काठमाडौं । नेपाली राजनीतिमा चुनावी तालमेल कुनै नयाँ कुरा होइन। विचार नजिक भएका दलहरूबीच सहकार्य र तालमेल हुनु स्वाभाविक मानिन्छ । तर, एकै चुनावमा कँही कतै कुन पार्टीसँग त कतै कुन पार्टीसँग विचारविहिन भएर तालमेल हुनुलाई भने बहुरंगी तालमेलको रुपमा लिन सकिन्छ ।
यस्तो तालमेल गर्नेमा केही समय अगाडी मात्रै प्रचण्डसँग साथ छोडेर हिँडेका जनार्दन शर्माको पार्टी प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशब्यापी गरेको चुनावी तालमेललाई नजिकबाट नियाल्ने हो भने देखिन्छ ।
शर्मा आवद्द प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पार्टी अहिले आफुलाई जता स्वाद मिल्यो, उत्तै चुनावी तालमेलमा लागेका छन् । उसले कुनै क्षेत्रमा एमालेसँग, कतै कांग्रेससँग, कतै घण्टी चुनाव चिन्ह बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग, कतै श्रम संस्कृति पार्टीको माटोसँग र कतै जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ । एकै चुनावमा विभिन्न विचारधाराका दलहरूसँग फरक–फरक क्षेत्रमा तालमेल गर्ने यो शैलीलाई कतिपय विश्लेषकले “ककटेल नीति” को संज्ञा दिन थालेका छन्।
प्रलोपाको कहाँ कुन पार्टीसँग भयो चुनावी तालमेल ?
प्रलोपा र नेकपा एमालेबीच कर्णाली केन्द्रित चुनावी तालमेल भएको छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा दुई दलबीच सहकार्य गर्ने सहमति भएको छ। साविक राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेदवारलाई समर्थन गर्ने र रुकुम पश्चिममा भने एमालेले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सहयोग गर्ने गरी तालमेल भएको छ । रुकुम पूर्वमा पनि सुरुमा यस्तै सहमति भएको भए पनि पछि उक्त सहमति भत्किएको थियो ।
बाँकेमा भने प्रलोपा र जनता समाजवादी पार्टी नेपालबीच तालमेल भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा एकअर्कालाई समर्थन गर्ने सहमति अनुसार यी दुर्इ पार्टीले चुनावी तालमेल गरेका हुन् । बाँके–१ मा प्रलोपाका उम्मेदवार कृष्णा केसी ९नमुना०लाई जसपाले समर्थन गर्ने र बाँके–२ मा जसपाका उम्मेदवार कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने गरी चुनावी तालमेल गरिएको छ ।
त्यसैगरी सिराहा–२ मा प्रलोपा र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का बीच चुनावी सहकार्य भएको छ। रास्वपाका उम्मेदवार शिव यादवलाई समर्थन गर्ने गरी त्यहाँ पनि प्रलोपाले रास्वपासँग चुनावी तालमेल गरेको हो ।
प्रलोपाले पूर्वमा पनि तालमेल गरेको छ । पूर्वमा उसले हर्क सम्पाङको पार्टी श्रम सस्कृति पार्टीसँग तालमेल गरेको छ । सुनसरी–१ मा धरानका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । त्यहाँ हर्क आफैं उम्मेदवार छन् । त्यस्तै भोजपुरमा पनि श्रम सस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय प्रलोपाले गरेको छ । भोजपुरमा ध्रुवराज राईलाई प्रलोपाले समर्थन गर्ने निर्णय लिएको छ । पूर्वका यी दुबै निर्वाचन क्षेत्रमा प्रलोपाले आफ्ना उम्मेदवार उठाएको छैन।
त्यसैगरी, प्रलोपाका तर्फबाट सुरुमा गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि उम्मेदवारी फिर्ताको अन्तिम दिन दुवै क्षेत्रको उम्मेदवारी फिर्ता लिएको थियो । एउटा क्षेत्रमा गोरखा २ मा प्रलोपाबाट पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा बाबुराम भटट्राईले उम्मेदवारी दिएका थिए । बाबुरामले अन्य दलबाट साथ नपाउने र चुनाव हार्ने देखेपछि उम्मेदवारी फिर्ता लिए ।
गोरखामा उम्मेदवारविहीन बनेपछि उसले कांग्रेसलाई समर्थन गर्ने निर्णयमा पुगेको छ। गोरखा–१ र गोरखा–२ मा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय सार्वजनिक भएपछि जिल्लामा प्रलोपाको संगठनभित्रै हल्लाखल्ला मच्चिएको छ ।
दलहरुले चुनावी तालमेल प्रायः स्पष्ट विचारधारा, नीति र दीर्घकालीन लक्ष्यका आधारमा गर्छन्। तर प्रलोपाले भने यसपटक कतै एमालेसँग, कतै कांग्रेससँग, कतै रास्वपासँग, कतै जसपासँग र कतै श्रम संस्कृति पार्टीसँग चुनावी तालमेल गरेको छ । उसको यस्तो नितिलाई राजनीतिमा ककटेल नितिका रुपमा समेत चित्रित गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित
प्रलोपाले आज घोषणापत्र सार्वजनिक गर्ने
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ