चुनावमा प्रचण्डले देखेको यस्तो छ नेकपाको ‘सहज’ यात्रा

सफल खबर संवाददाता

विहीबार, १४ फागुन २०८२, ०८ : २८
चुनावमा प्रचण्डले देखेको यस्तो छ नेकपाको ‘सहज’ यात्रा

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन आउन अव एक सातामात्रै बाँकी रहँदा राजनीतिक दलहरुको दौडधुप बढेको छ । पार्टीका पक्षमा जनमत ल्याउन उनीहरुको दौडधुप बढेको हो । 

चुनावको अहिलेसम्मको सिनारियो हेर्दा मुख्य दुई दल कांग्रेस, एमाले र अहिले आफुलाई नयाँ दल भनेर भाष्य निर्माण गरिरहेको दल रास्वपाको भन्दा परिपक्व राजनीतिको मियो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (नेपाली कम्युनिस्ट पार्टी) बनिरहेको बुझाईमा मतदाताहरु देखिन थालेका छन् । 

प्रचण्डले पनि यही संकेत बुझेरै हुनुपर्छ बुधबार आफू र आफ्नो पार्टी चुनावपछिको अनिवार्य राजनीतिक शक्ति रूपमा रहने धारणा प्रस्तुत गर्न थालेको छ । पार्टी संयोजक प्रचण्डले नेकपा केवल निर्वाचन जित्नकै लागि होइन, चुनावपछिको सत्ता समीकरण र राष्ट्रिय एजेन्डाको नेतृत्व गर्न पनि अपरिहार्य शक्ति भएको दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रम तथा वामबुद्धिजीवीसँगको अन्तरक्रियामा बोल्दै उनले स्वच्छ र निष्पक्ष निर्वाचन भए नेकपा पहिलो शक्ति बन्ने जिकिर गरे । उनका अनुसार, एक अनुसन्धान प्रतिवेदनले प्रत्यक्षतर्फ ६५ देखि ७० सिटसम्म नेकपाले जित्न सक्ने देखाएको छ । नेकपाभित्रका नेताहरूका अनुसार यसपटक पार्टीलाई अनुकूल देखिने केही मुख्य आधारहरू छन् :

१) झण्डै दुई दर्जन दलबीचको एकता
साना–ठूला गरेर झण्डै दुई दर्जन कम्युनिस्ट र वामपन्थी धारका समूहबीच एकीकरण र सहकार्य भएपछि नेकपाले देशव्यापी संरचना बलियो बनाएको दाबी गरेको छ । विगतमा विभाजित वाम मत यसपटक एकीकृत हुने विश्वास नेकपाले लिएको देखिन्छ । 

२) ‘जेन जी’ आन्दोलनपछि स्पष्ट राजनीतिक धार
गत भदौ २३ र २४ गते भएका घटनापछि उत्पन्न राजनीतिक तरंगलाई नेकपाले रणनीतिक रूपमा सम्बोधन गरेको दाबी गरेको छ । दाहालले न भदौ २३ को घटनासँग सहमति रहेको, न त्यसको भोलिपल्टको हिंसात्मक विध्वंससँग, दुवैको आलोचना गरेको उल्लेख गरे ।
उनका अनुसार ‘जेनजी’ पुस्ताले उठाएका सुशासन, रोजगारी र प्रणाली सुधारका माग जायज छन् र ती माग कार्यान्वयन गर्न सक्षम शक्ति नेकपा नै हो भन्ने सन्देश जनतामाझ स्थापित गरिएको छ ।

३) नयाँ र ‘निष्कलंक’ उम्मेदवार चयन
यसपटक उम्मेदवार छनोट प्रक्रियामा विशेष मापदण्ड अपनाइएको दाबी गर्दै नेकपाले अपेक्षाकृत नयाँ अनुहार र विवादरहित व्यक्तिहरूलाई अगाडि सारेको जनाएको छ । यसले परम्परागत दलप्रति निराश मतदातालाई आकर्षित गर्ने अपेक्षा पार्टीले गरेको बताएको छ । 

४) एकताबद्ध प्रचार र केन्द्रीय सन्देश
पार्टीले चुनावी प्रचारलाई केन्द्रित र सुसंगठित बनाएको दाबी गरेको छ । प्रतिबद्धतापत्र हरेक वडासम्म पुर्‍याउने निर्देशन दिँदै दाहालले बुद्धिजीवी, युवा र पेशागत समुदायलाई जनमत निर्माणमा सक्रिय हुन आग्रह गरेका छन् ।

‘पहिलो शक्ति’ बन्ने दाबी

प्रचण्डले अहिलेको अवस्थामा कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने आकलन गरे । तर स्वच्छ र निष्पक्ष निर्वाचन भए नेकपा पहिलो हुने दाबी समेत उनको छ । ‘देशका एकाध क्षेत्र बाहेक हाम्रो अवस्था राम्रो छ,’ प्रचण्डले चुनावी विश्लेषण गदै भने,  ‘अब बाँकी ७-८ दिन कस्सिएर लाग्यौँ भने नतिजा झनै राम्रो आउन सक्छ ।’उनले यस निर्वाचनलाई ‘जनमत संग्रह जस्तै’ भएको टिप्पणी गर्दै धाँधलीरहित निर्वाचनको सुनिश्चितता गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

निर्णायक साताको आह्वान

निर्वाचनअघि अन्तिम सातालाई निर्णायक बताउँदै प्रचण्डले नेता-कार्यकर्तालाई गाउँगाउँमा पुग्न निर्देशन दिएका छन् । प्रतिबद्धतापत्र र कार्यक्रम जनतासम्म पुर्‍याउन, भ्रम चिर्न र मतदातालाई ‘राष्ट्र बचाउने’ पक्षमा उभिन आह्वान गरिएको छ ।

चुनावपछिको सत्ता समीकरण कस्तो बन्ला भन्ने प्रश्न खुलै भए पनि नेकपाले आफूलाई निर्णायक शक्ति मात्र होइन, सम्भावित पहिलो दलका रूपमा चित्रित गर्न थालेको छ । अबको केही दिनको मतपरिणामले दाहालको दाबी कति यथार्थमा रूपान्तरण हुन्छ, त्यसले देशको राजनीतिक दिशा निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस