‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की

सफल खबर संवाददाता

बुधबार, ३० पुस २०८२, १४ : २१
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको बताएकी छन् ।

बुधबार सिंहदरवारमा आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास समेत व्यक्त गरिन् ।

नेपालका विविध सामाजिक-राजनीतिक आन्दोलनहरू तथा जेन जेड पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने उनले बताइन् ।

उनले स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउने भएकाले यसको महत्त्व धेरै रहेको धारणा राखिन् ।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू, निजी क्षेत्रका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस