जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०८२, ०९ : २३
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली फागुन २१ को चुनावमा उम्मेदवार दर्ताका लागि आज गृहजिल्ला झापा जाँदैछन् । उनी गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेला प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टर चढेर भागेका थिए । 

त्यसयता उपत्यका बाहिर समेत नगएका ओली आज पहिलो पटक आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि झापा जान लागेका हुन् । बिहान साँढे १० बजेको जाहाजवाट भद्रपुर अवतरण गर्ने गरी उनी त्यहाँ पुग्न लागेका हुन् । त्यहाँ उनीसँग प्रतिस्पर्धा गर्न रास्वपाले चुनाव पछि भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेको र काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएको बालेन शाह पनि चुनावी मैदानमा छन् । 

आज झापाको दमक पुगेपछि ओलीले झापाका ५ ओटै निर्वाचन क्षेत्रमा एमालेको बस्तुस्थिती लगायतका विषयमा अध्ययन गरेर थप रणनीति बनाउने तयारी गरेका छन् । एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर छलफल गर्नेछन् । यसैगरी ३ नम्बरका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छन् ।

क्षेत्र नम्बर २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमकका नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने गरी कार्यक्रम बनाइएको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

ओलीले झापामा फेरि एक क्षेत्र अन्य पार्टीलाई छोडेर ५ मा आफनो लागि साथ र सहयोग लिने वा के गर्ने भन्ने विषयमा पनि त्यहाँको वस्तुस्थिती बुझेर निर्णय लिने तयारी भएको छ । 

कतिपयले झापा ३ मा फेरि राप्रपाका राजेन्द्र लिङदेन, काठमाडौं ५ मा कमल थापालाई सहयोग गरेर आफनो क्षेत्रमा राप्रपाको साथ आफुले लिने गरी भित्री समझदारी ओलीले गर्नसक्ने सम्भाबना रहेको आकलन पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस