कांग्रेस विशेष महाधिवेशन

देउवालाई क-कसले छोडे साथ ?

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०८२, १० : १९
देउवालाई क-कसले छोडे साथ ?

काठमाडौ । कांग्रेसमा विशेष महाधिवेशनले पार्टी नेता देखि कार्यकर्तासम्म धुव्रिकृत हुादै गर्दा सभापति शेरवहादुर देउवा आफ्नै समुहमा थप कमजोर बनेका छन् । जेनजी विद्रोहका बेला देखि नै देउवा निकटका सहमहामन्त्री फरमुल्लाह मन्सर लगायत नेताले साथ छोडेका थिए । 

विशेष महाधिवेशन पार्टी विधान विपरित रहेको र अहिले फागुन २१ को चुनाव तयारी गर्ने र बैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नुपर्ने देउवा पक्षको निर्णयलाई चुनौती दिँदै बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागिता जनाईरहेका छन् । यसले देउवालाई थप संकट र अपठ्यारोमा पारेको छ । विशेष महाधिवेशनले गर्ने निर्णयका आधारमा देउवाको थप राजनीति सजिलो या अप्ठ्यारो पर्ने बारेमा पनि निधो लाग्नेछ । 

पार्टीको १४ औं महाधिवेशनमा देउवाको पक्षमा खुलेका र देउवा समुहबाट नै निर्वाचित भएका नेताहरुले समेत विशेष महाधिवेशनसम्म आईपुग्दा साथ छोडेका छन् । उनलाई जीवनभर अप्ठ्यारोमा काँध थाप्दै आएका नेता गोपालमान श्रेष्ठसम्मले पनि अहिले देउवाको साथ छोडिदिएका छन् । 

उनी विशेष महाधिवेशनमै सहभागी भएर विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्तामा उत्साह भरेका छन् । संस्थापन पक्षका पुष्पा भुषालसहितका ३० केन्द्रीय सदस्यमध्ये २८ जनाले पनि देउवाको पछिल्लो अडानमा सहमति जनाएनन । उनीहरु पनि महामन्त्रीद्दय गगन थापा र विश्प्रकाश शर्माको अगुवाईमा चलिरहेको विशेष महाधिवेशनमा सहभागिता जनाउन पुगे । यसले देउवालाई थप अप्ठ्यारो पारेको छ । देउवा पक्षमा रहेका उपधोगपति तथा निर्वतमान सांसद विनोद चौधरी, केन्द्रीय सदस्यहरु उदयशमशेर राणा

राजेन्द्र केसी, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, अब्दुल सत्तार लगायतका नेताहरु पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् । यसले देउवा टिममा ठूलो धक्का लागेको छ ।  

पूर्वसभामुख तारानाथ रानाभाट र २०१४ को विशेष महाधिवेशनका प्रतिनिधि ८८ वर्षीय ओमकारप्रसाद श्रेष्ठको समेत विशेष महाधिवेशनमा उपस्थिती भएको छ । जसले देउवालाई राजनीतिक रुपमा थप दवावमा राखेको छ । 

देउवामात्रै होइन, मझधारको राजनीति गरिरहेका शेखर कोइरालालाई पनि विशेष महाधिवेशनले धक्का लगाएको छ । उनले अप्ठ्यारो अवस्थामा आफनो पक्षधरता देखाउन नसकेको र अघोषितरुपमा सभापति देउवालाई नै साथ दिएको भन्दै विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले शेखरको पनि आलोचना गरेका छन् । शेखर पक्षमा रहेका नेताहरु सुनिल शर्मा, राजेन्द्र बजगाई लगायत नेताहरु पनि विशेष महाधिवेशनमा सहभागी छन् ।

शेखर पक्षका नेता केदार कार्कीले पनि विशेष महाधिवेशनमा आफनो सहभागिता जनाएका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला निकटका सुधीर शिवाकोटी, विशेष महाधिवेशन पक्षमा पहिला नखुलेका नेता चन्द्र भण्डारी लगायतको पनि विशेष महाधिवेशनमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस