उनी अन्य श्रमिक एवं साना व्यवसायीलाई सुझाव दिन्छन् ।

पछिल्लो समय भरतपुर महानगरपालिकाले लिएको फुटपाथ व्यापारीलाई हटाउने नीतिबाट उनी असन्तुष्ट छन् । ‘महानगरले हामी गरीबका लागि गरीखाने बाटो नै बन्द गर्न लाग्यो’ उनी गुनासो गर्छन् । स्वदेशमै बसेर केही गर्न चाहनेलाई सरकारले पनि सहयोग गर्नु पर्ने उनको माग छ । विगतमा आएको स्वरोजगार कार्यक्रम नेतामुखी भएको उनको ठहर छ । भन्छन् ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आएको स्वरोजगार कार्यक्रमबाट नेतासँग चिनजान भएका मान्छेले मात्र फाइदा लिए । हामी गरीब निमुखाले त समाचारमात्र सुन्न पायौँ ।’

स्वदेशबाट विदेशहुँदै पुनः स्वदेशमै पाखुरी बजारिरहेका अधिकारी अहिले स्वदेशमै थुप्रै अवसर देख्छन् । उनी युवा पुस्ताहरुलाई विदेशमा गएर दुःख गर्नभन्दा स्वदेशमै कुनै पनि कामलाई सानोे ठुलो नभनी दुःख गर्न सुझाव दिन्छन् । त्यसो गर्नसके पैसा कमाउन चाहनेलाई विदेशभन्दा स्वदेश नै उत्तम हुने उनको ठम्याई छ ।

 

प्रतिक्रिया दिनुहोस