मुस्ताङ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।
भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । उनका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गरे । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ–३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ–२ स्थित छाक्ताङ खोला, घरपझोङ–२ स्थित मार्फाखोला पुल, घरपझोङ–३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ–३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर–१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।
त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए ।
इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ–३ लेतेमा निर्माणाधीन सेतोखोला, घरपझोङ–२ स्थित मार्फाखोला, वारागुङ–३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदरकुण्ड–१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१/८२ मा सम्पन्न भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०७ : १०
लेखकबाट थप