काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने घोषणा गरेका छन्।
केही समयअघिसम्म निर्वाचन नलड्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका भट्टराईले अन्त्यमा आएर आफ्नो निर्णय परिवर्तन गरेका हुन्।
भट्टराईले आफ्नो निर्णय फेरिनुमा मुख्य गरी स्थानीय मतदाताको आग्रह र राष्ट्रिय राजनीतिको आवश्यकतालाई कारण बताएका छन्। आफूई तीन पटकसम्म निर्वाचित गराएका गोरखाका आम जनता, पार्टी कार्यकर्ता र अन्य दलभित्रका शुभचिन्तकहरूले समेत चुनावी मैदानमा आउन निरन्तर दबाब दिएपछि आफ्नो अडान परिवर्तन गरेको भट्टराईले बताए ।
विशेष गरी उनकै पालामा सुरु भएका ठूला पूर्वाधारका योजनाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन र गोरखाको आर्थिक समृद्धिलाई नयाँ उचाइमा पुर्याउन आफ्नो उपस्थिति अनिवार्य रहेको जनगुनासो आएपछि उनी पुनः निर्वाचनमा होमिन तयार भएको बताइएको छ ।
विकासका काम बाहेक भट्टराईले युवा रोजगारीको मुद्दालाई पनि प्राथमिकतामा राखेका छन्। जिल्लामा भौतिक पूर्वाधारका कामहरू अघि बढे पनि युवाहरूलाई गाउँमै बसेर काम गर्ने र स्वरोजगार बन्ने वातावरण अझै तयार नभएको भन्दै उनले अबको कार्यकाल त्यसैमा केन्द्रित गर्ने बताएका छन्।
त्यस्तै, राष्ट्रिय राजनीतिको वर्तमान अन्योलपूर्ण अवस्था र संविधान कार्यान्वयनको पाटोलाई पनि उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्। नेपालको संविधान बनेको १० वर्ष पुग्न लागेको सन्दर्भमा यसको पुनरावलोकन र सुदृढीकरणका लागि संसदमा अनुभवी नेतृत्वको आवश्यकता रहेको उनको तर्क छ। संविधान निर्मातामध्येको एक हुनुको नाताले संविधानको रक्षा र परिमार्जनमा आफ्नो भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरेका छन्।
यस पटक भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह 'खुलेको आँखा' लिएर गोरखा २ बाट प्रतिस्पर्धा गर्नेछन्। उनले सामाजिक सञ्जालबाट आफ्नो यो निर्णयलाई व्यक्तिगत इच्छाभन्दा पनि राष्ट्रिय दायित्व र क्षेत्रप्रतिको जिम्मेवारीको रूपमा व्याख्या गर्दै सबै मतदाता र शुभचिन्तकहरूबाट सहयोग र सद्भावको अपेक्षा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव