मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०८२, ०९ : ०२
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण

काठमाडौं । आगामी फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले मधेसलाई प्राथमिकता दिईरहेका छन् । 

दुवै पार्टीबाट आगामी चुनावपछिको प्रधानमन्त्री घोषणा गरिएका नेताले मधेसलाई निक्कै प्राथमिकता समेत दिएका छन् । कांग्रेस सभापति गगन थापा सधैजसो जितिरहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ छोडेर सर्लाही ४ मा चुनाव लड्न पुगेका छन् । 

रास्वपाका बरिष्ठ नेता तथा चुनाव पछि प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरिएका बालेन शाह र सभापति रवि लामिछानेले मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरू गरेको छ । कांग्रेसले भन्दा पनि रास्वपाले मधेसलाई किन नजर लगाईरहेको छ ?

मधेस मामिलाका जानकार चन्द्रकिशोर झाका अनुसार, “एकीकृत रास्वपाले मधेशका मुख्य मुद्दाहरूलाई कसरी फ्रेम गर्छ र प्राथमिकता दिन्छ भन्ने कुरा यसको चुनावी नतिजालाई आकार दिन महत्त्वपूर्ण हुनेछ ।

रास्वपाबाट भावी प्रधानमन्त्री घोषित बालेन शाहको पहिलो राजनीतिक सम्बोधन नै मधेसबाट किन भयो ? यसका बहुआयामिक अर्थ रहेको रास्वपा नेताहरुले बताईरहेका छन् । 

देशभर रास्वपाको केही न केही प्रभाव र झुकाव देखिँदासम्म मधेस खुलेर रास्वपाको पक्षमा देखिएको थिएन । त्यही पृष्ठभूमिमा जर्वजस्त मधेसमा आफनो प्रभाव जमाउन रास्वपाले प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालने शाह र सभापति रवि लामिछानेकै उपस्थितीमा मधेसबाट चुनावी प्रचार अयिभान शुरु गरेको हो । 

यसले मधेसका जनताको मनोविज्ञान बुझने र मधेसी जनताको भरपर्दाे शक्ति  अब रास्वपा हुने सन्देश दिन खोजेको अर्थमा कतिपयले बुझेका छन् । तर आगामी चुनावमा मधेसका मतदाताले रास्वपालाई कति विश्वास गर्छन् ? त्यो फागुन २१ को ब्यालेटले नै निर्धारण गर्नेछ । 

गत चुनाव विश्लेषण :

२०७९ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा रास्वपा नयाँ दलका रुपमा अगाडी आएको थियो । मधेसका ३२ संघीय निर्वाचन क्षेत्रमध्ये २६ वटा निर्वाचन क्षेत्रमा उसले उम्मेदवारी दर्ता गराएको थियो । जसमा एउटै पनि सिट रास्वपाले जित्न सकेन ।  

प्रदेश सभातिर मधेस मात्र होइन, कँही पनि रास्वपाले उम्मेदवारी नै दिएन । जसकाकारण रास्वपाको संघीयताप्रतिको धारणा के हो भन्ने प्रश्न चिन्ह्र खडा भयो । वैचारिक र राजनीतिक भिजन प्रष्ट नभएको आरोप रास्वपाले खेप्न परेको थियो ।

अझ रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन साहले प्रदेश सभातर्फ मतदान नै नगरेकोले पनि रास्वपा संघीयताप्रति अनुदार रहेको आरोप लाग्दै आएको थियो । तर, मधेसबाट चुनावी अभियान सुरु गरेको रास्वपाले मधेसी जनतालाई संघीयताप्रति रास्वपाको बुझाई प्रष्ट रहेको सन्देश दिन चाहेको थियो । मधेसी मतदातालाई आस्वस्त पार्न उसले अहिलेजस्तो संघीयता होइन, बलियो अधिकारसम्पन्न संघीयताको पक्षमा रास्वपा रहेको सन्देश दिन चाहेको थियो । 

मधेसमा मतदाता रिझाउन खासगरी त्यहाँको राजनीति मधेस आन्दोलन, संघीयता समावेशी अधिकार र समावेशी मुद्दाहरुको वरिपरि घुम्छ । तर रास्वपाको यस विषयमा प्रष्ट भिजन नदेखिदा उसले मधेसका जनतामा प्रभाव जमाउन सकिरहेको छैन । 

नागरिकता, समावेशीकरण, संघीयता र राज्यप्रति मधेसी जनताको गुनासो जस्ता मुख्य सारोकारहरुमा गहिरो खोजी रास्वपामा नदेखिएको मधेसी जनताको मत देखिन्छ ।  यस्तो बेला मधेसी जनतालाई विस्वस्त बनाउने कोसिसमा रास्वपा जुटेको नेताहरुको भनाई छ । 

‘मधेसी जनताका बीचमा पार्टीको अहिले प्रष्ट भिजन गईसकेको छ । हाम्रा विगतका कमी कमजोरी धेरै सुधार गरिएको छ र पार्टीको प्रष्ट भिजन मधेसी जनताका बीचमा जनकपुरको चुनावी सभापछि लगिएको छ,’ रास्वपाका नेता मनिष झाले भने । 

मधेस प्रदेशमा गत चुनावमा कसलाई कति मत ? (समानुपातिक)

कांग्रेस  ४३४९७१
एमाले : ३७१७०९
माओवादी : १७९८७०
रास्वपा : १०७०८४
राप्रपा : ६८६५३
जसपा : २९८७४४
एकीकृत समाजवादी : १०७०८४
जनमत पार्टी : २९६४८४
(यसमध्ये माओवादी, एकीकृत समाजवादी पार्टीका बीचमा अहिले एकता भईसकेको छ)

गत २०७९ सालको प्रतिनिधिसभा चुनावपछि पनि मधेसमा एउटा उपचुनाव भएको थियो । त्यसमा पनि रास्वपाले सुधार ल्याउन सकेको थिएन । हालका उपराष्ट्रपति रामसाहायक यादवको निर्वाचन क्षेत्रमा चुनाव भएका थियो । त्यहाँ रास्वपाले पूर्व प्रहरी हाकिम रमेश खरेललाई उम्मेदवार बनाएर मैदानमा उतारेको थियो । त्यसबेला सँगै अन्य दुई चितवन २ र तनहुँ १ मा पनि उपचुनाव भएको थियो । 

ती उपचुनावमा दुई क्षेत्रमा रास्वपाले जित निकालेपनि मधेसको बारामा नतिजा आफनो पक्षमा पार्न सकेन ।  उपचुनावमा तनुहँमा कांग्रेसले जितेको सिट खोस्न रास्वपा सफल भएको र चितवनमा रवि लामिछानेले फेरि झन् बढी मत ल्याएर चुनाव जितिरहँदा मधसको बारामा आफनो प्रभुत्व जमाउन सकेन । यसले पनि रस्वपा मधेसमा कमजोर नै देखिएको थियो । 

मधेसमा रास्वपाको पार्टी संगठनको अवस्था (केही महिना अगाडीसम्मको) 

केही महिना अगाडी मात्रै चितवनमा सम्पन्न रास्वपाको पार्टी बैठकमा रास्वपा महामन्त्री वुर्लाकोटीले राखेको प्रतिवेदनमा कर्णाली र मधेसमा संगठनात्मक अवस्था रास्वपाको कमजोर रहेको उल्लेख थियो । 

रास्वपाले केन्द्र, जिल्ला र पालिका तहमा गठन गरेका र्‍यापिड एक्सन टिमको अवस्था पनि यी प्रदेशमा कमजोर रहेको बुर्लाकोटीको संगठनात्मक प्रतिवेदनमा उल्लेख गरिएको थियो । पार्टीका आन्तरिक संगठनात्मक अधिवेशन पनि मधेस प्रदेशमा ४ प्रतिशत मात्रै भएको र कर्णालीमा शून्य प्रतिशत रहेको बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

रास्वपाको पार्टीको कुल सदस्य मध्ये ४ प्रतिशत मात्र मधेसीहरु पार्टी सदस्य रहेको प्रतिवेदनमा थियो । यसले पनि रास्वपाले मधेसमा पार्टी संगठनात्मक अवस्था र लहर कमजोर रहेको देखेपछि कमजोर भूगोलबाटै राजनीतिक भूम सुरु गरेको विश्लेषण गर्न थालिएको छ । 

मधेसलाई प्रभाव पार्न उसले नखोजेको होइन । पार्टी बैठकसमेत एकपटक महोत्तरीमा लगेर रास्वपाले राखेको थियो । यो बीचमा उसले महोत्तरीमै जन्मिएका बालेन्द्र शाह जो काठमाडौं महानगरपालिकामा मेयर जितेका थिए, पपुलिष्ट पनि छन्, उनलाई अब फागुन २१ को चुनावमा भावी प्रधानमन्त्रीका रुपमा अगाडी सारेको छ । उनीसँग रास्वपाले एकता गरेर बरिष्ठ नेता पनि बनाएको छ ।यसले रास्वपाले मधेस प्राथमिकताको पहिलो सूचीमा राखेको देखिएको छ । 

चुनावमा मुखमा मधेस केन्द्रीत दलहरु फेरि मिलेका छन् । उपेन्द्र यादव र महन्थ ठाकुरहरु ।  मधेसमा यस अगाडी कांग्रेस नै समानुपातिक तर्फ ठूलो दलका रुपमा उदाएको थियो । एमालेको पनि मधेसमा राम्रो प्रभाव छ । नेपाली कम्युनिष्ट पार्टीको पनि थोरवहुत प्रभव मधेसमा छदैछ । यस्तो बेला मधेसले अब रास्वपालाई आगामी चुनावमा के प्रभाव पार्ला चासो सबैमा छ ।

रास्वपामा खासगरी संघीयतालाई हेर्ने दृष्टिकोण, बालेन शाह महोत्तरीका भएपनि उनले काठमाडौं महानगर मेयर हुँदा मधेसका सवालमा मधेसी पहिचान उनले सधै लुकाईराखे । काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएदेखि, शाहले सार्वजनिक रूपमा आफूलाई मधेशी नेताको रूपमा प्रस्तुत गरेनन् । मेयरबाट राजीनामा दिएर झापा ५ मा केपी ओलीसँग चुनावी टक्कर लिइरहँदा मधेसमा पुगेर भने उनले मैथलीमै भाषण गरेर आफु मधेसको छोरो भएको बताए । तर अझै मधेश(विशिष्ट मुद्दाहरूमा संलग्न हुने कि नहुने भन्ने कुरा अझै देख्न बाँकी छ ।

मधेस मामिलाका जानकार चन्द्रकिशोर झाका अनुसार, “एकीकृत रास्वपाले मधेशका मुख्य मुद्दाहरूलाई कसरी फ्रेम गर्छ र प्राथमिकता दिन्छ भन्ने कुरा यसको चुनावी नतिजालाई आकार दिनेछ । स्थानीय चासोहरूलाई प्रत्यक्ष रूपमा बोल्ने स्पष्ट र विश्वसनीय एजेन्डा बिना, राष्ट्रिय गतिलाई मधेश समर्थनमा रूपान्तरण गर्नु चुनौतीपूर्ण रहने झाको बुझाई छ । 

मधेसमा संगठनात्मक विस्तारका लागि रास्वपाले अभिमुखीकरण तालिमहरु चलाएको देखिएको छ । अनिल केसरी साह, कविन्द्र बुर्लाकोटी, मनिष झा लगायत दश जना केन्द्रीय नेताहरुले अभिमुखीकरण तालिम दिएका थिए । 

अलिक देखिएका नेता भनेकै मधेसमा मनिष झा छन्, रास्वापामा । अहिले बालेनलाई पनि रास्वपाले मधेसकै भएको भन्दै ब्रान्डिङ गर्न खोजिरहेको छ । अन्य राजनीतिक दलहरुको वर्षेको वर्चश्व रहेको प्रतिकुल वातावरण, शिक्षा र साक्षरताको न्यून स्तर, भाषा अवरोध जस्ता कारण मधेसमा संगठन विस्तारमा चुनौती रहेको निश्कर्ष त्यसबेला रास्वपामा थियो । 

ग्रामिण क्षेत्रका मानिसहरुको ठूलो हिस्सा शिक्षामा सिमित पहुँच भएका कमजोर आर्थिक पृष्ठभूमिबाट आएका हुनाले तिनीहरुमध्ये धेरैजसो परम्परागत दलहरुको झुटा वाचाहरुले लोभिएका थिए । तर विस्तारै उनीहरुको मत र मन जित्दै रास्वपा अगाडी बढिरहेको रास्वपा नेताहरुले दावी गरेका छन् । 

रास्वपाले जति मधेसलाई महत्व दिएर अहिले चुनावी अभियान थालेको छ, त्यो अनुसारको नतिजा ल्याउन सक्ला नसक्ला ? त्यो भने फागुन २१ सम्म कुर्नपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस