एजेन्सी । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरेका छन्। इरानी सरकारी टेलिभिजन (आईआरआइबी) लाई बुधबार अन्तर्वार्ता दिँदै उनले पहिले ‘बिना सर्त आत्मसमर्पण’ को माग गर्ने अमेरिकाले अहिले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरेका हुन्।
अराघचीले अमेरिकाको फेरिएको शैलीले उसको पहिलेको रणनीति असफल भएको प्रमाणित गर्ने तर्क गरे। पछिल्ला केही दिनमा अमेरिकाले मित्र राष्ट्रहरूमार्फत तेहरानलाई कैयौँ सन्देशहरू पठाएको विदेशमन्त्री अराघचीले स्वीकार गरेका छन्। तर, उनले ती सञ्चारका माध्यमहरूलाई औपचारिक वार्ता वा संवाद भन्न नमिल्ने स्पष्ट पारे।
अमेरिकाले पठाएका सन्देशहरूको जवाफमा इरानले आफ्नो अडान र चेतावनीहरू मात्र पठाउने गरेको र यसलाई केवल ‘सन्देश आदानप्रदान’ मात्र मान्न सकिने उनको भनाइ छ। ती सन्देशहरूमा उठाइएका विषयहरू इरानका उच्च अधिकारीहरूसम्म पुर्याइएको र आवश्यक परेमा उनीहरूले नै आधिकारिक धारणा सार्वजनिक गर्ने अराघचीले बताए।
अर्कोतर्फ, ह्वाइट हाउसले भने इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गरेको छ। इरानले युद्ध अन्त्यका लागि अघि सारिएको १५ बुँदे योजनालाई तत्काल स्वीकार नगरे पनि वार्ता प्रक्रिया जारी रहेको अमेरिकाको बुझाइ छ। यद्यपि, इरानी पक्षले भने अमेरिकाको यो दाबीलाई अस्वीकार गर्दै आएको छ।
विदेशमन्त्री अराघचीले अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजको एउटा रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धका सफल हमलाहरू मात्र देखाइने गरेको टिप्पणी समेत गरे। उनले अमेरिकी जनता र स्वयम् राष्ट्रपतिलाई समेत दैनिक रूपमा युद्धको बजारिकरण गरेर भ्रममा पारिएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौँ :इरान
इरानले भन्यो: अमेरिकी एफ-३५ लडाकु विमानमा आक्रमण गर्यौँ
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने